उनको कोभिड–१९ कार्यदलले महिनौंसम्म एउटा बैठकधरि गर्न सकेन। उनका स्वास्थ्यमन्त्रीले गएको मार्च महिनामा 'हामीले महामारी जितिसक्यौं' भन्दै जनतालाई आश्वस्त पार्न खोजेका थिए।
त्यसको केही साताअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका नेताहरूसमक्ष भारतले कोरोना भाइरसलाई जितिसकेको दाबी गरेका थिए।
'भारतले कोरोना महामारी नियन्त्रण गर्न एकदमै प्रभावकारी काम गर्यो। हाम्रो यो सफलताले मानव जगतलाई ठूलो विपतबाट जोगाएको छ,' गत जनवरी अन्तिमतिर वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल भेलामा मोदीले भनेका थिए।
उनले यसो भन्दै गर्दा पृष्ठभूमिमा भारतका तीनवटा राष्ट्रिय तिरंगा फर्फराउँदै थिए।
अहिलेको अवस्था मोदीले अन्तर्राष्ट्रिय जगतसमक्ष दाबी गरेभन्दा र उनका स्वास्थ्यमन्त्रीले आफ्नै जनतालाई आश्वस्त पारेभन्दा बिल्कुलै भिन्न छ। भारतलाई कोभिड–१९ को दोस्रो लहरले संसारमै सबभन्दा बढी गाँजेको छ।
पछिल्लो तथ्यांकअनुसार भारतमा दैनिक चार लाख नयाँ संक्रमित थपिएका छन्। देशभरि खोपको व्यापक अभाव छ। अस्पतालहरू बिरामीको चापले अस्तव्यस्त छन्। प्राणदायक अक्सिजन पर्याप्त आपूर्ति हुन सकेको छैन। सास फेर्न गाह्रो भएका कोरोना बिरामीहरू अक्सिजन नपाएर फड्फडाइरहेका दृश्यले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत व्याकुल बनाएको छ।
मृत्युदर यति अचाक्ली बढेको छ, हरेक दिन घाट र शमशानहरूमा ठाउँ नपाएर बस्ती बीचका खुला ठाउँमा सामूहिक दाहसंस्कार गरिन थालेको छ। यसबाट अविराम निस्कने धुँवाले उदीयमान अर्थतन्त्र भारतका ठूल्ठूला सहरको आकाश जतिखेरै कालो बादल मडारिएजस्तो देखिन्छ।
कोरोनालाई परास्त गरेको घोषणा गर्ने भारतमा केही समयमै यस्तरी पासा पल्टिएको छ, ऊ पछिल्ला केही दशककै सबभन्दा ठूलो आपत खेपिरहेको छ र यो आपतको केन्द्रमा छन् प्रधानमन्त्री मोदी।
मोदीले गर्वसाथ आफ्नो दाबी सुनाइरहँदा संसारभरका विज्ञ भारत कसरी महामारीको विषम परिस्थितिबाट उम्किन सक्यो भनेर चित खाएका थिए। भारतको जनसंख्यामा युवाहरूको अनुपात ज्यादा छ र उनीहरू सबै स्वस्थ छन् भन्ने रमाइलो व्याख्यालाई मोदी र उनको सरकारले ग्रहण गरेको देखेर त विज्ञहरू झनै अचम्म मान्थे।
अहिले पनि मोदीका समर्थक आफ्नो गल्ती वा कमजोरी स्विकार्न कुनै हालतमा तयार छैनन्। भारतमा सुरू कोभिड–१९ को दोस्रो लहरलाई उनीहरू विश्वव्यापी परिघटनाको प्रभाव मान्छन्। दोस्रो लहर यस्तरी द्रुत गतिमा फैलिनुको कारण पत्ता लगाउन समय लाग्ने उनीहरूको ठम्याइ छ।
भारतका स्वतन्त्र स्वास्थ्य विज्ञ र राजनीतिक विश्लेषकहरू भने दोस्रो लहर सुरू हुनुमा मोदीलाई जिम्मेवार ठहर्याउँछन्। मोदीको चाहिनेभन्दा धेरै आत्मविश्वास र उनको दबंग नेतृत्व शैलीले नै भारतलाई महामारीको भुङ्ग्रोमा हालेको उनीहरू बताउँछन्।
यति मात्र होइन, यस्तो संवदेनशील घडीमा पनि मोदी र उनको प्रशासनको ध्यान भारतको छवि नधमिलियोस् र कसरी हुन्छ व्यापार–व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सकियोस् भन्नेमै केन्द्रित छ।
