मदभेद छताछुल्ल भएपछि कार्यकर्ता पंक्तिबाट आलोचना खेपिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परामर्श र भेटघाटलाई तीव्र पारेका छन्।
ओली-प्रचण्डबीच केही दिनयता निरन्तर छलफल भइरहेको छ। दुई अध्यक्षहरूले बुधबार बिहान पनि लामो छलफल गरे।
पछिल्लो साता दिनदिनैजसो भेटघाट र परामर्श गरिरहेका उनीहरूले आफूहरूबीच समझदारी भएपछिमात्रै सचिवालय बैठक बोलाउने गरी छलफल गरिरहेको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।
‘उहाँहरू पार्टीको राजनीतिक दस्तावेज र आफूहरूबीचमा भएका अस्पष्टता सल्टाउने गरी छलफलमा बस्नुभएको छ, त्यसपछिमात्रै सचिवालय बैठक डाक्नुहोला,’ ती नेताले भने।
यसअघि असार ८ गते बसेको सचिवालय बैठकमा पार्टीको राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या सामान्य सम्पादन गर्ने भन्नेबारे दुई अध्यक्षबीच मत बझिएको थियो। उक्त बैठक बिनानिष्कर्ष सकिएको १० दिन भएको छ तर सचिवालय बैठक बस्न सकेको छैन।
असार ८ गतेको बैठकमा पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद राख्नुपर्छ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गरेपछि सहमतिबाट पछि हट्न खोजेको भन्दै उनको आलोचना भएको थियो।
अर्का अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य माधवकुमार नेपालसँग पटक-पटक भएको छलफलपछि ओली केही हच्किए र जनताको जनवाद नै अहिलेको कार्यदिशा हुने सार्वजनिक अभिव्यक्ति पनि दिए।
सचिवालय सदस्य नेपालले पनि महाधिवेशनमा जबजबारे बहस गर्न सकिने भएतापनि अहिले नै पार्टीको कार्यदिशाबारे कुरा फेर्न नहुने अडान राखेका थिए।
‘उहाँहरूबीच पार्टीको राजनीतिक कार्यदिशाबारे सहमति नै छ, तर त्यसलाई कसरी सार्वजनिक गर्ने र पार्टी एकीकरणको प्रक्रियालाई कसरी टुंगोमा पुर्याउने भन्नेमा सहमति खोजिरहनुभएको छ,’नेकपा सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म पार्टी एकीकरणको सबै प्रक्रिया पुरा गरिसक्ने बताएका थिए।
नेताहरूको कार्यविभाजन, विभिन्न विभागको नेतृत्वलगायत विषयमा नेता नेपाल र राजनीतिक दस्तावेज तथा पुराना सहमति कार्यान्वयनका सन्दर्भमा अर्का अध्यक्ष प्रचण्डसँग मत नमिलेपछि ओली पछिल्लो समय अप्ठ्यारोमा छन्।