तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको नेतृत्व लिन २५ जनाले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दिनेमा ११ जनाले स्वतन्त्र उम्मेदवार छन् भने १४ दलबाट प्रतिनिधित्व गर्दै उम्मेवारी दिएका छन्।
दलहरूले बाजा गाजासहित जुलुस लिएर नाम दर्ता गर्न गएका थिए। कास्कीमा नेकपा र नेपाली कांग्रेसकै उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ।
उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्।
उनको उम्मेदवारीमा गण्डकी प्रदेशसभा सदस्य समेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेशसभा सदस्य प्रभा कोइराला समर्थक छन्।
पोखरा राष्ट्र बैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थकसहित पुगेर मनोनयन दर्ता गराएकी हुन्।
नेकपाकी उम्मेदवार विद्या भट्टराईभन्दा अघि स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले मनोनयन दर्ता गराएका थिए। उनी संरक्षणकर्मी हुन्। उम्मेदवारी दर्तामा कुँवर पहिलो र विद्या दोस्रो भएकी छन्।
उम्मेदवारी दर्तापछि नेकपाकी उम्मेदवार विद्या भट्टराईले विगतदेखि नेकपाले जितेको ठाँउ भएकाले आफ्नो जित सुनिश्चित रहेको बताइन्। त्यसैगरी, कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
कांग्रेसबाट उम्मेदावारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले उम्मेदवारी दर्ता गरे।
उम्मेदवारी दर्तापछि पौडेले जनतालाई रिझाउन सक्ने उम्मेदवारलाई नै निर्वाचनमा जनताले विजयी बनाउने बताए।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राप्रपा, राष्टिय जनमोर्चा, विवेकशील पार्टी, साझा पार्टी, संघीय समाजवादी नेपाल लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।
७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की २ मा ३२ मतदानस्थल र ८२ वटा मतदान केन्द्रबाट मतदान रहने छन्।
पोखराका विभिन्न ११ वटा वडा पर्ने कास्की २ मा रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत र प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए।
तत्कालीन विवेकशील साझा पार्टी तेस्रो भएको थियो। विवेकशीलका उम्मेदार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए।
गण्डकी प्रदेशअन्तर्गत प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५ ठाउँमा उपनिर्वाचन हुँदैछ।