पार्टी एकीकरण भएको १४ महिनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक प्रतिवेदन छपाइका लागि प्रेसमा गएको छ।
एक साता अघिनै प्रेसमा पठाइएको सो प्रतिवेदन पार्टी एकीकरणको सबै प्रक्रिया टुंगिएपछि सार्वजनिक गर्ने नेकपाले जनाएको छ।
एकीकरणपछि पार्टीको लाइन र सिद्धान्त बुझाउने गरी नेकपाले तयार पारेको राजनीतिक प्रतिवेदनमा नेकपाले अरू राजनीतिक दलप्रतिको दृष्टिकोण पनि सार्वजनिक गरेको छ।
सेतोपाटीलाई प्राप्त राजनीतिक दस्तावेजअनुसार नेकपाले आफ्नो मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेसलाई मानेको छ।
‘वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिष्पर्धा गर्ने मुख्य शक्ति नेपाली कांग्रेस नै हो,’ प्रतिवेदनमा लेखिएको छ।
नेपाली कांग्रेस पूँजिपति वर्गको पार्टी भएको र यसले दलाल, नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली कांग्रेसले नै गर्ने नेकपाको जिकिर छ।
‘२००७ सालको दिल्ली सम्झौतादेखि ०७२ सम्मका नाकाबन्दीहरूका प्रमुख घट्नामा राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको सट्टा आत्मसमर्पणवादी नीति लिँदै आएको छ। राष्ट्रियताको मुद्धामा सम्झौता परास्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
जातीय, भाषीक र संघीयताको सन्दर्भमा मधेसवादी दलहरूको नीति र सोच संकिर्ण रहेको नेकपाको धारणा छ।
उसले संघीय समाजवादी फोरम (जुन नयाँ शक्तिसँग एकीकरण भएपछि समाजवादी पार्टी नेपाल भएको) लाई आंशिक अतिवादी र राष्ट्रिय जनता पार्टीलाई अतिवादी राजनीतिक दलको संज्ञा दिएको छ।
‘राजपा मधेशका मजदुर, किसान, गरिब र सर्वहाराको पक्षपोषण नगरी बरू त्यसको विरूद्धमा छ। उसको राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा आत्मसर्पणबादी नीति छ,’ राजपाबारे नेकपाको धारणा छ।
आफूलाई देशभक्तिपूर्ण अगुवा शक्ति घोषणा गरेको नेकपाले अरू साना कम्युनिष्ट दलहरूलाई चाहिं जडसुत्रवादी शक्तिको संज्ञा दिएको छ।
‘यद्यपी उनीहरूको आत्मकेन्द्रीत चिन्तन, व्यवहार र नीतिको आलोचना गर्दै एकतामा सामेल गर्नुपर्छ,’ राजनीतिक प्रतिवेदनमा लेखिएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गतिविधि अहिलेको परिस्थितिसँग पटक्कै मेल नखाने नेकपाको धारणा छ।
‘यसको मनोगतवादी एवं उग्रवामपन्थी प्रवृत्तिको आलोचना गर्दै यसलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास गर्नुपर्दछ,’ प्रतिवदेनमा भनिएको छ।
नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक प्रतिवेदनले राप्रपालाई सामन्ती अवशेषको संज्ञा दिँदै उक्त पार्टी जनताबाट पूर्ण रूपमा अस्वीकृत भएको ठोकुवा गरेको छ।