अर्थमन्त्री विष्णु पौडेलले विकासका काममा पर्दा पछाडि बसेर अवरोध गर्नेहरूलाई सतहमा आउन चुनौती दिएका छन्।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा गरिएको अवरोधपछि लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले विकासका काम विथोल्न पर्दा पछाडि बसेर जति प्रयास गरिए पनि त्यो सफल नभएको र अब सतहमा आउन चुनौती दिए।
पौडेलले विकासका काममा योगदान गर्न नसक्नेहरूले पर्दा पछाडि बसेर स्थानीयलाई भ्रम छर्ने र विकासका काममा अवरोध पुर्याउन खोजेको बताए।
विकास र समृद्धिको यात्रामा रुपन्देहीले अहिलेसम्म बनाएको पहिचानलाई औद्योगिक क्षेत्र शिलान्यासमा गरिएको अवरोधले धुमिल बनाएको भन्दै उनले जनतालाई अनावश्यक भ्रम सिर्जना गरेर विकासका विरूद्धमा नउचाल्न आग्रह गरे।
उहाँले औद्योगिक क्षेत्र बनाउँदै गर्दा त्यहाँका अव्यवस्थित बसोबासी र सुकुम्बासीसँगै देशभरका भूमिहीनहरूलाई पनि जग्गाको मालिक बनाउने काम यही सरकारले गर्ने दाबी गर्दै कसैको व्यक्तिगत स्वार्थका पछाडि नलाग्न स्थानीयबासीलाई आग्रह गरे।
‘तपाईंहरूलाई कसले विकासका विरूद्धमा भड्काएको छ नभड्किनुहोस्, तपाईंहरूको जिम्मा सरकारले लिन्छ हामी तपाईंहरूलाई जमिनको मालिक बनाउने जिम्मा लिन्छौं’,उनले भने।
अर्थमन्त्री पौडेलले आफ्नो व्यक्तिगत स्वार्थका लागि नागरिकमा भ्रम सिर्जना गरि उक्साउँदैमा विकासको यात्रा नरोकिने भन्दै पर्दा पछाडि बसेर विकासका विरूद्धमा लाग्नेहरूको अनुहार सार्वजनिक गरिदिन पत्रकारहरूलाई आग्रह गरे।
‘जनतालाई भ्रम सिर्जना गरेर हाम्रो विकासको गति रोकिँदैन, अघिल्लो साता कञ्चनपुरबाट सुरू भएको सातवटै प्रदेशमा एक/एक वटा औद्योगिक क्षेत्र बनाउने गरी सुरू गरिएको शिलान्यासको काम आज सकिएको छ, यो रुपन्देहीबासीको लागि मात्र नभएर देशबासीको लागि खुसीको दिन हो,’ पौडेलले भने।
अर्थमन्त्री पौडेलले सरकारले व्यक्तिको नाममा रहेको जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न लागेको नभई औद्योगिक व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा निर्माण गर्न लागेको स्पष्ट पारे।
उनले मोतिपुरलाई औद्योगिक क्षेत्रको माध्यमबाट नामजस्तै मोती उत्पादन गर्ने स्थल बनाउने दाबी गरे।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी भित्रै र बाहिर रहेको विकास विरोधी प्रवृत्तिले मुलुकलाई अगाडि बढ्न नदिने बताए।
भट्टले विकास विरोधी जनप्रतिनिधिहरूबाटै उचालिएर कार्यक्रममा अवरोध पु–याउन खोजिएको आरोप लगाए।
भट्टले विकास भएन भनेर गुनासो गर्ने तत्वले नै स्थानीयलाई उचालेर भ्रम छाडिएको भन्दै यस्तो कार्यले विकास होइन ध्वंस मात्र हुने बताए।
उनले विकासको कामलाई अवरोध गर्ने तत्वका विरूद्ध लाग्न सबैलाई आग्रह पनि गरे।
‘कार्यक्रम रोक्न भन्दै सामान्य फोनसम्म आएको थियो, तर यतिसम्म हुन्छ होला भन्ने लागेको थिएन, भट्टले भने,‘आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि गरिने विकास विरोधी कार्यहरूको जनताले प्रतिकार गर्नु पर्छ ।’