प्रदेशसभा २ को प्रदेशसभा सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको २ दिन नबित्दै सत्तारुढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।
प्रदेशसभा सचिवालयले २ दिन अगाडि मात्रै वैशाख ९ गते भित्रै नाम र स्थायी राजधानीका लागि दल तथा प्रदेशसभा सदस्यलाई आ–आफ्नो प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो।
सत्तारुढ जसपा तथा माओवादी केन्द्रले प्रदेशको नाममा ‘मधेश’ प्रदेश प्रस्ताव दर्ता गराएको छ। जसपाको तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले प्रदेशको नामका लागि प्रस्ताव दर्ता गराएका हुन् प्रस्तावलाई बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन् ।
त्यस्तै जसपाको तर्फबाट स्थायी राजधानीका लागि जनकपुरधाम शहरी क्षेत्र सहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकि परिक्रमा मार्ग क्षेत्र भित्र प्रस्ताव दर्ता गराइएको छ।
राजधानीका लागि जसपाको तर्फबाट परमेश्वर साहले प्रस्ताव गरेका हुन्। उनको प्रस्तावलाई चमेली देवी दास, सन्चमाया मोक्तान र निरा साहले समर्थन गरेका हुन्।
यता माओवादी केन्द्रले राजधानीका लागि जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरिएको हो।
माओवादी केन्द्रको तर्फबाट दलका नेता भरतप्रसाद साह प्रस्तावक छन् भने उनको प्रस्तावलाई उपनेता जगतप्रसाद यादव र सचेतक दिलीप साहले समर्थन गरेका हुन् ।
दुबै दलको नाम र स्थायी राजधानीको प्रस्ताव लगभग समान रहेकाले भविश्यमा सहकार्य गरेर अगाडि बढ्नसक्ने माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले बताए ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले र नेपाली कांग्रेसले भने भने अझै प्रस्ताव दर्ता गराएको छैन।