नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सुनियोजित रुपमा आफूविरूद्ध नाराबाजी गरिएको बताएका छन्।
शनिबार अपराह्न नेकपा राप्ती नगर कमिटीको बैठक सम्बोधन गर्दै गर्दा पाण्डेविरूद्ध नाराबाजी भएको थियो। नाराबाजीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरू सहभागी थिए।
सेतोपाटीसँग कुरा गर्दै पाण्डेले भने, ‘गलत तरिकाको विरोध र अवरोधलाई राजनीतिक रुपमै खण्डन गर्छौं।’
पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर हुन्। उनको कार्यक्रममा विरोध गर्नेहरू प्रधानमन्त्री केपी ओली पक्षधर थिए।
‘इतिहासमा यस्ता गैरराजनीतिक चरित्र समाप्त भएको देखेको छु,’ पाण्डेले भने।
पार्टीमा ओलीको गतिविधिको तीखो आलोचना गर्ने पाण्डेलाई ओली समूहबाटै अवरोध भएपछि नेपालले विज्ञप्ति निकालेरै विरोध गरेका छन्। उनले सो समूहलाई कारबाही गर्नसमेत माग गरेका छन्।
‘यो राजनीतिक तरिका हैन। विचार, धारणा नै राख्न नपाउने किसिमले वातावरण भड्काए,’ पाण्डेले भने, ‘त्यो कमिटीको बैठकभित्र पसेर हल्ला गर्ने अधिकार उनीहरूलाई थिएन। त्यसैले यो सुनियोजित भड्काउ र विरोध थियो।’
पार्टीको नगरकमिटी राप्तीको बैठकका लागि पूर्वअर्थमन्त्री पाण्डेलगायत जिल्लामा प्रदेश र केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरू, जिल्ला समितिका नेता, नगर प्रमुखहरूलाई बोलाइएको थियो।
‘हाम्रो ८१ सदस्यीय कमिटी र हामीभन्दा उपल्लो समितिका व्यक्तिहरूलाई निमन्त्रणा थियो,’ नगर अध्यक्ष इमानसिंह लामाले भने, ‘हामीले बोलाउँदै नबोलाएका व्यक्तिहरू पनि बैठकमा छिरेछन्।’
उनले ती व्यक्तिहरू नियोजित रुपमै बैठकमा पसेर बिथोल्ने प्रयास गरे पनि बैठक भने सबै विषय टुंग्याएर सम्पन्न भएको बताए। उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डे प्रमुख अतिथि थिए। उनी केही दिनयता चितवनमा कार्यकर्ता भेटघाटमा सक्रिय थिए।
आफ्नै निर्वाचन क्षेत्रमात्रै नभएर उनको निवासकै नजिक उक्त कार्यक्रम भइरहेको थियो। राप्ती नगरपालिकाकी मेयर प्रभा बराल पनि कार्यक्रममा उपस्थित थिइन्। केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्यहरू पनि थिए।
आसन ग्रहण कार्यक्रम सकिएपछि मन्तव्य सुरू भयो। अरू अतिथिको मन्तव्य सकिएपछि प्रमुख अतिथिको पालो आयो।
‘एक्कासि केही युवाहरू कराउन थाले,’ नगरपालिकाका उपमेयरसमेत रहेका नगर अध्यक्ष लामाले भने, ‘नगरपालिकाभन्दा बाहिरका मान्छे आएर नाराबाजी गर्दै बैठक प्रभावित बनाउन खोजे।’
नेता पाण्डेका अनुसार नाराबाजी गर्ने समूहमा हाल सो प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार रहेका नेकपा एमालेको चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरजको नेतृत्व थियो।
‘सुरजसँगै, प्रकाश कालाखेती र केदार आचार्य पनि थिए,’ उनले भने। सुरज ३ नम्बर प्रदेशका कृषि मन्त्री दावा लामाका ज्वाइँ र स्वकीय सचिव पनि हुन्।
‘पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको रायको विषयमा म कुरा राख्दै थिएँ,’ पाण्डेले भने, ‘फाउन्डेसन नेताका नाममा भएर झगडा भए, त्यसैले खारेज गर्ने निर्णय पार्टीको सर्वसम्मतिले भयो भन्दै थिएँ, एक्कासि अर्को पक्षका आएर होहल्ला गर्न थाले।’
पाण्डेका अनुसार उनीहरू मतदाता भए पनि सो कमिटीका जिम्मेवार सदस्य थिएनन्, केवल कार्यक्रम भड्काउने किसिमबाट आएका थिए।
‘बैठक कक्षभित्र पसेर उनीहरूले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, केपी ओली जिन्दावाद, पार्टी एकता जिन्दावाद भन्ने नारा लगाए,’ पाण्डेले भने, ‘अराजक किसिमबाट मानिसहरू प्रस्तुत भएपछि बोल्दै गर्दा कार्यक्रम छोडेर हिँड्नुपर्ने वातावरण बन्यो।’
नेकपा राप्ती नगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले मन्तव्य राखिरहँदा कमिटीभन्दा बाहिरका केही अराजक व्यक्तिको हुल प्रवेश गरी नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेको भन्दै निन्दा गरेको छ। अध्यक्ष लामा र सचिव रामचन्द्र पाठकले जारी गरेको विज्ञप्तिमा कमिटीको पद्धति, विधानभन्दा बाहिर गई निर्देशित रुपमा उक्त कार्य गरिएको भन्दै छानबिन गरी कडा कारबाही गर्न जिल्ला समितिसँग माग गरिएको छ।
पार्टीका पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले भने निर्देशित नभई युवा तथा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा गरेको विरोध गरेको दाबी गरे।
‘नेता पाण्डेले सबै समस्याको जड ओली हो भन्न थालेपछि युवाहरू आक्रोसित भएका हुन्,’ थपलियाले भने, ‘उनीहरूले पार्टी अध्यक्षविरूद्धको लान्छाना सहन नसकेपछि अनुशासित रुपमा विरोध गरेका हुन्।’
थपलियाले पूर्वअर्थमन्त्रीजस्तो मान्छे प्रधानमन्त्रीको विषयमा मनलाग्दी भन्दै हिँड्न मिल्ने तर युवाहरूले उनको विरुद्धमा केही पनि बोल्न नमिल्ने भन्ने हुन्छ र भन्दै प्रश्न गरे।
‘तर पनि युवाहरूले सुरेन्द्र पाण्डेको विरोधमा केही नभनी पार्टी एकताको पक्षमा नारा लगाएका हुन्, यो स्वभाविक हो,’ उनले भने।
नगर कमिटीको बैठकमा आफूलगायत पार्टीको अग्रज नेता काशीनाथ अधिकारी, सीता पौडेल, विजय सुवेदीहरुलाई खबरै नगरेको भन्दै थपलियाले एक पक्षीय रुपमा बैठक राखिएको आरोप लगाए।
‘त्यो प्रधानमन्त्रीविरूद्ध प्रचार गर्न डाकिएको भेला थियो,’ उनले भने, ‘केपी ओलीका लागि मर्न पनि तयार युवाहरूले त्यसलाई सहन सकेनन्, भएको त्यति हो।’