कोरोना भाइरसले सर्वाधिक प्रभावित राष्ट्र अमेरिकाका ५० वटै राज्यमा लकडाउन खुकुलो पारिएको छ। महामारी सुरू भएयता आंशिक वा पूर्ण रूपले आवागमन र व्यापार बन्द गरेका अमेरिकी राज्यहरूले बुधबारबाट लकडाउन खुकुलो पारेका हुन्।
फरक-फरक परिस्थिति बेहोरेका राज्यका गभर्नरहरूले महामारी सामना गर्न आ-आफ्नै मौलिक तरिका अपनाएका छन्।
सबभन्दा पछिल्लो समय लकडाउन खोल्ने निधोमा पुगेको राज्य कनेक्टिकट हो। यहाँको व्यापार-व्यवसाय बुधबारबाट सुरू भएको छ। राज्यले ‘घरैमा बस्नू’ भन्ने आदेश हटाएको छ। पसल, क्याफे, संग्रहालयदेखि कार्यालयहरूसम्म खोल्न अनुमति दिएको छ।
तर, सबै राज्यको नीति कनेक्टिकटजस्तो लचिलो छैन।
नजिकको न्यूजर्सीमा लकडाउन खुले पनि त्यसको दायरा सीमित छ। त्यहाँ अत्यावश्यक खुद्रा पसलहरूलाई सुरक्षा उपाय अपनाएर कारोबार खुला गर्न अनुमति दिइएको छ। केही व्यवसायलाई भत्ताको बन्दोबस्त गरिएको छ। तर सबै कारोबार खुलेका छैनन्। सार्वजनिक आवागमन खुले पनि सहज भइसकेको छैन।
पूर्वोत्तर तथा पश्चिमी किनार अवस्थित तथा डेमोक्रेटिक पार्टीले अग्रता लिएका मध्य-पश्चिमी राज्यहरू भने फेरि खुला गर्नेतर्फ शिथिल देखिएका छन्। त्यहाँका कतिपय गभर्नरले एक-एक काउन्टीको हिसाब गर्दै कदम बढाइरहेका छन्। राजधानी वासिङ्टन डिसीमा जुन महिनासम्मै घरभित्र बस्नू भनिएको छ।
यसको ठिकविपरीत दक्षिणका कतिपय राज्यले धमाधम खुला गर्न थालेका छन्। जर्जिया राज्यले निश्चित शारीरिक दुरी कायम गर्ने मान्यता यथावत् राख्दै रेस्टुरेन्ट, सैलुन, जिम क्लब र अन्य व्यवसाय खुला गर्न सुरू गरिसकेको छ।
अलास्काले पनि यो साताको अन्त्यसम्म व्यवसाय सञ्चालनमा लगाइएको रोक हटाउने बताएको छ। यहाँका रेस्टुरेन्ट, बार, जिम क्लब र अन्य व्यवसाय पूर्ण क्षमतामा चालू हुने छन्। खेलकूद र मनोरञ्जनका अन्य गतिविधि पनि सुरू हुने छन्।
‘हामीकहाँ अब महामारी सुरूभन्दा पहिलेजस्तै सबथोक खुला हुनेछ,’ अलास्काका गभर्नर माइक डुन्लेभीले भनेका छन्, ‘एकअर्काबीच शारीरिक दुरी राख्न र सार्वजनिक स्थानमा मास्क लगाउने प्रावधानलाई सक्दो निरन्तरता दिन अनुरोध गरेका छौं, तर अनिवार्य बनाएका छैनौं।’
अलास्का राज्यले स्थानीय बासिन्दाका हकमा लकडाउन हटाए पनि अन्यत्रबाट आउने आगन्तुकनिम्ति कडा नियम जारी राख्ने बताएको छ। अन्य राज्यबाट आउनेहरूले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। उनीहरूले बूढापाका जम्मा हुने स्थान लगायत सार्वजनिक स्थलमा घुमफिर गर्न पाउने छैनन्।
कसैले ठूला सभा वा उत्सव मनाउन जनस्वास्थ्य अधिकारीहरूको अनुमति लिनुपर्ने गभर्नर डुन्लेभीले बताए।
'यसरी क्रमिक रूपमा लकडाउन खुकुलो पार्दै जाँदा जनजीवनमा पर्ने असर हेरेर थप निर्णय लिइनेछ,' उनले भने।
ह्वाइट हाउसले अस्वीकार गरेको निर्देशिका फेरि लागू
रोग नियन्त्रण तथा प्रतिरोधी केन्द्रले स्कुल, व्यवसाय, सवारी आवागमन र उद्योग-व्यवसाय सुरक्षित तवरले खुला गर्न विस्तृत निर्देशिका जारी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त निर्देशिका एकपटक पन्छाइदिएका थिए।
