रुकुम पश्चिममा शनिबार भएको घटनालाई लिएर पीडित पक्षले २० जना विरुद्ध किटानी जाहेरी दिएका छन्।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका २० जना विरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
३ जना मृतक युवाहरुका आफन्त र भागेर ज्यान जोगाएका युवाहरुले चौरजहारी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, केटीका बाबु आमासहित गाउँका २० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोट मार्फत रुकुम प्रहरीमा किटानी जाहेरी दिएको डिएसपी केसीले बताए।
घटना भएको दुई दिन पछि रुकुम प्रहरीले चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १२ जनालाई पक्राउ गरेको छ।
डिएसपी केसीका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरुमा १७ बर्षीया केटी, केटीका बुवा बीरबहादुर, आमा प्रकाशी मल्ल, गाउँलेहरु डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत रहेका छन्।
पीडित पक्षले वडाध्यक्ष मल्ल, उनका बाबु वीरबहादुरसहितका मानिसहरुले लखेटी लखेटी आफ्ना सन्तानको हत्या गरेको जाहेरीमा उल्लेख गरेका छन्।
किटानी जाहेरी अनुसार घटनामा संलग्न रहेका भनिएका अन्य ८ जनाको खोजी भइरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले जाहेरीमा केटा र केटीको बीचको अन्तर जातिय प्रेमका कारण आफ्ना सन्तानहरुको सुनियोजित तरिकाले हत्या गरेको भन्ने उल्लेख रहेको सेतोपाटीलाई बताए।
‘वडाध्यक्ष मल्ल लगायतको नेतृत्वमा कुटपिट गर्दै लखेटीलखेटी हत्या गरिएको जाहेरीमा उल्लेख छ,’ डिएसपी श्रेष्ठले भने ।
बुधवार मृतकमध्ये जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ का २१ बर्षीय नवराज विक र १७ वर्षीय गणेश बुढा मगरको शव पोष्टमार्टम पछि अन्तिम संस्कारको लागि आफन्तलाई बुझाइने जानकारी दिए।
घटनामा मारिनेमध्ये एकजना रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का हुन। २० वर्षीय टीकाराम सुनारको शव भने रुकुम अस्पतालमै पोष्ट मार्टमका लागि राखिएको छ।
बाँकेबाट आएका ७ जना सशस्त्रका गोताखोरले बेपत्ताको खोजी थाले
शनिबार बेलुका भएको घटनापछि वेपत्ता रहेका जाजरकोटका तीन युवाको गोताखोरले बुधबार विहानै देखि खोजी कार्य सुरु गरेका छन्।
जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बाँकेको सम्शेरगन्जवाट सशस्त्र प्रहरीको सात जनाको गोताखोर टोली आएको र उनीहरुले ठूली भेरी नदीमा जाजरकोट क्षेत्रवाट विहानदेखि खोजी सुरु गरेको जानकारी दिए।
जाजरकोटका प्रहरी प्रमुख श्रेष्ठले बुधवार विहानैदेखि ठूली भेरी नदीको अलजिउला भन्ने स्थानवाट खोजी कार्य सुरु भएको जानकारी दिए।
सात जनामध्ये तीनजना गोताखोरको रुपमा आएको र थप चार जना सुरक्षाको लागि आएको रुकुमका डिएसपी केसीले बताए।
प्रहरीका अनसार जाजरकोटको भेरी नगरपालिका निवासी १८ वर्षीय लोकेन्द्र सुनार, १८ बर्षकै सञ्जु विक र १७ वर्षीय गोविन्द शाही शनिवारको घटना पछि वेपत्ता रहेका छन्।
उनीहरुको खोजी कार्यका लागि बाँकेको शम्शेरगन्जवाट गोताखोर पुगेर खोजी थालेका हुन्।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो।
घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार विहान सानी भेरी नदी किनारमा फेला परेको थियो।
शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथीहरु लगेर रुकुमपश्चिमको चौरजाहारी पुगेको समयमा घटना भएको थियो। त्यहाँ जाने मध्य केही युवाहरु सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका समेत रहेको प्रहरीले जानकारी दिएको छ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी केसीले वेपत्ता युवाहरुको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशबाट ३० जना थप जनशक्ति आएको जानकारी दिएका छन् ।
घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एकजना प्रहरी निरीक्षकको कमाण्डमा थप दुईजनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ। गृह मन्त्रालयले पनि मंगलबार घटनाको निष्पक्ष छानविन गर्न भन्दै एउटा समिति बनाएको छ।