प्रदेश प्रमुख 'सेरेमोनियल हो तर इनएक्टिभ होइन' भन्ने अभियानसहित प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज देशका बाँकी प्रदेश प्रमुखहरूसँगको भेटघाटमा निस्किएका छन्।
प्रदेश प्रमुखको सपथ ग्रहणपछि कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेर आफ्नो काम सुरू गरेपछि अहिराज देशभर चर्चामा आएका थिए।
यसअघिका प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएपछि गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए।
दुई साता अघिमात्रै प्रदेश प्रमुख नियुक्त भएका अहिराज अहिले देशका अरू प्रदेश प्रमुखहरूसँगको भेटघाट र छलफलमा निस्किएका छन्।
बुधबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवसँग भेटघाट गरेका अहिराजले जानकी मन्दिर र पृथ्वीनारायण शाहको तस्वीर चिनोको रूपमा प्रदेश प्रमुख यादवलाई प्रदान गरेका थिए।
प्रदेश प्रमुख यादवसँगको भेटघाटपछि बिहीबार बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अहिराजले जसको अभियान र योगदानको कारण अहिले सिंगो नेपाल बनेको छ उनैको तस्वीरलाई साक्षी राखेर आफूले काम सुरू गरेको र यो अभियान देशव्यापी बनाउने समेत बताए।
‘मैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरलाई साक्षी राखेर काम सुरू गरेँ, अब मेरो अभियान सबै राष्ट्रप्रेमी र राष्ट्रसेवकहरूले पनि राष्ट्रनिर्मातालाई साक्षी राखेर काम गर्नुस् भन्ने हो,’ उनले भने।
उनले राज्यबाट पत्ताइएका निजामती कर्मचारीहरूलाई नपत्ताएर छुट्टै स्वकीय सचिवालय राख्ने पक्षमा आफू नरहेको पनि बताए।
आफूले लुम्बिनी प्रदेशका प्रमुखलाई जानकी मन्दिरसँगै राष्ट्रनिर्माताको तस्बिर प्रदान गरेको र यादवले पनि महत्वका साथ बैठक कक्षमा तस्बिर टाँगेको र त्यो तस्बिर त्यहाँ सधैं रहिरहनेमा आफू विश्वस्त रहेको समेत बताए।
मधेस मामिलामा विद्यावारिधी समेत गरेका अहिराजले देश र राष्ट्रभन्दा ठूलो अरू केही नभएको र आफ्नो प्रदेशका सबै राष्ट्रसेवकहरूलाई शिरमा देश र मनमा मधेस राखेर काम गर्न आग्रह गरेको बताए।
‘देश र राष्ट्रभन्दा ठूलो अरू केही छैन त्यसैले शिरमा देश र मनमा मधेसलाई राखेर राष्ट्रको सेवामा लाग्नुस् भनेर सबै राष्ट्रसेवक कर्मचारीहरूलाई भन्दै आएको छु,’ अहिराजले भने।
प्रदेश प्रमुख सेरेमोनियल भए पनि अरू निकायभन्दा झनै एक्टिभ, अनुशासित र सतर्क हुनुपर्ने उनको भनाइ छ।
‘प्रदेश प्रमुख सेरेमोनियल हो तर इनएक्टिभ होइन, अभिभावक आफ्नो परिवारका अरू सदस्यभन्दा बढी सक्रिय, अनुशासित र सतर्क हुन सकेन भने त्यो परिवारलाई बलियो बनाउन सकिँदैन, त्यसैले प्रदेश प्रमुख सक्रिय हुन जरूरी छ,’ उनले भने।
प्रदेश प्रमुखको हैसियतले हरेक क्षेत्रमाथि कसरी निगरानी गर्ने भन्नेबारे सबै प्रदेश प्रमुखहरूबीच छलफल गर्नुपर्ने उनले बताए।
प्रदेश प्रमुखले गर्न मिल्ने र गर्न नमिल्ने भन्नेबारे सात वटै प्रदेश प्रमुखले एउटै धारणा बनाउने गरी टिओआर तयार गरिएको र त्यसबारे छलफल गरी साझा निष्कर्ष निकालिने पनि उनले बताए।
उनले हरेक प्रदेश प्रमुखले कम्तिमा महिनामा एकपटक राष्ट्रपतिलाई आफ्नो प्रदेशको बारेमा रिपोर्टिङ गर्नुपर्ने र दुई महिनामा सबै प्रदेश प्रमुखहरूले सामूहिक छलफल र रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औंल्याए।
अहिराजले सबै प्रदेश प्रमुखहरूको भेटघाटपछि सामूहिक भेटघाट र छलफलको लागि जनकपुरमा निम्तो समेत दिँदै हिँडेको बताए।
उनले राजनीतिक स्वतन्त्रता र राजनीतिक सवलीकरणलाई उच्च आदर गर्दै प्रदेशका नागरिकका समस्या, राज्यको स्रोत र प्रदेशभित्रका गतिविधिमाथि निगरानी हुनुपर्ने बताए।
‘कुनै पनि नागरिकलाई केही कमी भयो कि, राज्यको पैसा कहाँ कसरी लगानी भइरहेको छ र आफ्नो प्रदेशभित्र भइरहेको हरेक गतिविधिमाथि प्रदेश प्रमुखको निगरानी हुनुपर्छ, तर राजनीतिक स्वतन्त्रता र राजनीतिक सवलीकरणलाई भने उच्च आदर गर्न जरूरी हुन्छ।’
उनले विकासका कुराहरू एकैरातमा एकैपटक हुन नसक्ने भन्दै भौतिक विकास र चेतनाको विकास सँगसँगै अगाडि बढ्न नसके विकासले पूर्णता नपाउने उल्लेख गर्दै नागरिकमा चेतनाको विकास गराउने आफ्नो प्रयास रहने समेत बताए।
‘हरेक हिसाबले म ७७ वटै जिल्लालाई जोड्ने अभियानमा छु, मेरो पद रहला नरहला, तर नागरिकको हैसियतले ७७ वटै जिल्ला जोड्ने मेरो प्रयास हो, जसको सुरूआत बुद्धजन्मस्थल लुम्बिनीबाट गरेको छु,’ उनले भने।
प्रदेश प्रमुख अहिराज बिहीबार गण्डकी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाटका लागि प्रस्थान गरेका छन् भने शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गर्न सुर्खेत जाने बताएका छन्।