एक समय त वैज्ञानिकहरूले दिएका चेतावनीसमेत मोदी र उनका अधिकारीहरूले बेवास्ता गरिदिएका थिए। भारतको जनसंख्या अझै उच्च जोखिममा रहेको र 'हर्ड इम्युनिटी' (सामुदायिक स्तरमै भाइरससँग लड्ने प्रतिरोधक क्षमता) विकास हुन समय लाग्ने वैज्ञानिकहरूको भनाइ थियो, जसलाई मोदी र उनको प्रशासनले बिल्कुलै नजरअन्दाज गरिदिएको जानकारहरू बताउँछन्।
नरेन्द्र मोदी दशकौंपछि भारतीय राजनीतिको शक्तिशाली नेताका रूपमा उदाएका व्यक्ति हुन्। आफ्नो हिन्दुवादी राजनीतिक पृष्ठभूमि, आर्थिक समृद्धिको नारा र विपक्षीहरूलाई किनारा लगाउँदै उनी लगातार दोस्रोचोटि सत्तामा पुगेका थिए। दोस्रो कार्यकालमा पनि उनको राजनीतिक वर्चश्व चुलिँदै गएको थियो। उनी विपक्षी नेताहरूलाई आक्रमण गर्न पछि परेका थिएनन् र केन्द्रमा आफ्नो एकाधिकार निरन्तर बढाउँदै लगेका थिए।
भारतमा संसदीय चुनाव आउन अझै तीन वर्ष बाँकी छ। यसबीच उनको सरकार धर्मराउने अवस्थामा पुगिसकेको छैन। मोदीको शक्ति अहिले पनि सुरक्षित देखिन्छ। कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेपछि मोदी सरकारले गम्भीर बिरामीका लागि आवश्यक सरसामान उपलब्ध गराउने र बढीभन्दा बढी उमेर समूहका जनतालाई खोप लगाउने प्रयास सुरू गरेको छ।
विश्लेषकहरू भने अहिलेको समय मोदीका लागि राजनीतिक रूपले कठिन मान्छन्।
दोस्रो लहरसँगै बढ्दो देशव्यापी निराशाले मोदीको भर्भराउँदो राजनीतिक आभा मत्थर पारेको उनीहरूको विश्लेषण छ। मोदीको राजनीतिक प्रभुत्वका कारण पछिल्लो समय विष्फोटनको अवस्थामा पुगेको संक्रमण र मृत्युमा धेरैले उनैलाई जिम्मेवार ठहर्याउने विश्लेषकहरू बताउँछन्।
'सबभन्दा ठूलो दोष मोदीको शासन शैलीलाई जानेछ। उनी योग्यताका आधारमा मन्त्री छान्दैनन्। कुन व्यक्ति आफूप्रति कति निष्ठावान छ, त्यस आधारमा मन्त्री बनाउँछन्। उनको छनौटमा व्यक्तिको पारदर्शिता होइन, बरू उसको गोपनीयता र छवि व्यवस्थापनलाई बढी प्राथमिकता दिइएको छ,' नयाँदिल्लीस्थित नीति अनुसन्धान केन्द्रका अनुसन्धाता असीम अलीले भने।
'यस्तो शासन संरचनाका कारण उनले गर्ने निर्णयहरू राष्ट्रका लागि प्रत्युत्पादक हुन सक्छन्,' उनले भने, 'कोभिड व्यवस्थापनमा पनि केही महिनायता मोदी प्रशासनका अधिकारीहरूले जे निर्णय लिए, त्यसले भारतलाई पछिसम्म समस्यामा पार्न सक्छ।'
उदाहरणका लागि, भारत कोरोना खोप उत्पादन गर्ने एक अग्रणी देश हो। संसारलाई यो महामारीबाट जोगाउन सक्ने खोप उत्पादक राष्ट्र हुँदाहुँदै भारतले आफैंलाई जोगाउन पर्याप्त खोप खरिद गरेन। जुन समय नयाँदिल्लीले आफ्नो अन्तर्राष्ट्रिय छवि बलियो पार्न ६ करोडभन्दा बढी खोप निर्यात गर्यो, त्यो बेला भारतकै जनताले पर्याप्त खोप पाइरहेका थिएनन्।
संक्रमण दर बढ्दै जाँदा पनि मोदीले देशभरि त्यस्ता ठूल्ठूला भेला गर्न दिने निर्णय गरे, जसले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दु राष्ट्रवादी छविलाई बढावा दिन मद्दत गर्थ्यो। यसको सबभन्दा ठूलो उदाहरण, हिन्दुहरूको ठूलो कुम्भ मेला हो, जहाँ देशभरिबाट दसौं लाख मान्छेले भाग लिए। मोदी आफैं पनि विभिन्न राज्यको विधानसभा निर्वाचनमा प्रचारप्रसार गर्न गए, जहाँ न उनले मास्क लगाएका थिए, न उनका दसौं हजार समर्थकले।
