देश नै कोरोना महामारीसँग जुधिरहेका बेला धनुषामा भने त्यसको बेवास्ता गर्दै सयौंको भीड जम्मा गरेर जनता समाजवादी पार्टीले कार्यक्रम गरेको छ। कार्यक्रममा भौतिक दूरीको त कुरै छाडौं, कतिपय सहभागीले मास्क समेत लगाएका थिएनन्।
जसपाले गरेको पार्टी प्रवेश कार्यक्रममा शुक्रबार धनुषाको सबैलामा एकै ठाउँ सयौंको भीड लागेको हो।
त्यहाँ वरिष्ठ नेता राजेन्द्र महतो, प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नरेश राय, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, संघीय सांसद अनिल कुमार झा, उमाशंकर अरगरिया, प्रदेश सांसद मनिष सुमन, सरिता साह, रामअशिष यादव, परमेश्वर साह लगायत उपस्थित थिए।
महामारीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका बेला शक्तिपिठ तथा मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको थियो।
तर एउटा राजनीतिक दलले सयौंको यो भीड जुटाउँदा न स्थानीय प्रशासनले नै देख्यो न गृह मन्त्रालयले नै।
यसबारे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई सोध्दा उनले आफूलाई पार्टी प्रवेश कार्यक्रमबारे नै जानकारी नरहेको प्रतिक्रिया दिए। ‘पार्टी प्रवेश भइरहेको छ भने जानकारी गराउनुस् अहिले नै बन्द गराउँछु’ उनले भने।
केही दिनअघि पनि पूर्व मन्त्री मातृका यादवको अगुवाईमा भएको पार्टी प्रवेश कार्यक्रममा यस्तै भीड लागेको थियो। यसरी राजनीतिक कार्यक्रम गरिँदा हुने कोरोनाको जोखिमबारे कसैले चासो लिएको देखिँदैन।
कोरोना महामारीका बेला जनतालाई सचेतना जगाउनुपर्नेमा राजनीतिक दलले उल्टै यसरी जोखिम बढाउनु र प्रशासनले समेत आँखा चिम्लनुले महामारीलाई खेलवाड गरेको स्पष्ट बुझ्न सकिन्छ।