सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय भइरहेका लम्बेतान छलफल शक्ति बाँडफाँटमा पुगेर अड्किएका छन्।
केही समयअघिसम्म पार्टीको राजनीतिक दस्तावेजमा दुई अध्यक्षको कुरा मिलेको थिएन। पछिल्लो समय भने उक्त विषय टुंगिएर रस्साकस्सी नयाँ विषयमा पुगेको हो।
‘उहाँहरूबीच अचेल दैनिकजसो भेट भइरहन्छ र दुई-तीन घन्टासम्म चल्छ। तर सहमति जुटेकै छैन,’ प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने।
सहमति नजुटेको विषय के हो त?
प्रधानमन्त्री ओली र प्रचण्डनिकट फरक-फरक नेताहरूको जवाफ एउटै छ- उहाँहरूबीच पावर सेयरिङमा कुरा मिलिरहेको छैन।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रचण्डले पार्टी एकीकरणका बेला आफूहरूबीच भएको सहमति कार्यान्यवन हुने गरी जाऔं भनिरहेका छन्।
‘मूलतः उहाँले पार्टीमा आफ्नो ठाउँ खोजिरहनुभएको छ, अध्यक्ष भएर पनि अहिलेसम्म बैठकको अध्यक्षतासमेत गर्न पाइनँ भन्ने गुनासो छ,’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘प्रचण्डले प्रधानमन्त्रीसँग भन्नुभयो- पहिले तपाईंको र मेरो कुरा गरौं, कसको भूमिका के भनेर स्पष्ट पारौं अनि बल्ल तल्लो तहका नेता कार्यकर्ताबारे कुरा गरौंला।’
संगठनात्मक संरचना निर्माणमा अर्का सचिवालय सदस्य माधवकुमार नेपालको एक व्यक्ति एक भूमिका हुनु पर्ने तर्कसँग प्रचण्ड सहमत छन्।
‘प्रचण्ड र नेपालको मत एक भएपछि प्रधानमन्त्रीज्यूले पुरै इन्कार गर्न पनि सक्नुभएको छैन, उहाँ तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्रीको सक्रिय जिम्मेवारीबाट पछि हट्न पनि चाहनुहुन्न, विवादको चुरो यहीँनेर छ,’ नेकपाका एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।
त्यतिमात्रै होइन प्रधानमन्त्री ओलीले भने अहिले सबै कुरा ठिकै चलिरहेकाले पाँच वर्ष आफैंलाई परीक्षण हुने मौका दिन प्रचण्डसँग आग्रह गरेका छन्।
ती सदस्यले सेतोपाटीसँग भने, ‘हामी अस्थिर देखियौं भने जनतामा नकारात्मक सन्देश जान सक्छ, बरू पाँच वर्ष मैले नै सरकार चलाउँछु, पार्टीमा जे भइरहेको छ यसरी नै चलौं। त्यसपछि जनताको मत जितेपछिको कुरा अर्कै हुन्छ,’ स्रोत भन्छ, ‘प्रधानमन्त्रीज्यूको यही जवाफबाट प्रचण्ड कमरेड सशंकित हुनुभएको छ, उहाँहरूबीचको विश्वासको संकटले गर्दा छलफल जति लामो भए पनि टुंगोमा पुग्न सकेको छैन।’
प्रधानमन्त्रीले प्रचण्डसँग अहिले तत्काल मन्त्रिमण्डल पनि हेरफेर नगर्ने बताइसकेका छन्।
बरू प्रधानमन्त्रीले सबै मन्त्रीहरूलाई आफ्ना मन्त्रालयका आगामी वर्षका कार्ययोजना यही असार २५ गतेसम्ममा पेश गर्न निर्देशन दिएका छन्।
‘प्रधानमन्त्री र प्रचण्डबीच नै पावर सेयरिङमा कुरा नमिलेपछि पार्टी एकीकरणको बाँकी प्रकृया प्रधानमन्त्रीले घोषणा गरेजस्तो असार मसान्तसम्ममा सकिने सम्भावना न्यून देखिन्छ,’ प्रचण्डनिकट स्थायी समिति सदस्यले भने।
नेकपाका महासचिव विष्णु पौडेलले अहिले पार्टी एकीकरणका विषयमै पार्टीमा छलफल केन्द्रित रहेको र छिट्टै सबै विषय टुंगिने बताए।
उनका अनुसार सचिवालय बैठक भने अहिले पनि अनिश्चित नै छ।
नेकपा सचिवालय स्रोतका अनुसार पावर सेयरिङमा दुई अध्यक्षको कुरा नमिलेसम्म सचिवालय बैठक डाकिने सम्भावना ज्यादै कम छ।