पूर्वसभामुख कृष्णबहादुर महराले दाङमा आएर षडयन्त्र गर्नेलाई आफूले पराजित गरेर आएको बताएका छन्।
‘षडयन्त्र गर्नेले अझै पनि षडयन्त्र गर्न चाहिरहेकै भए पनि तर षडयन्त्र सफल भएन,’ महराले भने, ‘त्यसकारण म तपाईंको माया, ममता,सहयोग समर्थनको सधैँ कदर गर्दछु।’
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महरा आफ्नै संसद सचिवालयकी एक जना महिला कर्मचारीमाथि बलात्कार गरेको अभियोगमा तीन महिना बढी जेल बसेपछि सोमवार पहिलो पटक दाङ आउँदा त्यो कुरा बताएका हुन।
‘मलाई केही समय भूमरीमा पठाइयो। म भूमरीमा जितेर आएँ,’ महराले भने, ‘त्यो जित तपाईको जित हो। तपाईंहरूको माया, सदभाव, समर्थन नै यो जितको आधार हो।’
काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महरा पहिलो पटक सोमबार दाङ आउएका हुन्।
उनले आफ्नो जितको मुख्य स्रोत मतदाता र न्यायप्रेमी जनसमुदाय भएको बताए। आफ्नाविरूद्ध भएको षडयन्त्रबारे अहिले धेरै नबोल्ने र समय आएपछि सबै कुरा खोल्ने महराको भनाइ छ।
घोराहीमा महराले राष्ट्रिय स्वाधिनताको लडाइँमा एक्लै भए पनि लडिरहने दाबी गरे।
‘म राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताका लागि हिजो लडेँ, आज पनि लडिरहेको छु र भोलि पनि लड्नेछु,’ महराले भने।
महरा दाङ आउँदा जिल्लाको सीमाना धानखोलादेखि नै उनको स्वागतमा शुभेच्छुकहरु पुगेका थिए।
महरालाई भालुवाङ, सिसहनिया,लमही,चौघेर, घोराहीमा कार्यकर्ता, शुभेच्छुकले बाजा गाजासहित फूलमालाले स्वागत गरेका थिए।
ती ठाउँहरुमा संक्षिप्त सम्वोधन गर्दै महराले आफैं त्यस्तो सम्मानको कहिलै कल्पनासमेत नगरेको बताए। महराले भने-म तपाईंहरूको यो अपार माया र सदभाव कहिल्यै भुल्ने छैन, यो मेरो प्रतिवद्धता भयो।’
महराको स्वागतमा प्रदेशसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य दामा शर्मा, संविधानसभा सदस्य गंगा चौधरी, नेकपा दाङ जिल्ला कमिटी सदस्य यज्ञबहादुर केसी, नेकपा निकट अनेरास्ववियुका अनुशान विभाग सदस्य बिरवल खड्कालगायत पुगेका थिए।
महरानिकटका मानिने केसीले महरा एक सातासम्म दाङमा जनताको घरमा बस्ने, मतदाताको कुरा सुन्ने जानकारी दिए।
उनी आफ्नो निर्वाचन क्षेत्रबाहेक पश्चिम दाङसमेत पुगेर जनताको धारणा बुझ्न जाने कार्यक्रम रहेको केसीले बताए।
‘महरा सरलाई एमसिसी काण्डमा फसाउन यो सबै षडयन्त्र भएको थियो,’ केसीले भने ‘त्यो षडयन्त्रले काम गरेर अन्तिममा सत्यको जित भयो।’