प्रदेश-२ का अस्पतालहरुले कोरोनाको पहिलो लहरको नियन्त्रणका लागि गरेका कामहरूको भुक्तानी अझै पाएका छैनन्।
कोरोना संक्रमण नियन्त्रणका लागि पहिलो लहरको समयमा अस्पतालहरूले आइसोलेसन निर्माण, बिरामीका लागि उपलब्ध गराइएको औषधी, बिरामीहरूको खानावापतको खर्च, करारमा खटेका स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता भुक्तानी हुन अझै सकेको छैन।
प्रदेश-२ का आठ वटै जिल्लामा कोरोना महामारीको समयमा प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञापन गरी २०७७ असार मसान्तसम्मका लागि नियुक्त दिई करारमा खटाइएका स्वास्थ्यकर्मीलाई पुनः आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णय गरेको थियो।
तर, मन्त्रालयले थपेको अवधिको भत्ता भने अहिलेसम्म उपलब्ध गराउन सकेको छैन।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको मात्रै २ करोड ९८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। त्यस्तै, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालको २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालका लेखा अधिकृत जितेन्द्रप्रसाद यादवका अनुसार कोरोनाको पहिलो लहरको समयमा खटाइएका १ सय १२ जना स्वास्थ्यकर्मीहरुको चार महिनाको जोखिम भत्ता २ करोड १५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।
‘महामारीको समयमा आफ्नो ज्यानको जोखिममा राखेर दिन रात बिरामीहरुको सेवामा खटिएका करारका स्वास्थ्यकर्मीहरूको तलब स्केल बराबरको चार महिनाको जोखिम भत्ता भुक्तानी हुन बाँकी छ,’ लेखापाल यादवले भने।
लेखा अधिकृत यादवका अनुसार जनकपुरधामको प्रादेशिक अस्पतालभित्रै रहेको नर्सिङ कलेजमा निर्माण गरिएको कोभिड अस्पतालका लागि निर्माण गरिएको आइसोलेसनमा सात लाख रुपैयाँ, बिरामीहरूको औषधी तथा खानावापतको ७६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।
यता, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले गत वर्ष कोरोनाको समयमा गरेको खर्चमध्ये करिब २० लाख रुपैयाँ भुक्तानी पाउन सकेको छैन।
अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट रञ्जित झाका अनुसार अस्पतालमा अहिले पनि थप कर्मचारीको आवश्यकता रहेको छ। जसका लागि प्रदेश सरकारसँग करारमा खटाइने स्वास्थ्यकर्मी माग गरिएको छ। तर, पछिल्लो पटक भएको खर्चको भुक्तानीका लागि बारम्बार मन्त्रालयलाई ताकेता गर्दा बाँकी रहेका भुक्तानी सरकारले गरेको छैन।
‘पछिल्लो पटकको भुक्तानी अझैसम्म हुन नसकेका कारण करारमा काम गर्न स्वास्थ्यकर्मीहरुले अहिले आनकानी गरिरहेका छन्,’ मेसु डा. झाले भने।
पछिल्लो पटकको कोरोना लहरको समयमा अस्पतालहरुले गरेको खर्चको भुक्तानी किन हुन सकेन प्रश्नमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख नवलकिशोर झाले भने,्लो पटकको भुक्तानी अझैै छैन्हरकाम गर्न र क ‘हामीले भुक्तानीका लागि प्रदेश सरकारसंग भुक्तानी गर्नका लागि माग गर्ने हो यो भुक्तानी हाम्रो निकायबाट हुने होइन।’
यता सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत दिलीप दासले छोटो छोटो समयमै सचिव फेरिनुले भुक्तानी हुन समस्या भइरहेको बताए।
‘कोरोनाको पहिलो लहर आएको बेला हाम्रो मन्त्रालयमा अर्कै सचिवज्यू हुनुहुन्थ्यो। पछि अर्को सचिव आउनुभयो। नयाँ सचिवले करारमा स्वास्थ्यकर्मी राख्ने प्रक्रिया मिलेन भनेपछि भुक्तानी नै रोकियो,’ उनले भने।