नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापना नभए मुलुक गम्भीर विग्रहतिर जाने खतरा औंल्याउँदै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।
आज धरान उपमहानगरले आयोजना गरेको प्रजातन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने,‘म सांसद छैन तर संसद पुनर्स्थापना भनिरहेको छु। अहिले चुनाव हुने हो भने फाइदा मलाई हुन्छ। तर, व्यक्तिगत फाइदा हेर्ने कि संविधान र लोकतन्त्र ?’
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमविरूद्ध आन्दोलनको विकल्प नरहेको प्रष्ट अडान राख्दै आएका पौडेलले लोकतन्त्र र प्रणाली बचाउन अत्यावश्यक रहेको पनि उल्लेख गरे।
‘पार्टीभित्रको झगडा मिलाउन नसक्दा प्रधानमन्त्रीले संसद भंग गरेका छन्’, उनले भने, ‘यसले सबैलाई धोका भएको छ। त्यसैले सर्वोच्च अदालतले विग्रहतिर जानबाट जोगाउनुपर्छ।’
आफू पदमा नरहने खतरा देख्दा प्रणाली नै भत्काउने चरित्र प्रधानमन्त्री ओलीले देखाएको भन्दै पौडेलले आन्दोलनको विकल्प नभएकोमा जोड दिए।
‘आफूले चलाउन मिलाउन नसक्ने हो भने राजीनामा दिनुपर्छ, मैदान छाड्नुपर्छ’, उनले भने ‘आफ्नो अयोग्यताको मार प्रणाली र संविधानमा पार्न मिल्दैन। यसलाई अदालतले बुझ्नेछ।’