प्रदेश दुईको नाम र राजधानीको विषयमा सहमति जुटाउनका लागि बनेको समितिकाे बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेन। जनकपुरधामलाई राजधानी बनाउने विषयमा सहमति जुटे पनि नामको सवालमा समितिले टुंगो लगाउन नसकेको हो।
दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सराेजकुमार यादवको संयोजकत्वमा गठित समितिले अन्तिम पटकका लागि आइतबार बैठक डाकेको थियो।
प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमा सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी संयुक्त रुपमा मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुरा र कांग्रेसकै केही प्रदेशसभा सदस्यहरुले मध्य मधेश भन्ने नाम सहितको प्रस्ताव दर्ता गराएका थिए।
सबै दलका संसदीय दलका नेताहरु सम्मिलित आइतबारको बैठकपछि नामाकरणको विषयमा चाँडै नै निर्णय लिइने नेताहरुले प्रतिक्रिया दिए।
राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेस समेतले मधेशलाई स्वीकार गरिसकेकोले आगामी बैठकबाट टुंगो लाग्ने दावी गरे।
प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु मधेश नाममा सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अगाडि बढाएको बताए। यद्यपी मधेश मात्रै राखे आफूहरु सहमत नहुने समेत बताए ।
अर्का प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले पनि मधेश नाममा कुनै विमति नरहेको तर मिथिलाको आफ्नो छुट्टै पहिचान रहेकोले मिथिला मधेश नाममा सहमति जुटाउन आफूले सुझाव दिएको बताए।
आइतबारको बैठकमा प्रदेशको नाममा सहमति जुट्न नसके पछि फेरी बैठक बोलाएर सहमति जुटाउने प्रयास गरिने सभामुख सरोज कुमार यादवले जानकारी दिए।