राष्ट्रिय सभामा खाली भएको १८ सिटका लागि देशैभरि आइतबार उम्मेदवारी दर्ता भएको छ। प्रदेश २ मा पनि राष्ट्रिय सभाको ४ सिटका लागि उम्मेदवारी दर्ता सकिएको छ।
उम्मेदवार दर्ताका क्रममा यसअघि कहिल्यै नदेखिएको दृश्य जनकपुरमा देखियो। अघिल्लो चुनावसम्म राजनीतिक आस्थाका आधारमा मात्र होइन मधेसलाई हेर्ने दृष्टिकोणमा पनि एकअर्काको चर्को आलोचना गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का नेता/कार्यकर्ताले आज जुगलबन्दी गरे। नेकपाको चुनाव चिन्ह सूर्य र राजपाको छाता भएको झन्डा बोकेर दुबै दलको जुलुस निर्वाचन कार्यालयसम्म पुग्यो।
मधेश आन्दोलनताका एक अर्को दलको कार्यकर्ताले एक अर्कालाई तल्लोस्तरसम्म गाली गर्ने गरेका थिए भने एकअर्काविरूद्ध जुलुस पनि निकाल्थे। कार्यकर्तामात्र होइन दुबै दलका शीर्ष नेता पनि एकअर्कालाई होच्याउने अभिव्यक्ति दिन्थे।
पुस २ गते अचानक यी दुई दलबीच बालुवाटारमा दुई बुँदे सहमति भयो। सहमतिको पहिलो बुँदामा माघ ९ गते हुने राष्ट्रिय सभा चुनावमा प्रदेश २ का ४ सिट बाँड्ने कुरा छ।
प्रधानमन्त्रीनिवासमा पार्टी अध्यक्षहरूले सहमति गरेपछि कार्यकर्ताले सुरूमा दुबै दलका कार्यकर्ता सुरूमा अलमलिए, संकोच माने।
आइतबार राष्ट्रिय सभाको उम्मेदवारी दर्ता गर्न जाँदा उनीहरूको संकोच हटेर गयो। आ-आफ्ना पार्टीका झन्डा बोकेर दुबै दलका नेता/कार्यकर्ताले एउटै जुलुस निकाले।
राजपा र नेकपाबीचको यो मिलनलाई कतिपयलाई नेपाली राजनीतिको सकारात्मक पक्ष झल्को लाग्छ भने केही यसलाई ‘फोहोरी खेल’ को चरम उदाहरण ठान्छन्।
एकअर्कालाई परमशत्रु मान्ने यी दुई दलका कार्यकर्ता कसरी एउटै जुलुसमा आए त?
राजपाबाट राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादवले एकअर्काप्रतिको तिक्तता बिर्सेर नयाँ राजनीतिको बाटोमा दुबै दल मिलेकोमा खुशी व्यक्त गरे।
‘हाम्रो मुद्दा यथावत नै छ,’ यादवले भने, ‘हाम्रो मुद्दालाई नेकपाले कुन रूपमा अगाडि बढाउँछ आगामी सहकार्य त्यसैमा निर्भर हुन्छ।’
उनले नेकपा र राजपा राष्ट्रिय सभा निर्वाचनकै लागि भए पनि एक ठाउँमा आउनुले राजनीतिमा कोही कसैको परमशत्रु वा सदाका लागि मित्र नहुने कुराको प्रमाणित भएको दाबी गरे।
नेकपाबाट महिला कोटामा राष्ट्रिय सभामा उम्मेदवारी दिएकी तुलसा दाहालले नेपाली राजनीतिको सबैभन्दा सुन्दर पक्ष यही रहेको बताइन्।
उनले कहिल्यै एक अर्कालाई गाली गर्ने दल एकैसाथ मिलेर चुनाव लड्नुलाई सकारात्मक रूपमा लिन अपिल गरिन्।
दुई पार्टीको सहकार्यले शीर्ष नेता हौसिए पनि तल्लो तहका कार्यकर्ता भने उत्साही हुन सकेका छैनन्।
एक जना राजपाका कार्यकर्ताले नाम नबताउने सर्तमा भने, ‘मधेश आन्दोलनको समयमा नेकपाविरूद्ध संविधान संशोधनको मुद्दा लिएर जुलुस तथा धर्ना गर्यौं, अहिले दुबै पार्टी एक ठाउँमा आएका छन्, संविधान संशोधन अहिलेसम्म भएको छैन कुन मुख लिएर जनतासामू जाने।’
राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र लाभ नेकपा-राजपा सहकार्यले राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन भन्ने कुरा प्रमाणित गरेको बताए।
यस प्रकारको सहकार्यले नेपालमा विचारको राजनीति नभई सत्तालिप्साको राजनीतिमात्रै हुने गरेको सन्देश आम जनतामा गइरहेको लाभको भनाइ छ।
‘राष्ट्रिय सभा विज्ञको थलो हुनु पर्ने त्यहाँ पनि भागबन्डाकै हाल रहेकोले नेपालमा मुद्दा सत्ता चढ्ने भर्याङका रूपमा मात्रै प्रयोग गर्ने गरेको देखिन्छ,’ उनले भने,‘यस्तो सहकार्यले राजपालाई मधेशमा ठूलो धक्का लाग्न सक्छ किनकी सीट जोगाउन राजपाले सहकार्य गरे पनि यसले पार्टी कार्यकर्ता तथा आम जनतामा निराशा छाएको छ।’