नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज-सह इञ्चार्ज तोकेको छ।
आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज-सह इञ्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले विभाग र आयोगबारे भने कुनै टुंगो नलगाएको उनले बताए।
‘विभागबारे कुनै सहमति भएन’, उनले भने, ‘पर्सि टुंगो लाग्ला।’
सचिवालय बैठक बस्नुअघि आफ्नो भागमा परेका विभागको नेतृत्व कसलाई दिने भन्नेबारे छलफल गर्न आइतबार बिहान पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा भएको थियो।
‘बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी लिनुस् भनियो तर उहाँले स्कुल विभाग नछोड्ने बताएपछि सचिवालयमै टुंगो लगाउने गरी हामी उठ्यौं,’ एक स्थायी समिति सदस्यले भने।
पूर्वमाओवादी केन्द्रका नेताहरूले जनताको बहुदलीय जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्छ भनी वकालत गरिरहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टीको नीति कार्यक्रम र कार्यदिशाबारे छलफल चलाउने स्कुल विभागको जिम्मेवारी दिन नहुने तर्क गरेका छन्।
‘बरु स्कुल विभाग पार्टी अध्यक्षहरूले नै राख्दा हामी सहमत छौं तर ईश्वर कमरेडलाई जिम्मेवारी दिने विषयमा छलफल गरियोस् भन्ने हाम्रो धारणा हो,’ एक नेताले भने।
यही विषयमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पनि छलफल भएको थियो।
स्कुल विभागमा श्रेष्ठ र पोखरेलको दाबेदारी भएपछि यसलाई पार्टी अध्यक्षले नै राखौं भनेर उनीहरूले छलफल सकेको स्रोतले बतायो।
स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षधरले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन।
यी पनि :
पूर्वमाओवादीले पोखरेललाई स्कुल विभाग प्रमुख नमान्ने