गृहमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टी विभागको जिम्मेवारी सचिवालयभन्दा तल्लो तहका नेताहरूलाई दिनु पर्ने प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकमा बादलले यस्तो प्रस्ताव गरेका हुन्।
बादलको प्रस्ताव उद्धृत गर्दै स्रोतले सेतोपाटीसँग भन्यो,‘सचिवालय सदस्यहरूले पार्टी विभागको जिम्मेवारी नलिए हुन्थ्यो भन्ने आमकार्यकर्ताको भावना छ। त्यसैले विभागीय प्रमुख पार्टी सचिवालयभन्दा तल्लो तहका नेता कार्यकर्तालाई बनाऔं।
बादलले सचिवालय सदस्यहरू ‘कोर लिडरसिप’मा रहेकाले विभागको जिम्मेवारी लिन नहुने तर्क गरेका थिए।
बादलको प्रस्तावमा सचिवालय सदस्य माधवकुमार नेपालले असहमति जनाएपछि थप छलफल नभएको स्रोतको भनाइ छ।
‘माधव कमरेडले त्यस्तो हुन्न भनेपछि थप छलफल भएन,’ स्रोतले भन्यो।
बैठकमा नयाँ प्रस्ताव आएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अरू केन्द्रीय नेताहरूको पनि चाहना के छ भन्नेबारे छलफल गर्न प्रस्ताव गरेका थिए।
‘विभागहरूमा सचिवालय सदस्यबाहेक अरू नेताको राय बुझौं, उहाँहरू उक्त जिम्मेवारी किन लिन चाहनुहुन्छ भन्ने तर्कसहित आउनुपर्यो। त्यसपछि बैठक बसेर सबै कुराको टुंगो लगाउँला,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले सेतोपाटीसँग भन्यो।
कार्यविभाजनबारे व्यापक छलफल गर्ने निष्कर्ष निस्किएपछि नेकपाको सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ।
पार्टीको स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा सहमति नजुट्दा असार मसान्तमै सक्ने भनिएको नेकपाको एकता प्रक्रिया लम्बिएको छ।
साउन ५ गते बसेको नेकपा सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएपछि विभाग प्रमुख छान्ने एजेन्डासहित ७ गते बैठक बोलाइएको थियो।
त्यसपछि बोलाइएका तीन वटा बैठक लगातार स्थगित भएका थिए।
सोमबार बैठक बस्नुअघि नेकपाका नेताहरूले आन्तरिक, दुई पक्षीय र बहुपक्षीय छलफल गरेका थिए। तर मिलनबिन्दु फेला परेन।
नेकपामा ३३ वटा विभाग छन्। बाँकी विभागमा कुरा लगभग मिलिसके पनि स्कुल विभागको नेतृत्वको विषय पेचिलो बनिरहेको छ।
स्कुल विभाग प्रमुखका लागि सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन्।