नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टी विधिविधान विपरीत कदम चालेको भन्दै कडा आपत्ति जनाएका छन्।
महाधिवेशन घोषणा भइसकेको बेला सभापति देउवाले विभाग, समितिहरूमा एकलौटी ढंगले मनोनयन र आफूखुसी पद बाँडेको भन्दै नेता पौडेलले सभापतिको कदमले पार्टीलाई हित नगर्ने बताएका हुन्।
नेता पौडेलको विरोधका बाबजुद सभापति देउवाले आइतबार राति केहि विभागलाई पूर्णता दिँदै करिब पाँच सय जना कार्यकर्तालाई विभिन्न जिम्मेवारी दिँदै मनोनित गरेका थिए।
४७ विभागमध्ये देउवाले करिब ३० विभागमा एकलौटी मनोनित गरेका हुन्।
कांग्रेस विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभागलगायत मनोनित गरिसक्नुपर्छ। नियमित चार वर्षे कार्यकाल सिध्याएर थपिएको एक वर्षे कार्यकालको पछिल्लो छ महिना बाँकी रहँदा देउवाले धमाधम मनोनित गरेका हुन्।
यो पनि:
सोमबार कांग्रेसले गठन गर्यो पाँच विभाग, उद्योग व्यापार विभाग प्रमुखमा चीनकाजी श्रेष्ठ
कांग्रेसमा थपिए विभाग उपप्रमुख, सचिव र सदस्य (नामसहित)
महाधिवेशन प्रभावित पार्न सभापति देउवाले विधानविपरीत पद बाँड्ने काम गरिरहेको पौडेलले बताए। सेतोपाटीसँग कुराकानी गर्दै सोमबार पौडेलले भने, ‘सभापतिजीले हाम्रा कुरा मान्नु भएन यसको परिणाम महाधिवेशनमा भोग्नु हुन्छ।’
देउवाइतर समूहका नेताहरू महाधिवेशनमा एक जना मात्रै सभापति उम्मेद्वार बनाउने पक्षमा छन्।
उनले सभापति देउवाले अरूका कुरा र सुझाव नसुनेर अटेरीपन देखाएको पनि आरोप लगाए।
‘सभापतिजीले अटेरी गर्नुभएको छ। विधानविपरीत उहाँका कदम पार्टी हितमा छैन। पार्टीलाई कमजोर गरेर आफू बलियो हुने राजनीति कुनै हालतमा पार्टी हितमा हुन्न,’ नेता पौडेलले भने।
पौडेलले महाधिवेशनका मुखमा सोमबार आफ्ना सात बुँदे दृष्टिकोण पनि सार्वजनिक गरेका छन्।
अहिले किन आफ्ना दृष्टिकोण सार्वजनिक गर्नुभएको? भन्ने सेतोपाटीको प्रश्नमा पौडेलले भने, ‘मैले यसअघि पनि राख्दै आएका दृष्टिकोणलाई आज पनि सार्वजनिक गरेको हुँ। कांग्रेस विचार शून्य भयो भन्नेहरूका लागि मेरो दृष्ट्रिकोण जवाफ हो।’
महाधिवेशनकै मुखमा आफ्नो धारणा राख्नुभएको हो भन्ने प्रतिप्रश्नमा नेता पौडेलले महाधिवेशन आउन धेरै समय नै बाँकी रहेको बताए।
‘क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंगिएका छैनन्। प्रतिनिधि आउने बेला पनि भएको छैन,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका र कांग्रेस कस्तो हुनुपर्छ भन्ने विचार मैले राखेको हुँ। यो हेरेर साथीहरूले विचार र मन्थन गर्नु हुनेछ भन्ने अपेक्षा छ।’
उनले आलोचकहरूले भनेजस्तो कांग्रेस विचार शून्य नरहेको पनि दाबी गरे।
‘कांग्रेस विचारहीन छैन भन्ने मैले राखेका दृष्ट्रिकोणबाट प्रष्ट हुन्छ,’ उनले भने, ‘पार्टी जीवनमा केहि न केहि चिन्तन होस्। मन्थन होस् भनेर सात बुँदा राखेको हुँ।’
यस्तो छ पौडेलले राखेका दृष्टिकोण:
१. पार्टीमा नवजीवन
“निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील कांग्रेसको निर्माण। सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि। देशभक्ति र फराकिलो राष्ट्रवादी विचार। संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस। न्याय, पारदर्शी म’ल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार।
२. लोकतान्त्रिक समाजवाद
उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन। युवा–केन्द्रित रोजगारी सिर्जना। श्रमको सम्मान गर्ने संस्कृति। एकीकृत सामाजिक सुरक्षा। सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र। जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य। मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य।
३. समुन्नतिका आधार
प्रविधिप्रति दक्ष नागरिक। स्वच्छ उर्जा। उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि। बहुआयामिक वातावरण–मैत्री पर्यटन। प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय। दूरी र लागत घटाउने पूर्वाधार।
४. हाम्रो बसोबास
स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल। स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान। नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।
५. व्यवस्थाको प्रश्न
सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना। मौलिक हक र विधिको शासनको प्रत्याभुति। भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन। बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति।
६. सामाजिक–धार्मिक सद्भाव
समाजका हरेक समुहबीच सहकार्य। सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण। सामाजिक पूँजीको जगमा सामुदायिक विकास।
७. परराष्ट्र सम्बन्ध
नेपालको अखण्डता र स्वाभिमानको रक्षा। बलियो अर्थ–कुटनीतिक अभ्यास। भाईचारामा आधारित असंलग्न नीति। बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन।