लमही नगरपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन्।
बिहीबार बिहान १० बजेपछि वडा अध्यक्ष तथा कार्यपालिका सस्दयहरूले नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन्।
ताला लगाउन सत्तासिन दल नेकपा र नेपाली काँग्रेसका वडा अध्यक्ष लगभग सबै गएका थिए। लमहीमा ९ वडामध्य वडा नं. ५ का वडा अध्यक्ष तथा नगरका प्रवक्ताबाहेक अन्य सबै वडाअध्यक्षहरु तालाबन्दी गर्न गएका हुन्।
लमही नगरमा चारवटा वडा र उपमेयर नेपाली काँग्रेसले जितेको छ। उपमेयर भने तालाबन्दी कार्यक्रममा सहभागी भइनन् । वडा अध्यक्षहरूले नगरपालिकाको गेटमा लगाएको ताला केही बेरमै प्रहरीले तोडेको थियो। अहिले पनि नगरपालिकामा प्रहरीले धर्ना दिइरहेको छ।
वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरूवाको माग गर्दै तालाबन्दी गरेका हुन्।
आन्दोलनरत पक्षधर सबैले अधिकृत डाँगीको सरूवाको माग गर्दै आएका छन्। त्यही मागसहित उनीहरु गत आइतबार संघीय मामिला मन्त्रालयमा समेत पुगे। मन्त्रालयले अधिकृत डाँगीको सरूवा पत्र पनि लेख्यो । तर, लगत्तै नगरप्रमुख कुलबहादुर केसी फेरि संघीय मन्त्रालय पुगे। उनले एक हप्ताका लागि सरूवा थमौती गरेर आए।
ताला लगाउन गएका मध्य वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरीले नगरप्रमुख केसी र प्रमुख प्रशासकीय अधिकृत डाँगीको बीचमा साँठगाँठको आशंका व्यक्त गरे। ‘मन्त्रालयले सरुवा गरिसकेका डाँगीलाई किन एक हप्ताको लागि रोक्न नगरप्रमुखले माग गरे, आशंका गर्ने ठाउँ छ,’ चौधरीले भने।
अधिकृत डाँगी र नगरप्रमुख केसी मिलेर प्रक्रिया विपरित मनोमानी ढंगले काम गर्दै आएको आरोप वडा अध्यक्ष चौधरीले लगाए। ‘अधिकृत डाँगीले हैकम जमाएका छन्, हामीलाई धेरै दुःख दिए,’ चौधरीले भने ‘योजनाका काम आफूखुसी उल्टाई पल्टाई गरिदिए, धेरै अनैतिक काम गरेका छन्।’
आन्तरिक स्रोतको रकम आफूखुसी राख्ने गरेको र आफूखुसी कर्मचारीरूको फाँट सार्ने गरेकाले आन्दोलन गर्नु परेको चौधरीले बताए ।
नगरप्रमुख केसीले भने उल्टै आन्दोलनरत वडा अध्यक्षहरूले भ्रष्ट कर्मचारीलाई ढाकछोप गरेर बचाउन खोजेको आरोप लगाए। शिक्षा शाखा प्रमुख रविन्द्र क्षत्री, लेखा प्रमुख गौरव लामिछाने र योजना शाखा प्रमुख पुष्पराज अधिकारीले गर्दै आएको बदमासी तथा भ्रष्टचारलाई साथ दिन वडा अध्यक्षहरू लागेको उनको आरोप छ।
खोलिएको टेन्डरमा आफ्ना मान्छेलाई नपरे ती कर्मचारीले बदमासी गरेर टेन्डर च्यात्ने गरेको नगरप्रमुख केसीले आरोप लगाए। लेखा अधिकृत अधिकारीले सीपमुलक तालिमको टेन्डर आफ्नालाई नपरेपछि त्यो च्यातेर फालेकाले कारबाही गर्न खोजेको नगरप्रमुख केसीले बताए।
सो घटनाको छानविन हुनुपर्ने माग गर्दै १३ गते संघीय मन्त्रालय पुगेर निवेदन दिएको र त्यस उपर छलफल भर्इ बिहीबार उपसचिव भोजराज घिमिरे नेतृत्वको टोली छानविनका लागि लमही आउन लागेको उनले बताए।
‘भ्रष्ट कर्मचारीलाई कारवाही गर्न खोज्दा बचाउन खोज्ने र कारवाही फुकुवा हुनुपर्छ भन्दै तालवान्दी गर्ने यो कस्तो माग हो,’ नगरप्रमुख केसीले भने ‘यदी हाम्रो माग सुनुवाई नभए हामी अख्तियारसम्म जान तयार छौं।’