विश्लेषकहरूका अनुसार, मोदी आफ्ना निकटस्थबाहेक अरूलाई आफू वरिपरि ढिम्किन दिँदैनन्। चाहे त्यो सम्बन्धित क्षेत्रको विज्ञ नै किन नहोस्। सरकारी अधिकारीहरूमा पनि उनको गल्ती औंल्याउने हिम्मत छैन। जब मोदी 'भारतमा महामारी अन्त्य भएको' दाबी गर्दै थिए, त्यसको खण्डन गर्ने आँट कसैले गरेन। जबकि, उनको दाबी आधारहिन छ भन्ने धेरैलाई थाहा थियो।
पछिल्लो समय पनि जानकार विज्ञहरू मोदीको भनाइ सार्वजनिक रूपले खण्डन गर्न हच्किन्छन्। मोदीको खण्डन गर्नु भनेको उनका समर्थकको झुन्डसँग दुश्मनी मोल्नु हो। मोदीका भनाइलाई अकाट्य साबित गर्न उनका समर्थक फेसबुक, इन्स्टाग्राम र ट्वीटरजस्ता सामाजिक सञ्जालमा सक्रिय छन्। कसैले मोदीमाथि औंला उठाए, त्यो झुन्ड अरिंगालको गोलाजस्तो जाइलाग्छन्। सामाजिक सञ्जालमा लेखिएका आलोचनात्मक टिप्पणीहरू मेट्न बाध्य पारिन्छ। अक्सिजन निम्ति गरिएको याचना सार्वजनिक गर्नेलाई भौतिक कारबाहीको धम्की दिइएका उदाहरणसमेत छन्।
मोदी सरकार र उनको पार्टी भाजपा अहिलेको समय आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार छैनन्। तर, सरकारबाट भएका कामको उनीहरू यस्तरी प्रचार गर्छन्, मानौं त्यसबाट ठूलै उपलब्धि हासिल भएको होस्।
मोदीले दोस्रो लहर सुरू भएपछि अप्रिल महिनामा वायुसेनाका अधिकारीसहित औषधि उत्पादक कम्पनीका कार्यकारी र अन्य क्षेत्रका प्रतिनिधिसँग दर्जनभन्दा बढी बैठक गरे। यसबारे विज्ञप्ति जारी गर्दै सरकारले भन्यो, 'कोभिड व्यवस्थापनको तयारी निम्ति सरकारले सबै पक्षसँग लगातार सहकार्य र परामर्श गरिरहेको छ।'
उक्त विज्ञप्तिमा थप भनिएको छ, 'फेब्रुअरी महिनामै राज्य सरकारहरूलाई सतर्क रहन र कहीँ पनि कमी–कमजोरी हुन नदिन सचेत गराइएको छ।'
मोदी मात्र होइन, अहिलेको समय जुनसुकै भारतीय नेताको निम्ति चुनौतीपूर्ण थियो। करोडौं भारतीय अहिले पनि चरम गरिबीमा बाँचिरहेका छन्। उनीहरूका लागि बिहान–बेलुकीको गर्जो टार्नै समस्या छ। यस्तो अवस्थामा कुनै पनि महामारी भारतमा सजिलै फैलिन सक्छ।
भारतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरेको छैन। यहाँ स्वास्थ्य क्षेत्रको लगानी प्रतिव्यक्ति वार्षिक सय डलरभन्दा कम रहेको विश्व बैंकको तथ्यांक छ। यो भनेको अन्य विकासोन्मुख मुलुकको दाँजोमा कम हो। भारतको यो समस्या मोदीको कार्यकालमा मात्र देखिएको होइन। मोदी प्रधानमन्त्री हुनुअघिदेखि नै भारतको स्वास्थ्य क्षेत्र समस्यामै थियो।
शनिबार मात्र भारतका करिब चार लाख व्यक्ति कोरोना संक्रिमत भए। मृत्यु संख्या तीन हजार पाँच सय नाघ्यो। यो सरकारले जारी गरेको आधिकारिक तथ्यांक हो। वास्तविक संक्रमण र मृत्यु संख्या योभन्दा कयौं गुना धेरै हुनसक्ने अनुमान छ। यस्तो विषम अवस्थामा देशको वित्तीय राजधानी र महामारीबाट सबभन्दा बढी प्रभावित मुम्बईले सबै खोप अभियान बन्द गर्यो, किनभने त्यहाँ अहिले खोप उपलब्ध नै छैन।
