जनकपुरधाम उपमहानगरपालिकामा पछिल्ला तीन वर्षमा सात जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।
उपमहानगरपालिकाको चुनावताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृत थिए। त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी र पछिल्लो पटक गोपालप्रसाद रेग्मी आएका थिए।
यी सबै प्रमुख प्रशासकीय अधिकृतहरू बढीमा ७ महिनासम्ममात्र उपमहानगरमा काम गरे। त्यसपछि कतिपयले काम गर्न नसकेको भन्दै सरूवा मागेर गए, कतिलाई सरूवा गरियो।
उपमहानगरमा वर्षमा दुई वटा प्रमुख प्रशासकीय अधिकृत फेरिनु अस्वभाविक भएको टिप्पणी हुन थालेको छ।
अहिले त झन् जनकपुर उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ। कोरोना महामारीको यस्तो समयमा कर्मचारीका प्रमुख नै नहुँदा धेरै काम प्रभावित हुने वडाध्यक्षहरू बताउँछन्।
जनकपुर उपमहानगरमा चार महिना पनि नटिकेका पछिल्ला प्रमुख प्रशासकीय अधिकृत हुन्, गोपालप्रसाद रेग्मी। उनी झन्डै ६ महिनाअघि उपमहानगरको कार्यालयमा हाजिर भएका थिए।
चैत, वैशाख, जेठ र असार पुरै महिना कार्यालयमा काम गरे। साउन ७ गते बिदामा बसे। असार मसान्त सकिएलगत्तै बिदामा गएका उनी पुनः कार्यालयमा हाजिर भने भएनन्।
अहिले उनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका छन्। रेग्मी साउनमा सरूवा गराएर गएपछि जनकपुरधाम उपमहानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत कोही आएका छैनन्।
रेग्मीअघि प्रमुख कार्यकारी अधिकृत थिए, धर्मानन्द जोशी। उनी ठ्याक्कै एक वर्षअघि जनकपुर आएका थिए।
सामान्य प्रशासन मन्त्रालयलाई आग्रह नै गरेर उनी सरूवा गराएर जनकपुरधाम उपमहानगरपालिकामा हाजिर भएको बताउँछन्। उपमहानगरमा हाजिर हुँदा स्थानीय सरकारसँग मिलेर काम गर्ने सोचेका जोशीले दुई-चार दिन मेयरलगायत जनप्रतिनिधिको राम्रो सहयोग पाए।
उनी हाजिर भएको १०-१५ दिन भएपछि नगरप्रमुख लालकिशोर साहसँग अनमन सुरू भयो। सामान्य दर्ता चलानीको काम गर्दा पनि आफूलाई नराम्रो व्यवहार गरेको सम्झना जोशीलाई छ।
‘सामान्य दर्ता चलानीको काम गर्दा पनि अभद्र शब्द प्रयोग गरी बिना मेरो स्वीकृति दर्ता चलानीसमेत नगर्नु भन्दै चेतावनी दिनुहुन्थ्यो,’ उनले भने।
नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको गाडी आफ्नो निजी कामका लागि प्रयोग गर्न लैजाने गरेको पनि जोशी बताउँछन्।
‘मेयर साबको निर्देशनमा मेरो आवासबाट बिहान ५ बजे नै गाडी लगिन्थ्यो,' जोशीले भने ‘मेरो कार्यालय जाने बेलासम्म गाडी आउँदैन्थ्यो। म हिँडेरै कार्यालय जान थालें।’
चार महिना पनि काम गर्न नपाउँदै उनलाई जनकपुरधाम उपमहानगरबाट सरूवा गरी उदयपुरको बेलाका नगरपालिका पठाइयो। जोशीले अहिले महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्।
जोशी आउनुभन्दा अघि जनकपुरधामको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सीता परियार थिइन्। उनी २०७५ सालको पुसतिर जनकपुर आएकी थिइन्। ०७६ असार सकिए लगत्तै उनले आफ्नो अन्तै सरूवा गराइन्।
उनी पनि करिब ७ महिना प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर सरूवा भएकी थिइन्। कार्यालय स्रोतका अनुसार नगरप्रमुख साहको अनावश्यक दखल अन्दाजीकै कारण बाध्य भई उनले सरूवा गराएकी थिइन्।
'हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण तत्कालीन प्रशासकीय अधिकृत परियारले पटक-पटक प्रतिवाद गरिरहन्थिन् र अन्त्यमा सरुवा गराएर गइन्,' स्रोतले भन्यो।
जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्र भने विवादकै कारण प्रमुख प्रशासकीय अधिकृतको सरूवा नभएको बताउँछिन्।
‘सीताज्यूले म काठमाडौंमा कानुन पढ्दै छु, मेरो सरूवा गरिदिनुस् भनेर भन्नुभएको हो मलाई,’ उपप्रमुख मिश्रले भनिन् ‘धर्मानन्दज्यूको बारेमा मलाई जानकारी भएन, उहाँको सरूवा के कारणले भयो।’
केन्द्रीय सरकारले वर्षभरि कर्मचारी नपठाई पुसको अन्त्यतिर कर्मचारी पठाउँदै आएको र कर्मचारीहरू पनि असार मसान्त सकेलगत्तै सरूवा गराएर जाने गरेको उपप्रमुख मिश्रको भनाई रहेको छ।
वर्षमा २ वटासम्म प्रमुख प्रशासकीय अधिकृतको सरूवा हुनु आफैँमा लज्जास्पद रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह बताउँछन्।
यसबारे आफुहरूले बोर्ड बैठकमा जिज्ञासा राख्दा नगप्रमुख साहले केन्द्रबाट आएका कर्मचारीले आफूहरूलाई कामै गर्न नदिएको प्रतिक्रिया दिँदै आएको वडाध्यक्ष सिंहले बताए।
‘यस विषयमा मलगायत अन्य वडाध्यक्षले पटक-पटक मेयर साबलाई सोध्दै आएका छौँ तर उहाँको एउटै जवाफ हुन्छ केन्द्रले पठाएका सबै कर्मचारी विभेदकारी सोचका साथ यहाँ आउँछन्,’ सिंहले भने, ‘होलान् एक वा दुई वटा सबै त त्यस्तो नहोला नि!’
