प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघले प्रदेश सरकारलाई समान व्यवहार नगरेको बताएका छन्।
सातमध्ये छ वटा प्रदेश सरकार नेपाल कम्युनिष्ट पार्टी नेकपाको भएको र प्रदेश २ मात्रै फरक पार्टीको भएकोले आफूहरूलाई संघले समान व्यवहार नगरेको राउतको भनाइ छ।
‘बजेट उपलब्ध गराउनेदेखि अन्य सुविधामा संघले प्रदेश सरकारलाई समान व्यवहार गरेको छैन,’ शनिबार जनकपुरमा भएको नेपाल साहित्य उत्सवमा ‘प्रदेश वा परदेश’ शीर्षकको कार्यक्रममा राउतले भने।
बजेट बाँड्ने बेला सबै प्रदेशलाई समान दिए पनि पछि अन्य शीर्षकमा अरू प्रदेशलाई खुसुखुसु बजेट दिने गरेकोले संघले समान व्यवहार नगरेको उनको भनाइ थियो।
उनले आफूलाई विदेश भ्रमणमा जानसमेत संघले रोकेको स्मरण गरे।
‘म अमेरिकामा हुने कार्यक्रममा जान खोजेको थिएँ तर दिएनन्। प्रदेश नम्बर १ का मुख्यमन्त्रीजी विदेश गएर आउनुभयो,’ उनले भने, ‘प्रदेशलाई हेर्ने संघको व्यवहार असमान छ।’
संघले प्रदेशको खुट्टा तान्ने प्रवृत्ति राखेकोले विकास र समृद्धिको अभियानलाई तीब्रता दिन नसकिएको उनले आरोप लगाए। ‘अरू प्रदेशका पीडा पनि यस्तै छ तर उनीहरू कोठाभित्र बोल्छन्,’ उनले भने, ‘म त खुला ठाउँमै बोलिदिन्छु।’
संघले प्रदेशमा निवृत्त हुन लागेका कर्मचारी पठाइदिएको पनि उनले बताए।