पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको नेपाल कम्युनिष्ट पार्टीले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।
२०७६ जेठ २ देखि भदौ ९ गतेसम्म भएका पार्टी सचिवालय बैठकका निर्णयका आधारमा सात बुँदे अन्तरपार्टी निर्देशन जारी गर्दै नेकपाले राष्ट्रिय अभियान चलाउने घोषणा गरेको हो।
नेकपाको निर्देशन केन्द्रीय सदस्यहरूलाई पठाइसकिएको छ।
‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ,’ निर्देशनमा उल्लेख छ।
राष्ट्रिय अभियानमा प्रभावकारी ढंगले लाग्न पनि नेकपाले पार्टी पंक्तिलाई निर्देशन दिएको छ।
पार्टी एक भएको घोषणापछि एकीकरण प्रक्रिया तीन महिनामै टुंगो लगाउने बताएको नेकपाले तीन महिनामा पार्टी एकताको काम हुन नसक्नुको कारण सहमतिबाट काम सकौँ भन्ने चाहना रहेको भएता पनि नसकिएको बताएको छ।
‘राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ-नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता-एकीकरणका बाँकी काम सम्पन्न गर्ने हाम्रो उत्कट चाहना समेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकता-एकीकरणको काम सम्पन्न गर्न सम्भव भएन,’ अन्तरपार्टी निर्देशन–२ मा उल्लेख छ।
झण्डै १५ महिनादेखि पार्टीको केन्द्रीय कमिटीको बैठक र ८ महिनादेखि स्थायी समिति बैठक बोलाउन नसकेको नेकपा नेतृत्वले अब छिट्दै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने आश्वासन पार्टी पंक्तिलाई दिएको छ।
नेकपाले जनवर्गिय संगठन र पार्टीका केन्द्रीय विभागहरुको नाम, नेतृत्व टुंगो लगाएको जानकारी पनि केन्द्रीय सदस्यहरूलाई जानकारी दिएको छ।
जसअनुसार नेकपामा अब २५ वटा जनवर्गीय संगठन र ३३ विभाग हुनेछन्।
यसअघि नीति तथा प्रतिष्ठानलाई छुट्टै राखिएता पनि यसपालिदेखि विभागको मान्यता पाएको हो।
निर्देशनमा नेकपाले एकीकरण प्रक्रिया बाँकी रहेका जिल्ला कमिटीहरुको एकता छिटो सक्न निर्देशन दिएको छ।
नेकपाले यसअघि नै अन्तरपार्टी निर्देशन १ र विशेष परिपत्र १,२,३ जारी गरिसकेको छ।
पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुर्याएको नेकपाले अब विभिन्न आयोगहरु, परिषद्, मञ्च, ६ महानगरपालिका र प्रवास कमिटीको एकीकरण सक्न बाँकी छ।
पहिलाका अन्तरपार्टी निर्देशन नेकपाका दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्थे। यसपालि प्रधानमन्त्री ओली उपचारका लागि बाहिर भएकाले प्रचण्डले निर्देशन जारी गरेका छन्।