सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया पछिल्लो समय स्कुल विभाग प्रमुखको गाँठोमा अल्झेको थियो। दुई सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले स्कुल विभागको प्रमुखमा दाबी गरेका थिए।
उनीहरूले पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्कुल विभाग प्रमुख आफूलाई दिइनु पर्ने माग गर्दै आएका थिए।
पार्टीको नीति, कार्यदिशा निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्कुल विभागको नेतृत्व आफू अनुकूलको हुनुपर्छ भन्ने दुबै अध्यक्षको सोच थियो।
त्यो अनुकूलताका लागि ओलीलाई नारायणकाजी श्रेष्ठ र प्रचण्डलाई ईश्वर पोखरेल उपयुक्त पात्र थिएनन्।
श्रेष्ठले पार्टीको कार्यदिशा निमार्ण र राजनीतिक दस्तावेज सार्वजनिक गर्ने क्रममा आफू अनुकूल काम नगरेको बुझाइ ओलीको थियो।
प्रचण्ड पनि जनताको बहुदलीय जनवाद पार्टीको राजनीतिक कार्यदिशा हुनुपर्छ भन्ने ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन चाहँदैनथे।
‘त्यही भएर स्कुल विभाग प्रमुखको टुंग्गो नलाग्दासम्म दुई अध्यक्षहरूले विभिन्न बहानामा सचिवालय बैठक सारिरहनुभयो,’ नेकपा सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।
तर शुक्रबार बिहान दुई अध्यक्षबीच नाटकीय रूपमा समझदारी बन्यो-स्कुल विभाग प्रमुख पोखरेललाई बनाउने।
समझदारी बनेलगत्तै दिउँसो बोलाइएको सचिवालय बैठक बिहान ११ बजे नै बस्यो। तीन घन्टासम्म बैठक चल्यो।
‘बैठकमा दुइटा प्रस्ताव अनपेक्षित रूपमा आए,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, ‘एउटा, ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुख बनाउने थियो भने अर्को सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष नियुक्त गर्ने।’
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले स्कुल विभाग प्रमुख पोखरेललाई बनाउने प्रस्ताव गरेका थिए।
सचिवालय बैठकमा स्कुल विभाग प्रमुखको प्रस्तावले औपचारिक रूपमा प्रवेश पाएको आज पहिलो पटक हो।
ओलीको प्रस्ताव आएपछि सचिवालय सदस्यहरूले आ-आफ्ना धारणा राखे।
पोखरेलले आफूलाई स्कुल विभाग प्रमुखको जिम्मेवारी मलाई दिइयोस् भनेर प्रस्ताव गरे भने श्रेष्ठले आफ्नो रूची भए पनि दाबी नरहेको बताए।
बैठकपछि श्रेष्ठले सेतोपाटीसँग कुरा गर्दै भने, ‘स्कुल विभाग मैले लिएपछि सगरमाथामा पुग्ने र अरूले लिँदा पातालमै पुग्ने भन्ने थिएन। तर स्कुल विभागकै निम्ति पार्टी एकता प्रक्रिया लम्ब्याइरहनु हुँदैन भन्ने मेरो भनाइ हो।’
श्रेष्ठले सचिवालय बैठकमा पार्टीको हितका निम्ति अध्यक्षहरूले गरेको प्रस्ताव आफूलाई मान्य हुने बताएका थिए।
त्यसपछि दुई अध्यक्षले केहीबेर छुट्टै परामर्श गरे।
उनीहरूले पोखरेललाई पार्टीको महाधिवेशन नहुन्जेल सार्वजनिक फोरमहरूमा जनताको बहुदलीय जनवादको वकालत नगर्न सहमत गराएको स्रोतको दाबी छ।
त्यसपछि प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुख बनाउने निर्णय पढेर सुनाए।
सेतोपाटीसँग कुरा गर्दै पोखरेलले बैठकमा स्कुल विभाग प्रमुखबारे सामान्य छलफल भएपछि आफ्नो नाममा सहमति जुटेको बताए।