प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई एक जना प्रदेश सभा सदस्यले थप्पड हानेकी छिन्।
नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले मंगलबार दिउँसो राज्यमन्त्री यादवलाई थप्पड हानेकी हुन्।
उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए।
आजसमेत प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले उपभोक्ता समितिको भुक्तानीको सम्बन्धमा सरकारले जवाफ दिनु पर्ने भन्दै बैठक अवरूद्ध गरेका थिए।
त्यसलगत्तै बाहिर निस्केकी कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर विरोध भए पनि सरकार मन्त्री लाज पचाएर बसेको भनेपछि प्रदेश सभा सदस्य दास र मन्त्री यादवबीच केहीबेर भनाभन भएको थियो। त्यत्तिकैमा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि थप्पड प्रहार गरेकी हुन्।
राज्यमन्त्री यादवले भने दाससँग आफ्नो भनाभन भएको भएपनि थप्पड भने नहानेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्- मंगलबार प्रदेशसभा बैठकपछि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथि पछिल्लो आर्थिक वर्षको प्रदेश सरकारले गर्ने बक्यौताको भुक्तानीलाई लिएर प्रदेश सांसदले हातपात गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। गत वर्षको निकासा सम्बन्धमा उठेको विषयमा भनाभन भएकै हो तर हातपात वा थप्पड भन्ने केही छैन। अन्यथा लेखिएको सबै समाचार गलत हो।