प्रशासन शाखाको हरेक काममा नगरप्रमुख साहको हस्तक्षेपकै कारण कर्मचारीहरू आजित भएर बस्न नमानेको वडाध्यक्ष सिंहको भनाइ छ।
वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले पनि आफूहरूले बोर्डको बैठकमा नगरप्रमुख साहसँग कुरा राख्दा उनले गोलमटोल जवाफ फर्काउँदै आएको बताए।
‘३ वर्षमा सात जना प्रमुख प्रशासकीय अधिकृतहरू सरूवा गराएर गइसकेका छन्,’ उनले भने ‘सबैले हाम्रो मेयर साबलाई कामै गर्न दिदैँनन् रे!’
प्रमुख साहले सबै कुरालाई समुदाय र राजनीति विभेदसँग जोड्दै आफैँले विवाद खडा गर्दै आएको वडाध्यक्ष जानकीरामको आरोप छ।
‘प्रमुख प्रशासकीय अधिकृत भनेको कानुन संगत चल्ने व्यक्ति हो, अब उहाँले कानूनमा नभएका कुरामा पनि सहीछाप लगाउन भन्नुहुन्छ,’ उनले भने ‘अधिकृतज्यूहरूले मान्नुहुन्न जसकारण मेयर र अधिकृतबीच विवाद हुन्छ र अन्ततगोत्वा कि त उनीहरूको सरूवा गरिन्छ कि त उनीहरू आफैँ गराएर जान्छ।’
नगरप्रमुख साह र प्रशासकीय अधिकृतबीचको विवादकै कारण आ–आफ्नो वडामा आएको लाखौँ रकम खर्च हुन नसकेर फ्रिज भएको वडाध्यक्षहरूको भनाइ रहेको छ।
कोरोनाका कारण गर्ने भनिएका कतिपय विकासका कामहरू हुन नसकेको वडाध्यक्ष जानकीरामले बताए।
आफ्नो वडामा आएको करिब साढे २३ लाख रूपैयाँ प्रमुख प्रशासकिय अधिकृत र मेयरबीचको मनमुटावकै कारण खर्च नभएर फ्रिज भएको उनले बताए।
'खर्च हुने नदेखेर बोर्डको बैठकले निर्णय गरी ती रकम विपद् व्यवस्थापन कोषमा राख्ने निर्णय गर्यौँ,’ जानकीरामले भने ‘हामीले त रकम कोषमा राख्नका लागि पठायौँ तर प्रशासकीय अधिकृत र प्रमुख बीचको तानातानकै कारण त्यो रकम कोषमा राखिएन र फ्रिज भयो।’
कुनै पनि निजामती कर्मचारी विशेष परिस्थितिबाहेक सरूवा भएर आएको अवधिदेखि कम्तिमा एक वर्ष काम गर्नुपर्ने हुन्छ। तर जनकपुरधाम उपमहानगरपालिकामा भने त्यसो हुन सकेको छैन।
स्थानीय तहको निर्वाचनपछि स्थानीय तह कार्यान्वयनमा आएको आउँदो असोजमा तीन वर्ष पूरा हुन लागेको छ। यसरी हेर्ने हो भने यहाँ बढीमा तीन वा त्यस्तै परे चारजना प्रशासकीय अधिकृतले काम गर्नुपर्ने हो।
जनकपुरधाममा किन तारन्तार प्रमुख प्रशासकीय अधिकृत फेरिइरहन्छन् भन्नेबारे सोध्न सेतोपाटीले निरन्तर सम्पर्क गर्दा पनि मेयर साह सम्पर्कमा आउन चाहेनन्।