आईतबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको निर्देशनमा महोत्तरीको निगौलस्थित गाई गौशालाको जग्गा अतिक्रमण गरि निर्माण गरिएको पक्की घर तथा टहराहरु भत्काइयो।
भत्काइएको मध्ये एक चन्देश्वर साहको घर थियो। वर्षौदेखि पटक पटक घर तथा टहराहरु भत्काइने हल्ला सुन्दै आएका उनले यसपटक साच्चिकै हुन्छ भन्ने कल्पना समेत गरेका थिएनन् ।
'२६ वर्षदेखि एक एक पैसा जोड़ेर बनाईएको घर आइतबार सरकारले एकै धक्कामा भत्काइदियो,' आँखाबाट आँशु झार्दै चन्देश्वरले सेतोपाटीसँग भने, 'सरकारले हाम्रो घर होईन हाम्रो हिम्मत तोडिदिएको छ।'
चन्देश्वरको तीन पुस्ताले त्यहीँ गाई गौशालामा जागिर गरेर जिवन बिताए। उनी स्वयम ४० वर्षदेखि उक्त गौशालाको कार्यालय सहयोगीका रुपमा कार्यरत छन्। गौशालामा काम गरेबापत उनको परिवारलाई बासका लागि त्यहाँ जग्गा उपलब्ध गराईएको थियो।
मन्त्रीकै निर्देशनमा घर टहराहरु भत्काइएपछि ११ जना सदस्यसहितका चन्देश्वरको परिवार बिचल्लीमा परेको छ। ‘हामीसँग बिटौरीको रसीदसहितका प्रमाणहरु छन्, मन्त्रीज्युलाई हामीले सबै प्रमाणहरु देखायौँ तर उहाँले वास्ता गर्नुभएन,' उनले भने, 'ऐन नियम जति गरिबमाथि मात्रै लागू हुन्छन्।’
‘घरका सामान समेत निकाल्न सकिनँ, घर खाली गर्दै थिए त्यतिकैमा प्रहरी सहित डोजर आईपुग्यो खाना लत्ता कपडा सबै त्यसमै पुरिए, हार गुहार लगाउँदा समेत प्रहरीले घरबाट सामानहरु निकाल्न दिएनन्’, उनले भने।
चन्देश्वर जस्तै चन्दन ठाकुर समेत अतिक्रमित जग्गामा फर्निचर सञ्चालन गर्दै आफूसहित परिवारको जिविका चलाउँदै आएका थिए। दुई छोराहरुसहित श्रीमान् श्रीमतिको जिविकोपार्जन चल्दै थियो।
उनले पनि चन्द्रेश्वरले झैँ गौशलामा डोजर चल्ने हल्ला मात्रै भएको सोचे। तर यो हल्लाले आफुहरुको जिविकोपार्जन गर्ने श्रोत नै बन्द गरिदिने भन्ने कल्पना समेत नगरेको चन्दनले बताए।
'हुनत घर टहराहरु हटाउनका लागि सम्बन्धित निकायबाट हामीले चेतावनी पाएका थियौँ, तर यो चेतावनी वर्षौदेखि पाउँदै आएकोले यसपटक समेत हल्ला नै होला भन्ने जस्तो लाग्यो,' उनले भने।
भएको जति व्यापार सरकारले चौपट बनाएको चन्दनको आरोप छ। 'अब फेरी पनि व्यापार उठाउन गाह्रो छ। लगभग ५ लाखको फर्निचरको सामान र मेसिनहरुमाथि डोजर चलाईए, के गर्ने? कसरी बच्चाहरुको पेट भर्ने भविष्य बनाउने?,' ठाकुरले सेतोपाटीसँगको कुराकानीमा भने।
‘पहिला पहिला यहाँका नेता तथा हाकीमहरुलाई पैसा दिन्थे त्यसैले भत्केन। अब दिन छोडिदिए भत्काउन लगाए, होईन भने यहीँ जग्गामा बनेका २ तल्ले पक्की घरहरु तोडिदैन र सामान्य व्यापार व्यवसाय गर्ने हाम्रो झुपड़ी कसरी तोडिन्छ?,’ उनले गुनासो गरे।
अतिक्रमित उक्त जग्गामा लगभग ३० वटा घरटहराहरु निर्माण गरिएको थियो भने गौशाला बजारमा करिब १५ कठ्ठा जग्गा अतिक्रमण गरिएको थियो। अतिक्रमित उक्त जग्गामा चन्देश्वर साह, चन्दन ठाकुर, दुखनी देवी सहित लगभग ३० घरपरिवारका सदस्यहरुको बसोबास रहदै आएको थियो।
अतिक्रमित जग्गामा निर्माण गरिएका घर तथा टहराहरु भत्काउन स्वयं मन्त्री अर्याल नै पुगेकी थिइन्। उनले प्रकृयागत रुपमा नै टहरा भत्काएको बताइन्।
‘विगतमा पटक पटक मौखिक सूचनाका साथै अदालत समेतले आदेश गरिसकेको अवस्थामा उक्त आदेशको पालना नगर्नेहरुको घर तथा टहराहरु भत्काइएको हो,' उनले भनिन्।