आज दिउँसो तीन बजे बसेको कार्यपालिका बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिई पारित गर्न लागेको भन्दै नगरप्रमुख लालकिशोर शाह पक्ष र अन्य वडाध्यक्षबीच विवाद भएको हो।
आफूहरुले माग गरेअनुसारको एजेण्डासहित कार्ययोजना नआएपछि नगरप्रमुख साह पक्षका केही वडाध्यक्षसँग विवाद भएको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले बताए।
‘भोलि उपमहानगरको नगरसभा हुँदैछ, आज हामीलाई कार्ययोजना उपलब्ध नै नगराई माइनुटमा साइन गर्न नगरप्रमुख साहले दबाब दिँदै हुनुहुन्छ, यस्तोमा विवाद हुनु स्वभाविक छ’ उनले भने ‘जबकि उपमहानगरपालिकाको कार्यविधिमै २४ घण्टा पहिले नै छलफलका लागि ल्याउनुपर्छ भनेर उल्लेख छ।’
दुबै पक्षबीच घम्साघम्सी हुँदा वडा नं. १० का अध्यक्ष मिथिलेश कर्ण लडेको वडाध्यक्ष साहले बताए।
भोलि हुन लागेको नगरसभाका लागि मस्यौदा नपुग्दा सामान्य विवाद भएको उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रले बताइन्।
‘सामान्य विवाद मात्रै भएको हो, त्यसपछि केही वडाध्यक्षहरु आफैं भुइँमा सुत्न थाल्नुभयो, यसलाई घम्साघम्सी भन्न मिल्दैन’ उपमेयर मिश्रले भनिन्।
प्रत्येक वर्ष उपमहानगरपालिकाको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकाले उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनुपर्नेमा प्रमुख लालकिशोर साह तानाशाही ढंगले प्रस्तुत हुँदै आएको वडाध्यक्षहरुको आरोप छ।
जनकपुरधाम उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट निकासा गर्न भोलि नगरसभा हुन लागेको छ।