मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तयारी थालेको छ।
निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते उपनिर्वाचनको लागि मतदाता संकलनसँगै अद्यावधिक गर्ने गरेको छ।
कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको मतदाताको नामावली केन्द्रमा पठाई सकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए।
उनले करिब दुई हजार मतदाता थपिएको बताए। कास्की क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए।
अहिले उपनिर्वाचनमा ७२ हजार २ सय मातदाता संख्या पुगेको उनले बताए।
उपनिर्वाचन हुने कास्कीको निर्वाचन क्षेत्र– २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।
कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो।
कास्कीसँगै अन्य जिल्लाका रिक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय घोषणा गरिसकेको छ।
कास्की २ मा ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र अघिल्लो निर्वाचनमा भए पनि यस वर्ष केन्द्र पनि थपिने उनले बताए।
अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।
अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतमा ४९ हजार ९ सय ६ मत खसेको थियो। त्यसमध्ये ४७ हजार ९ सय ८८ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।
१३ जना उम्मेदवारले विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका थिए।
गण्डकी प्रदेशमा बाग्लुङको क्षेत्र नं २ ‘ख’बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको छ।
तीन वडाध्यक्षको लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार-२, बाग्लुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुने छ।