माओवादी केन्द्रले एमालेमा लागेपछि रौतहटका सात जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ।
माओवादीले दुई मेयर र पाँच उपमेयरलाई एमाले पार्टीमा लागेको भन्दै पार्टीबाट निष्कासन गरेको हो।
माओवादी केन्द्रबाट विजय भएका रौतहट मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाकाका उपप्रमुख सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवीलाई पार्टीबाट निष्कासन गरिएको माओवादी केन्द्रका जिल्ला सचिव देवेन्द्र पटेलले जानकारी दिए।
सर्वोच्च अदालतले नेकपा पार्टी खारेज गरेपछि दुई अलग-अलग पार्टीमा परिणत भए पनि माओवादी केन्द्रको तर्फबाट विजयी भएका जनप्रतिनिधिहरू एमालेकै विभिन्न कार्यक्रमहरूमा गइरहेको सूचना आफूहरूले पाएपछि उनीहरूलाई तत्कालै त्यसो नगर्न पटक/पटक आग्रह गरे पनि अटेर गरेपछि कारबाहीस्वरूप पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको सचिव पटेलले बताए।
‘माओवादी केन्द्र र एमाले दुई अलग-अलग पार्टी भए पनि हाम्रा पार्टीबाट जनप्रतिनिधिमा जित्नुभएकाहरू एमालेका विभिन्न कार्यक्रममा सरिक हुँदै आउनुभएको थियो,’ सचिव पटेलले भने, ‘सुरूमा उहाँहरूलाई मौखिक रूपमा पार्टीको हितविपरीत हुने कार्य नगर्न आग्रह गर्यौं। त्यसका बाबजुद उहाँहरूबाट ती कामहरू भइरह्यो।’
सचिव पटेलका अनुसार ती सात जना जनप्रतिनिधिहरूलाई गत वैशाख १० गते स्पष्टीकरण सोधिएको थियो। तर उनीहरूले पार्टीका जिल्ला सचिव पटेललाई नै कानूनविपरीत स्पष्टीकरण सोधेको भन्दै मोसो दल्ने चेतावनीसहितको जवाफी पत्र पार्टीको जिल्ला कार्यालय रौतहटमा बुझाएका थिए।
‘पार्टीबाट लिखित रूपमा स्पष्टीकरण सोधिँदा उहाँहरूले कुन आधारमा कारबाही गरिएको हो भन्दै मसँग नै स्पष्टीकरण सोधेकोजस्तै आशयसहितको जवाफी पत्र पठाउनुभयो,’ उनले भने, ‘यहाँसम्मकी जिल्ला सचिवलाई मोसो दल्नेसम्मको चेतावनी दिनुभयो। अन्त्यमा हामीले उहाँहरूले पठाएका उक्त जवाफी पत्र पार्टी केन्द्रीय कार्यालयमा पठाइदिएका हौं।’
यता कारबाही स्वरूप पार्टीबाट निष्कासन गरिएका कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहाले भने आफूहरूलाई कानूनविपरीत पार्टीबाट निष्कासन गरिएको भन्दै यसका लागि आफूहरू अदालत जाने प्रतिक्रिया दिएका छन्।
उनका अनुसार पार्टीबाट निष्कासन गर्नुभन्दा एकदिन पहिलेमात्रै नगरप्रमुख कुशवाहासहितका अन्य जनप्रतिनिधिहरूलाई स्पष्टीकरण सोधिएको थियो। जसको उनीहरूले जवाफ समेत पठाएका थिए।
तर स्पष्टीकरणको जवाफ चितबुझ्दो नभएको भन्दै उनीहरूलाई पार्टीमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।
‘हामीलाई कारबाही गर्नुभन्दा एक दिन पहिलेमात्रै स्पष्टीकरण सोधिएको हो,’ नगर प्रमुख कुशवाहाले भने, ‘ता पनि हामीले जवाफ पठाएकै हौं तर उहाँहरूलाई उक्त जवाफले चित्त बुझेन रे, अब पार्टीबाट भएको अन्यायलाई अदालत पुगेर न्यायमा परिणत गराउने छौं।’
यस्तै, कारबाहीमा परेकी रौतहटकै माधवनारायण नगरपालिकाकाका उपप्रमुख सिमल साहले भने पार्टीले कारबाही गरेको स्वीकार गरे पनि के कारण निष्कासन गरिएको हो भन्ने प्रश्नको जवाफ दिन मानिनन्।
‘हो मलाई पार्टीबाट निष्कासन गरिएको हो,’ भन्दै नगर उपप्रमुख सिमल साहले भनिन्, ‘अहिले एउटा बैठकमा छु पछि फोन गर्नु होला।’
कारबाहीमा पर्नेमध्ये रौतहट मौलापुरकी नगरप्रमुख रिनाकुमारी साह भने सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनीहरू सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।