प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमा तरकारीको विषादी परीक्षणमा असन्तुष्टि प्रकट गरेर पत्र पठाइएको विषयमा आफूलाई गुमराहमा पारिएको बताएका छन्।
जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले पठाएको पत्रबारे परराष्ट्र मन्त्रालय, वाणिज्य र कृषि मन्त्रालय जानकार भए पनि आफूलाई सूचना नदिएको बताएका हुन्।
परराष्ट्र मन्त्रालयमा ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली मन्त्री छन् भने वाणिज्यमा मातृका यादव र कृषिमा प्रचण्डका विश्वास पात्र चक्रपाणि खनाल मन्त्री छन्।
भारतले पत्र पठाएको समाचार आएपछि पनि प्रधानमन्त्री ओलीले गत असार २१ गते नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा भारतबाट पत्र आएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए। प्रधानमन्त्रीको टिप्पणी लगत्तै भारतीय पक्षले नेपाललाई पठाएको पत्र सार्वजनिक गरिदिएको थियो।
प्रधानमन्त्री ओलीले टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा आफ्नो भूल स्वीकार गरेका छन्।
'मैले कबुल गर्नुपर्छ भूल स्वीकार गर्नुपर्दछ। मैले भारतबाट पत्र प्राप्त आएको साँचो होइन, हल्ला हो भनें। किनभने भारतले पठाएको पत्रबारे परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय जानकार रहेछन्। त्यो पत्र आएको रहेछ तर त्यससम्बन्धमा मलाई बताइएन। मैले त्यसरी बोलिसकेपछि पनि पत्र आएको छ भन्ने बताइएन।’
ओलीले आफूले खोजी गरेपछि मात्र पत्र आएको थाहा भएको बताए। कार्यक्रममा प्रधानमन्त्री ओलीले असार २३ गते बेलुका मात्र आफूले पत्रबारे जानकारी पाएको बताएका छन्।
प्रधानमन्त्रीले भारतले पत्र पठाएसँग कूटनीतिक संवाद र विभिन्न ठाउँमा कुरा अगाडि बढाएको भए पनि आफूलाई अनविज्ञ राखिएको बताएका छन्। 'विभिन्न ठाउँमा कुरा अगाडि बढाएको रहेछ, त्यो सम्बन्धमा मलाई अनविज्ञ राखियो। तसर्थ मैले मेरो जानकारीमा नभएको हुनाले पत्र आएको छैन भनें। तर २३ गते बेलुका मात्र पत्र आएकोबारे जानकारी पाएँ। त्यसबाट म अत्यन्त दुखित छु', ओलीले भनेका छन्, 'मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, मलाई त्यो कुरा जानकारी भएन। जे सुकै होस् त्यो कुरा म सँग आएन। र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो कुरा जानकारी पाउनुपर्थ्यो।’
स्रोतका अनुसार भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तरकारीको विषादी परीक्षणको विषयमा असन्तुष्टि पोखेका थिए। प्रधानमन्त्री ओलीले घुमाउरो ढंगले प्रचण्डले समेत आफूलाई जानकारी नगराएको बताएका छन्।
'मैले थाहा पाए अनुसार विभिन्न ठाउँमा राजदूतले भेटेको पाइयो। त्यो कुरा मलाई कसैले बताएन',उनले भने।
ओलीले आफूले तयारी नपुगेका कारण विषादी परीक्षण स्थगन गरिएको बताए।
उनले मन्त्रालयहरुले विषादी परीक्षण गर्न तयारी पूरा भएको भनेर समेत गलत सूचना दिएको बताए।
'कतिपय बोर्डरमा परीक्षणको सुविधा रहेनछ। न यन्त्र छ, न जनशक्ति छ। केही ठाउँमा भएको सामान्य कुरालाई भयो भनेर यो गर्दा हुन्छ भनेर प्रस्ताव ल्याइयो। जसबाट म झुक्किएँ', ओलीले कार्यक्रममा भनेका छन्।
उनले आफूले जनतालाई अल्मल्याउन खोजेको सन्देश गएकोप्रति दु:ख प्रकट गरेका छन्।
'मलाई थाहा नहुँदा(पत्र) आएको छैन भनें, कहीँ जनतालाई अल्मल्याउन खोजेको त हैन भन्ने भ्रमको अवस्था र विरोधीहरूले भएको कुरालाई हैन भनेर प्रचार गर्ने मौका पायो', ओलीले भने, 'मलाई त्यसमा कुनै एउटा तथ्यलाई अर्को ढंगले भन्नुपर्ने र त्यसो भन्दा कुनै लाभ हुने अवस्था थिएन।'
उनले विषादी परीक्षण कुनै देशसँग लक्षित नरहेको बताएका छन्।
'यो सामान्य ढंगले हामीले आयात गर्ने खाद्य पदार्थ शुद्ध हुनुपर्छ भन्ने कुरा हो', ओलीले भनेका छन्, 'अर्को कुरा परीक्षण सम्पूर्ण रूपले रोकिएको होइन। हामीले चालेको कदम फिर्ता लिएको होइन। आवश्यक तयारी गरी फेरि शिघ्र परीक्षण गर्ने भनेर निर्देशन सम्बन्धित मन्त्रालयहरूलाई भएको छ।’
उनले भारतबाट ठूलो परिमाणमा तरकारी आयत हुने भएकाले चासो हुनु स्वभाविक भएको बताए।
'हामीले मित्रराष्ट्रलाई आग्रह गरेका छौं। हाम्रो देशमा निर्यात गर्ने सामानको परीक्षण प्रमाणपत्र दिएर पठाउनुहोस्,’ ओलीले भने।
उनले आफूले बोलेपछि मात्र तरकारीको विषादीको कुरा बाहिर आएको भन्दै प्रतिपक्षी त्यसअघि किन मौन भन्दै प्रश्न गरेका छन्।
'यसअघि अमृत नै अमृत आउँथ्यो जस्तो हल्ला भएको छ, विषादीयुक्त हामीले खाने भनेर चिकित्सकहरू बोलेका छन्। तबसम्म किन नबोलेको जबसम्म म बोलिनँ', ओलीले भनेका छन्, 'यो हुँइया मच्चाएको राम्रो छ। सजगता आएको छ।’
उनले विषादी परीक्षण तयारी नपुगेकाले रोकिएको उल्लेख गरे।
'मैले हाम्रै तयारी पुगेन भनेर मन्त्रालयलाई निर्देशन दिएर तयारी नपुगेसम्म स्थगित गरेर तयारी गर्नु भनेर निर्देशन दिएको हो', ओलीले भनेका छन्।
उनले विदेशमा परीक्षण भएका प्रमाणपत्र लिएर आउनेलाई स्वीकारिने बताए।
'त्यस्तो प्रमाणपत्र नभएकोमा जाँच गर्छौ', ओलीले भने।