साठी पृष्ठको उक्त दस्तावेज गत साता फेरि जारी गरिएको हो। स्कुल, रेस्टुरेन्ट तथा बार, केटाकेटी हेरचाह केन्द्र लगायत सञ्चालकहरूका लागि विशेष निर्देशिका लागू गरिएको छ। लामो समय व्यवसाय ठप्प पार्दा आर्थिक संकटको डर भएकाले कारोबार अघि बढाउँदै भाइरस संक्रमण कसरी कम गर्ने भन्ने निर्देशिकामा उल्लेख छ।
मस्यौदामा धार्मिक संस्थाहरूले सम्पूर्ण दर्शनार्थीलाई मास्क प्रयोग गर्न लगाउनुपर्ने भनिएको छ। ‘चर्चको प्रार्थना तथा क्वायर’ स्थगित गर्ने प्रस्तावित गरिएको थियो। यसले धार्मिक अधिकारका कुरा उठ्न सक्ने भन्दै प्रशासन डरायो।
अघिल्लोपटक मस्यौदा तयार पार्दा विद्यालयहरूले ‘सामाजिक दुरी राख्नैपर्ने’ भनिएको थियो। अहिले अन्तिम निर्देशिकामा ‘सामाजिक दुरी प्रोत्साहित गर्ने’ भनिएको छ।
कलेजहरूमा शरदकालीन कक्षाको योजना
कलेजहरूले आफ्ना विद्यार्थीलाई फेरि फिर्ता बोलाउने तयारी गरिरहेका छन्। अधिकांशले शरदकालीन पढाइ सकभर छोट्याउने र ‘थ्यांक्स गिभिङ’ विदाभन्दा अगाडि मात्र विद्यार्थीलाई घर जान दिने भनेका छन्।
युनिभर्सिटी अफ नोट्रेडमले विद्यार्थी फर्काउन विस्तृत कार्ययोजना घोषणा गरेको छ। अन्य धेरै कलेजजस्तै उसले पनि शरदकालीन सेमेस्टरको अवधि घटाउने रणनीति बनाएको छ। शरद यामको अन्त्यतिर कोरोना भाइरसको दोस्रो लहर उत्पन्न हुनसक्ने सम्भावनाबीच यस्तो निर्णय गरिएको हो।
युनिभर्सिटी अफ साउथ क्यारोलाइना, राइस एन्ड क्रेगटन लगायतले यस्तै रणनीति अघि बढाएका छन्। अबको गर्मी याममा कोरोना महामारी घटे पनि चिसो मौसमसँगै बढ्न सक्ने भएकाले त्यति बेला विद्यार्थीहरूको हिँडडुल जति कम गरायो, त्यति संक्रमण जोखिम घट्ने कलेजहरूको आकलन छ।
‘कोरोना भाइरसको दोस्रो लहर कमजोर हुनेछ वा अहिलेभन्दा चर्को भन्ने हामीलाई थाहा छैन,’ राइस कलेजका अध्यक्ष डेभिड डब्लू लीब्रोन भन्छन्, ‘यो आगामी जाडो महिनामा फेरि चर्किने खतरा चाहिँ धेरै देखिन्छ।’
न्यूयोर्कका केही अस्पताल बिरामीका आफन्तलाई खुला
न्यूयोर्क राज्यका १६ वटा अस्पतालले बिरामीका आफन्त तथा इस्टमित्रलाई प्रवेश खुला गर्ने भएको छ। तीमध्ये नौवटा अस्पताल न्यूयोर्क सहरभित्रै छन्। यो कार्यक्रम प्रयोगका रूपमा अघि बढाउन लागिएको न्यूयोर्कका गभर्नर एन्ड्रयु एम क्युमोले जानकारी दिए।
बिरामी भेट्न आउनेहरूको ज्वरो जाँच्न सकिनेछ भने उनीहरूले निजी सुरक्षाका उपाय अपनाउनुका साथै मास्क लगाएकै हुनुपर्नेछ।
भाइरस व्यापक फैलिन सुरू भएपछि मार्च महिनामा राज्यका अधिकारीहरूले अस्पतालहरूलाई बिरामी भेट्न आउने मानिस रोक्न लगाएको थियो।
यसबीच गभर्नर क्यूमोले राज्यले स्मृति दिवस (मेमोरियल डे) बेला आयोजना गरिने कार्यक्रमलाई निरन्तरता दिनेतर्फ पाइला चालेको जानकारी दिएका छन्। उनका अनुसार त्यस्ता कार्यक्रममा बढीमा दस जनासम्म सहभागी हुन सक्नेछन्। सवारी साधनको परेड आयोजना गर्न पनि राज्यले अनुमति दिने जानकारी उनले दिए।
न्यूयोर्कका मेयर बिल द ब्लाजियोले सहरका ११ लाख विद्यार्थीमध्ये झन्डै १६ प्रतिशतलाई गर्मी यामको ‘अनलाइन स्कुल’ भर्ना गराइनेछ। जुन २६ तारिखका दिन शैक्षिक सत्र समाप्त भएपछि त्यसको छ सातामै यो स्कुल चल्नेछ।
गत वर्ष यस्तै गर्मी यामको स्कुलमा जति विद्यार्थी भर्ना गराइएको थियो, त्योभन्दा यो चार गुणा बढी हुनेछ।