समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारमा बसिराख्ने कि छाड्ने भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
सरकारबाट बाहिरिन पार्टीभित्र दबाब आइरहेका बेला बिहीबार बसेको संघीय परिषद बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्दै सरकार एकलौटी ढंगले अघि बढेकोले सहभागिताबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
‘सरकारको नेतृत्व गर्ने पार्टीले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कातर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको छ,’ भट्टराईको प्रतिवेदनमा भनिएको छ, ‘साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादासमेत ख्याल गरिरहेको छैन। तसर्थ संघीय सरकारमा पार्टीको संलग्नताबारेगम्भीर समीक्षा गर्नु जरुरी छ।’
साथै समाजवादीले सरकारसँग संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने पनि बताएको छ।
‘हामीसँग भएको २ बुँदे सहमति कार्यान्वयन गर्ने प्रकृया अगाडि नबढाएमा सरकारबाट बर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नु पर्दछ,’ उनले भनेका छन्।
प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेका अनुसार बिहीबार राजनीतिक प्रतिवेदन पारित हुनेछ। शुक्रबार र शनिबार बस्ने केन्द्रीय परिषद बैठकमा पार्टी सरकारमा बसिराख्ने वा छाड्ने भन्नेबारे बृहत छलफल गर्ने एजेन्डा छ।