नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन्।
सोमबार शहीद रामवृक्ष यादव को २५ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएकै कारण यहाँका जनता अहिलेसम्म सुशासनको अनुभूति समेत गर्न नसकेको बताए।
‘तपाईंहरू प्रदेश सरकारको भ्रष्टाचार र कुशासनविरूद्ध प्रश्न गर्नुस्’, अध्यक्ष प्रचण्डले प्रदेश २ का जनतालाई आह्वान गर्दै भने।
प्रदेश २ को विकासका लागि चुरे संरक्षण तटबन्ध निर्माण, बोर्डरको समस्या समाधान लगायतको विषयमा पहल हुनु आवश्यक रहेको बताउँदै अध्यक्ष प्रचण्डले यसमा प्रदेश सरकार चुकेको आरोप लगाए।
‘यसका लागि प्रदेश २ कै जनताले दबाब दिनुपर्छ’, उनले भने।
प्रदेश २ सरकारले अन्य प्रदेशभन्दा चाँडो विकास गर्ने मात्र आश्वासन दिएको उनले बताए।
उनले भने, ‘प्रदेश २ को सरकारले अन्य प्रदेश भन्दा पहिले प्रदेश २ ले भौतिक, शैक्षिक र राजनीतिक रूपले विकसित हुने भने पनि ती सबै ढकोसलामा मात्रै सीमित भएको छ।’