सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन देखिएपछि आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किएको छ।
बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा टोली फर्किएको स्रोतले जानकारी दिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं ओर्लिएको थियो। काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको थियो। उनीहरूले विमानस्थलबाट बाहिर निस्कँदा पनि पिपिई सेट लगाएका थिए।
आइतबार काठमाडौं आएपछि नै चिनियाँ टोलीले राजनीतिक भेटघाट सुरू गरेको थियो। सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको टोलीले सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो।
काठमाडौंमा रहँदा चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड-नेपाल)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो।
नेकपाका नेताहरूसँगको भेटमा चिनियाँ टोलीले अझै पनि कतै मिल्ने ठाउँ भए तपाईंहरू मिल्नुस् भन्ने सुझाव दिएको बताइएको छ।
यो पनि पढ्नुस्
उत्तर-दक्षिणबाट चार्टर्ड जहाज आउने, हामीले 'थाहै' नपाउने