नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ।
आइतबार साँझ बसेको सचिवालय बैठकले २८ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो।
२८ मध्ये ६ वटा जनवर्गीय संगठनमा सचिवालय सदस्य माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
यसका साथै, बैठकमा नेपालले सचिवालयले वरीयताक्रम मिलाउने हो भने पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन्। यसबारे टुंगो भने लागेको छैन।
उनले विधानअनुसार चल्न अध्यक्षद्वय समक्ष माग गरे। ‘एक व्यक्ति, एक पद’ हुनुपर्ने भन्दै एक जनालाई प्रधानमन्त्री र एक जनालाई अध्यक्ष बन्न प्रस्ताव गरे।
यसैगरी, वरीयताको विषयमा उनले पार्टीको विधानमा खेलेको भन्दै असन्तुष्टि पोखे।
‘दुई अध्यक्षले वरिष्ठता, उपाध्यक्षलगायत विषय ल्याएर पार्टीको एकता प्रक्रिया, पार्टीको विधानमाथि खेल्न खोज्नु भयो’, नेपालको भनाइलाई उद्धृत गर्दै स्रोतले भन्यो।