स्लामिक स्टेट (आइसिस) प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले शनिबार राति उत्तरी सिरियामा मारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै बग्दादी मारिएको पुष्टि गरेका हुन्।
ट्रम्पले बताएअनुसार बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले सुसाइड (बमजडित) भेस्ट पड्काएका थिए। सोही क्रममा उनको मृत्यु भएको हो। (हेर्नुस्- अमेरिकन कुकुरले सुरूङभित्र लखेटेपछि सुसाइड भेस्ट पड्काएर मरे बग्दादी)
आइसिस प्रमुख बग्दादी संसारकै 'मोस्ट वान्टेड' व्यक्ति थिए। सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समय आतंकवादी गतिविधि चलाउँदै आएको थियो। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दस करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।
ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकायदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकायदा प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ। बग्दादी पनि सुरूमा सन् २०१० मा इराकमा अलकायदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए।
धेरै वर्षसम्म लुकेर बसेका बग्दादीलाई खोज्न अमेरिकाले निकै लामो तयारी गरेको थियो। बग्दादी लुकेर बसेको ठाउँ पत्ता लगाउन सहज थिएन। र, अमेरिकाले खोजेकै भरमा बग्दादी फेला परेका पनि होइनन्।
बग्दादीलाई अमेरिकी सेनाको हातसम्म पुर्याउन उनकै खबरवाहक र श्रीमतीहरूले सघाएका थिए। यसको कथा गत वर्षबाटै सुरू हुन्छ।
अमेरिकी एजेन्सी सिआइएले गत वर्ष बग्दादी लुकेको गाउँको सूचना पाएको थियो। उनी उत्तरी सिरियाको एउटा गाउँमा लुकेका थिए जुन गाउँ उनकै प्रतिद्वन्द्वी आतंकवादी समूह अलकायदाको नियन्त्रणमा छ।
यो खबर सिआइएलाई बग्दादीकै श्रीमतीहरू र एक जना खबरवाहकले दिएका थिए। आतंकवादी समूहमा सूचना तथा खबर आदानप्रदानका लागि कुनै विशेष मान्छे नियुक्त भएका हुन्छन्। उनीहरूले 'खबरी'को काम गर्छन्। बग्दादीका यी खबरी र श्रीमतीहरू पक्राउ परेपछि सोधपुछ क्रममा बग्दादीको ठेगाना पत्ता लागेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
ठाउँ पत्ता लागिसकेपछि सिआइएले बग्दादीको चालचलनमा जासुसी गर्न इराकी र कुर्दिस एजेन्सीहरूसँग सहकार्य गर्यो। अमेरिकीहरूले बताएअनुसार कुर्दिसहरूले बग्दादीमाथि नजर राख्दै सिआइएलाई सूचना दिइरह्यो।
एक जना सिरियन इञ्जिनियरका अनुसार बग्दादी अर्को उग्रवादी समूह 'हुर्रास अल-दीन' का कमान्डर अबु मोहम्मद सलामाको घरमा बसेका थिए। ती कमान्डरको बग्दादीसँग के सम्बन्ध थियो भन्ने खुलेको छैन। बग्दादीलाई उक्त घरमा हमला गर्दा ती कमान्डर थिए, थिएनन् वा उनको अवस्था के छ भन्ने पनि प्रष्ट छैन।
बग्दादी बसेको ठाउँ पत्ता लागेपछि अमेरिकी सेनाहरूले उनलाई पक्रने-मार्ने योजना बनाउन थाले। तर उनीहरूले सोचेजस्तो सहज भएन। बग्दादी अलकायदाले घेरेको गाउँको बीचमा लुकेका थिए जुन गाउँको आकाश सिरिया र रसियाको नियन्त्रणमा छ। धेरै प्रयास गर्दा पनि सफल हुने छाँट नदेखिएपछि सेनाहरूले दुईपटक हात झिकेका थिए।
अघिल्लो साता मात्र उनीहरूले फेरि बग्दादीमाथि आक्रमणको योजना बनाए। अमेरिकी अधिकारीका अनुसार बग्दादी उक्त ठाउँबाट निस्कने तयारी गरिरहेको जानकारी उनीहरूले पाएका थिए। उनी त्यहाँबाट भागेका भए नयाँ ठेगाना पत्ता लगाउन अमेरिकी सेनालाई अति नै मुश्किल हुने थियो।
गत शुक्रबार राष्ट्रपति ट्रम्पले अपरेशन गर्न निर्देशन दिएपछि कमान्डोहरू बग्दादी लुकेको गाउँमा हमला गर्न पुगेका थिए। शुक्रबार मध्यरातमा आठवटा हेलिकप्टर इराकको इर्बिल नजिकैको अमेरिकी सैन्य क्याम्पबाट उडे। अरूको ध्यान नखिचिओस् भनेर तलतल तर चाँडो उडेका हेलिकप्टर सिरियाको आकाशभरि ७० मिनेटसम्म उडेका थिए। यो उनीहरूका लागि जोखिमपूर्ण थियो।
पश्चिमी सिरियाको बरिशा क्षेत्रमा (बग्दादी लुकेको गाउँ) पुगेपछि ल्यान्ड गर्नुअघि नै कमान्डोहरूले हेलिकप्टरबाटै तल जमिनमा गोली चलाए। सेना र कुकुरहरूहरू बग्दादी बसेको घरमा सुरक्षित जान सकून् भनेर उनीहरूले कभर दिए।
