गण्डकी प्रदेशले प्रथम पञ्च वर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ।
अन्य प्रदेश भन्दा पहिले नै ल्याएको योजनाको आधारपत्रमा गण्डकी प्रदेशको समग्र विकासको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्षहरु समेटिएको छ। योजना अनुसार ५ वर्षमा प्रदेशको विकासका लागि १० खर्ब, १२ अर्ब रुपैयाँ लाग्ने छ।
त्यसैगरि प्रदेशको विकासका लागि ७ आधारलाई मुख्य मानेर योजना बनाएको नीति तथा योजना आयोग गण्डकी प्रदेश उपाध्यक्ष गिरीधारी शर्माले बताए। गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उनले विज्ञहरुको सुझावका आधारमा जनसहभागिता मूलक योजनाहरु समेटिएको बताए।
समावेशी आर्थिक वृद्धि, गरिबी निवारण, स्थानीय उत्पादन, पर्यटन क्षेत्रको विस्तार, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण,, यान्त्रिकीकरण, जल, वायु र सौर्य उर्जा, प्रयोग, निकासी, औद्योगिकीकरण, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र व्यवसायिक शिक्षाको विस्तार, गुणस्तर, स्वास्थ्य सेवाको सुदृढीकरण, सुशासन लगायतको लक्ष्य प्राप्त गर्न प्रदेश सरकारले काम गर्ने योजना रहेको शर्माले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता जनाए। नीति तथा योजना आयोग गण्डकी प्रदेशद्वारा आइतबार आयोजित प्रथम पञ्चबर्षीय योजनाको आधारपत्र सार्वजनिक कार्यक्रममा गुरुङले आर्थिक बर्षदेखि द्रूत गतिमा विकास र अन्य निर्माण योजना अगाडि बढाउने बताए।
साउन एक गतेदेखि अन्य निर्माण कार्यलाई द्रूर्त गतिमा अगाडि बढाउन आफूले निर्देशन गरेको र एक बर्षपछि कुल बजेटको ९५ प्रतिशत भन्दा बढी खर्च गर्ने लक्ष्य रहेको उनको भनाइ छ।