नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकीकरण र सरकार पुनर्गठन प्याकेजमै गर्नेगरी छलफलमा जुटेका छन्।
लामो समयदेखि आन्तरिक छलफलमा रहेका दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन र पार्टीका नेताहरूको कार्यविभाजन एकै पटक सक्नेगरी तयारी गरेको नेकपा स्रोतले बताएको छ।
‘दुई एजेन्डामा दुई अध्यक्षबीच सहमति भएपछि मात्रै सचिवालय बैठक बोलाउने तयारी छ,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।
मन्त्रिपरिषद् स्रोतका अनुसार असार २६ र २७ गते बसेको सरकारको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको स्पष्ट संकेत दिइसकेका छन्।
‘कतिपय साथीहरूको अघिल्लो वर्षको कार्यकाल त्यति सुखद रहेन, मन्त्रालयको आगामी योजना नयाँ आउने साथीहरूले नै बनाउनुहोला,’ बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।
तर प्रधानमन्त्रीले कुन-कुन मन्त्रालयमा नयाँ मन्त्री ल्याउन खोजेका हुन् भन्नेचाहिँ प्रष्ट भइसकेको छैन।
यस्तै पार्टीमा पनि विभिन्न विभाग प्रमुख, जिल्लाका इन्चार्ज सहइन्चार्ज र जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्जलगायत जिम्मेवारी पनि प्याकेजमै टुंग्याउने तयारी दुई अध्यक्षले गरेका छन्।
नेकपा सचिवालयभित्र भएको मोटामोटी सहमतिअनुसार पार्टीका मुख्य विभाग सचिवालयका सदस्यहरूले नै राख्नेछन्।
विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल र प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठको नाममा मौखिक सहमति जुटेको भए पनि संगठन, स्कुल र आर्थिक विभागमा कसलाई राख्ने भन्नेमा सहमति भइसकेको छैन।
संगठन विभागमा वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा दुई अध्यक्षबीच रस्साकस्सी छ।
उसो त बादलले सामान्यत: संगठनको जिम्मेवारी पार्टी महासचिवको हुने भन्दै त्यसमा महासचिवलाई नै राख्नुपर्ने र आफ्नो इच्छा नभएको जवाफ दुई अध्यक्षलाई फर्काएको नेकपा स्रोतले बताएको छ।
‘तर महासचिव विष्णु पौडेल भने आर्थिक विभागको जिम्मेवारी लिन चाहनुहुन्छ’ उनी निकट एक केन्द्रीय सदस्यले सेतोपाटीलाई भने।
यस्तै पूर्वएमालेमा पार्टी अध्यक्षले आफैंले राखेको स्कुल विभागको सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारी लिन चाहेका छन्।