ट्रम्पले बताएअनुसार हेलिकप्टरबाट गोली चलेपछि कमान्डोहरू बग्दादी बसेको घरको मूलढोकामा पुगे। उनीहरूलाई त्यो पासो मात्रै थापिएको हो कि भन्ने लागिरहेको थियो। कतै जान सक्ने अवस्था थिएन।
जसै त्यहाँको पर्खाल भत्कियो र कमान्डोहरू अगाडि बढे, आइसिसका लडाकूहरूसँग उनीहरूको आमनासामना भयो। यी सबै घटना सैन्य विमानमा भएका क्यामराले रेकर्ड गरिरहेको थियो। राष्ट्रपति ट्रम्पले आफू र अरू अधिकारीहरूले ह्वाइट हाउसमा बसेर सबै विवरण हेरेको बताएका छन्।
घरभित्र पसेका कमान्डोहरूले चलाएको गोलीले केही मान्छे मारिए। उनीहरू अगाडि बढेपछि एक जना अरेबियन व्यक्तिले त्यहाँ भएका केटाकेटी, केही महिला र पुरूषलाई कसरी भाग्ने भनेर सुझाइरहेको देखे। ती व्यक्तिहरू लडाकू थिएनन्। बग्दादी त्यहीँ थिए जसले ११ जना केटाकेटी आफ्नो बचाउका लागि राखेको ट्रम्पले बताएका छन्।
कमान्डोहरूलाई देखेपछि बग्दादी अन्डरग्राउन्ड सुरूङभित्र छिरेका थिए। ट्रम्पका अनुसार बग्दादीले तीन जना केटाकेटी आफूसँगै लिएर सुरूङभित्र छिरे। ती केटाकेटी बग्दादीले आफ्नो बचाउका लागि लगेको अनुमान छ।
बग्दादीले सुसाइड (बमजडित) भेस्ट लगाएका भएर कमान्डोहरू उनको पछिपछि जान डराए। यसपछि उनीहरूले सैन्य कुकुरहरूलाई सुरूङभित्र पठाएको ट्रम्पले बताएका छन्। बग्दादी छिरेको सुरूङ एकतर्फी थियो।
'कुकुरहरूले लखेटिरहेको र भाग्ने अवस्था नभएपछि बग्दादीले सुसाइड भेस्ट पड्काए। उनीसँगै भएका तीन जना केटाकेटी पनि मारिए,' ट्रम्पले भनेका छन्। यसअघि ती तीन जना केटाकेटी बग्दादीका सन्तान हुनसक्ने भनिए पनि यकिन भएको छैन।
अमेरिकी रक्षामन्त्री मार्क टि इस्परले दुई घन्टासम्म चलेको हमलाबारे जानकारी दिँदै भने, 'बग्दादीले आफ्नो बचाउका लागि धेरै केटाकेटी र महिलाहरू राखेका थिए। हाम्रो विशेष टोली उनीहरूलाई बाहिर निकाल्न सफल भयो। राष्ट्रपति ट्रम्पले भनेझैं बग्दादीले केही साना केटाकेटी आफूसँगै लिएर गए र मारिए।'
ट्रम्पले ११ जना केटाकेटी सुरक्षित निकालिएको बताएका छन्। ट्रम्पले अझै विस्तारमा भनेका थिए, 'मैले सबै घटना हेरेँ। बग्दादी रूँदै-कराउँदै सुरूङभित्र छिरेका थिए।'
इस्परले भने यी कुरा भनेनन्। आफूलाई यी सबै विवरण थाहा नभएको उनले बताए। 'सायद राष्ट्रपतिले फिल्डमा भएका कमान्डोहरूसँग कुरा गर्ने मौका पाउनुभयो,' इस्परले भनेका छन्।
वासिङटनको समयअनुसार शनिबार राति ७ः१५ मा बग्दादी मारिएको खबर कमान्डोहरूले दिएका थिए। घटनामा अरू पनि केही 'दुश्मन' मारिएको राष्ट्रपति कार्यालयले बताएको छ।
राष्ट्रपति कार्यालयका अनुसार घटनामा दुई अमेरिकी सेना सामान्य घाइते भएका थिए जो अहिले काममा फर्किसकेका छन्। बग्दादीले गरेको विस्फोटमा अमेरिकी सैन्य कुकुर घाइते भएको थियो। समान्यतया नराम्ररी घाइते भएका यस्ता सैन्य कुकुरलाई औषधि दिएर मार्ने गरिन्छ।
बग्दादी मारिएपछि ती ११ जना केटाकेटी स्थानीय एक महिलालाई सुम्पिएको छ। त्यसपछि सेनाले हमला क्षेत्र ध्वस्त पार्ने आदेश दिएका थियो। घटनासँग जानकारका अनुसार बग्दादी मारिएको ठाउँ जस्ताको त्यस्तै छाडिए आइसिसपछिका सदस्यहरूले यसलाई आफ्ना प्रमुख मारिएको विशेष ठाउँका रूपमा लिन सक्नेछन्। यसैले घरको नामनिसान मेटाइएको हो।
आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले 'ल्याब' नै बोकेर गएको बताइएको छ। धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन। सही पहिचान गर्न अमेरिकी सेनाले बग्दादीको डिएनए घटनास्थलमै लिएर गएको थियो। बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरियो। यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका हुन्।
सबै काम सकिएपछि अमेरिकीहरू आफ्नो हेलिकप्टरमा चढेर इराक फर्किए। आक्रमण क्रममा लडाकू विमानहरूमा क्षति पुगेको छ।
बग्दादीलाई मारेर हेलिकप्टर उडेको चार घन्टापछि राष्ट्रपति ट्रम्पले शनिबार मध्यरातमै ट्विट गरेका थिए- केही ठूलो घटना भयो।