प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफ्नो दलले अविश्वासको प्रस्ताव ल्याउने संकेत गरेका छन्। 
बिहीबार दिउँसो बुढानिलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकमा उनले ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे छलफल गरेका छन्।
संसदीय दलका नेतासमेत रहेका देउवाले ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजानेबारे छलफल गर्न शुक्रबार दिउँसो १ बजे संसदीय दलको बैठकसमेत बोलाएका छन्।
संसदीय दलको बैठकमा आइतबार बस्ने प्रतितिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरी रणनीति तय गर्ने पक्षमा देउवा छन्।
प्रतिनिधि सभामा कांग्रेसको सिट संख्या ६३ छ। थौरै सिट भएका देउवाले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव राख्ने गृहकार्य किन अगाडि बढाइरहेका छन्? कांग्रेसले राखेको अविश्वास प्रस्ताव पारित होला त? भन्ने प्रश्नहरू पनि छन्। 
देउवा भने कांग्रेसले राखेको अविश्वास प्रस्ताव पारित हुनेमा ढुक्क छन्। प्रचण्ड-नेपाल समूहले गर्छु भनेको सहयोगले देउवामा विश्वास बढेको हो। 
देउवानिकट स्रोत भन्छ, ‘सभापतिजीलाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्ने प्रस्ताव प्रचण्ड-नेपालको छ।’
त्यसो त प्रधानमन्त्री ओलीले पनि पनि मिलेर जानुपर्छ भनेर देउवालाई सन्देश पठाइरहेका छन्।
ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेको हुनाले प्रचण्ड-नेपाल पक्षलाई सघाउनु उत्तम हुने र प्रचण्ड-नेपालले आफूलाई प्रधानमन्त्री मान्ने भएकाले देउवाले उनीहरूको साथ लिने ती नेताले बताए।
नेकपा विधिवत् नफुटे पनि दुबै पक्षले आफूलाई विभिन्न प्रस्ताव गरिरहेको देउवाले शीर्ष नेतालाई जानकारी गराएका छन्। 
‘मलाई जहिले पनि प्रधानमन्त्री हुन हाम फाल्छ, हतार गर्छ भन्छन्। यसपटक मैले हतार गरेको छैन है, व्यापक छलफल गरौं- के गर्दा लोकतन्त्र, जनता र पार्टीलाई फाइदा पुग्छ,’ देउवाले बिहीबार शीर्ष नेतासँग गरेको कुराकानीबारे उनीनिकटका एक नेता भन्छन्, ‘तपाईंहरू धारणा राख्नुस्, सुझाव दिनुस्। म त अन्तिममा बोल्ने हो।’
तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगतमा कांग्रेसलाई गरेका ‘गाली र धोका’ सम्झेर सचेत हुन पनि देउवाले नेताहरूलाई भनेका छन्।
ओलीले ‘देउवा नै कांग्रेसबाट अन्तिम प्रधानमन्त्री’ भनेको र प्रचण्डले ओलीसँग गठबन्धन गर्दै पार्टी एकतासम्म गरेको विषयलाई देउवाले ‘धोका’का रूपमा लिएका छन्।
‘प्रधानमन्त्री बनिदिनुपर्यो भनेर नेकपाका नेताहरूले सुन, हीरा वा मोतिजडित किस्तीमा राखेर सन्देश पठाइरहेका छन्,’ ती नेता भन्छन्, ‘शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री, समवेदना भन्नेहरू अहिले विभिन्न प्रस्तावका किस्तीहरू बोकेर कुदिरहेछन्। प्रधानमन्त्री खाने कि नखाने देउवाले हतार गरेका छैनन्।’
नेकपाभित्र विवाद भएको र देशलाई निकास दिन कांग्रेसले नेतृत्व लिनुपर्ने भएको भन्दै देउवा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा आन्तरिक छलफलमा जुटेको ती नेता बताउँछन्।
‘सरकारविहीन हुने अवस्था आउन दिन त भएन भन्ने हिसाबले पनि कांग्रेस अगाडि बढेको हो,’ ती नेताले थपे, ‘ओलीले संविधान, लोकतन्त्र र व्यवस्थामाथि नै प्रहार गरेकोले यो बेला अविश्वास प्रस्ताव किन नल्याउने भन्ने बहस पनि छ।’
कांग्रेसले आइतबार बस्ने प्रतिनिधि सभा बैठकअगाडि अविश्वास प्रस्तावबारे ठोस निर्णय गर्ने सम्भावना छैन। बिहीबार देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले त्यस्तै संकेत गरेका थिए।
‘कांग्रेसले हतारो र आवेगमा निर्णय गर्दैन। देश र संविधानलाई केन्द्रमा राखेर परिपक्क ढंगले ठिक समयमा ठिक निर्णय राख्ने हो। त्यसरी निर्णय राख्दै गर्दा इन्जुरी टाइममै पोलभित्रै गोल गर्ने गरी निर्णय गर्छ,’ शर्माको भनाइ थियो।
साथै शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्कढक्याइ रहे पनि आफूहरू झ्यालमा बसेर हेरिराखेको बताएका छन्।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई निरन्तरता दिन नसकिने बताउने गरेका छन्। कांग्रेसले नेतृत्व लिनभन्दा पनि बरू अरूलाई सघाएर जाँदा भूमिका अझै धेरै बढ्ने तर्क उनको छ। सभापति देउवाले पार्टीले एकढिक्का भएर निर्णय गरेपछि आगामी कदम चाल्ने बताइरहेका छन्।