नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सचिवालय सदस्यसमेत रहेका नेता गौतमलाई उपाध्यक्ष बन्न प्रस्ताव गरेको थियो। गौतमले उक्त प्रस्ताव स्वीकारेको स्रोतले जानकारी दियो।
वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय नेकपाको स्थायी समितिले पारित गर्नु पर्नेछ।
अहिले नेकपामा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र विष्णु पौडेल महासचिव छन्।
आजै बसेको सचिवालय बैठकले नेकपाका ३३ विभागको नेतृत्व टुंगो लगाएको छ। ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।
लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन्।
सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ।
नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन्।
त्यस्तै नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ।
पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् भने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ।
१४ महिनाअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विभागहरूको नेतृत्व टुंगो नलाग्दा एकता प्रक्रिया अल्झिएको थियो।
पछिल्लो समय पार्टीका नीतिबारे प्रशिक्षण दिने स्कुल विभागको जिम्मा कसलाई दिने भन्नेबारे कुरा नमिल्दा बैठक लम्बिरहेको थियो।