मोदीले गत वर्ष कोरोनाको पहिलो लहर सुरू हुँदा अहिलेभन्दा धेरै राम्रो काम गरेको विश्लेषकहरू बताउँछन्। एकदमै तल्लो तहबाट काम गर्दै राजनीतिक वृत्तमा उदाएका ७० वर्षीय मोदीले सुरूका दिनदेखि मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने नियम पालना गरेका थिए। गत वर्ष मार्च २४ मा भारतले देशव्यापी लकडाउन घोषणा गर्दा भारतभरिमा ६०० भन्दा कम संक्रमित पहिचान भएका थिए। भारतले त्यस्तो सुरूआती चरणमै जारी गरेको लकडाउन संसारकै सबभन्दा कडिकडाउमध्ये एक थियो।
उक्त लकडाउन बेला भारतभरिका धेरै जनताले आ–आफ्नो घरभित्र बसेर मोदीको निर्देशन पालना गरे। जब मोदीले स्वास्थ्यकर्मीहरूप्रति ऐक्यबद्धता जनाउँदै घरको छत वा बार्दलीमा उभिएर थाल ठटाउनू भने, दसौं लाख जनताले आफ्नो घरको छत वा बार्दलीमा उभिएर थाल ठटाए।
जम्मा चार घन्टाको म्याद राखेर घोषणा गरिएको उक्त लकडाउनले थुप्रै सामाजिक समस्या सिर्जना गरे पनि पहिलो चरणको महामारी थेग्न ठूलो मद्दत गरेको विज्ञहरू स्वीकार गर्छन्। त्यो निर्णय आर्थिक रूपमा भने प्रत्युत्पादक साबित भयो। देशव्यापी रूपमा धेरैले रोजगार गुमाए। आप्रवासी कामदारहरू गाँस, बासको समस्याले पिरोलिएर हजारौं किलोमिटर पैदल घर फर्कन बाध्य भए। उद्योग–व्यवसाय नराम्ररी थला परे। भारतलाई विश्व आर्थिक शक्तिमा बदल्ने मोदीको महत्वाकांक्षी योजना धर्मरायो। लकडाउन जति लामो समय चल्थ्यो, भारतको अर्थतन्त्र उति प्रभावित हुने र मोदी आफ्नो महत्वाकांक्षामा उति पछि पर्दै जाने अवस्था थियो। त्यही भएर यसपालि समयमै लकडाउनको निर्णय गर्न उनी हच्किए।
यसअघि लकडाउन खुकुलो हुँदै गएपछि संक्रमण बढ्न थालेको थियो। सेप्टेम्बरसम्म आइपुग्दा दैनिक एक लाख हाराहारी संक्रमित हुन्थे। त्यति बेलासम्म भारतको स्वास्थ्य प्रणालीले थेगेकै थियो। सन् २०२१ को सुरूआतपछि भने संक्रमण दर घट्दै गयो। अर्थतन्त्रको लय पुरानै अवस्थामा फर्किन थाल्यो। त्यसपछि मोदी र उनको समूहले भारतमा कोरोना पराजित भएको उद्घोष गर्दै त्यसको श्रेय सरकारका प्रयासहरूलाई दिए।
मोदीले लकडाउन गर्नासाथ घरभित्र थुनिएका, थाल ठटाउनू भन्दा थाल ठटाएका, जे भन्यो खुरुखुरु मान्दै आएका धेरै भारतीयले यसपालि पनि उनको कुरा पछ्याए। मोदीले कोरोना पराजित भएको घोषणा गर्नासाथ भारतमा मास्क प्रयोग घट्दै गयो। उनीहरू सामान्य अवस्थामा जस्तै एकअर्कासँग घुलमिल हुन थाले। सामाजिक दुरीको अवधारणा पानीमा गयो। सरकारी स्तरबाट पनि निषेधाज्ञा एकपछि अर्को हट्दै गयो। कोभिड व्यवस्थापन निम्ति स्थापना गरिएका विभिन्न संयन्त्रहरू खारेज गरिए।
यसबीच गत फेब्रुअरीमा भारतीय जनता पार्टीको नेतृत्वले मोदीको सार्वजनिक प्रशंसा गर्दै भन्यो, 'प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सक्षम, संवेदनशील, प्रतिबद्ध र दूरदर्शी नेतृत्वमा भारत कोभिडलाई पराजित गर्न सफल भएको छ।'
त्यसको अर्को महिना मार्चमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्द्धनले 'भारतमा कोभिड–१९ महामारी अन्त्य भएको' घोषणा गरे।
प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सत्तारुढ दलबाट भएको घोषणा सबैले पत्याएका थिएनन्। तर, जसले पत्याएनन्, उनीहरूको आवाज किनारा लगाइयो। करिब २० जना स्वास्थ्य अधिकारी संलग्न भारतको कोभिड–१९ कार्यदलको हरेक महिना कम्तीमा दुईचोटि बैठक बस्नुपर्थ्यो। तर, जनवरी ११ देखि अप्रिल १५ बीच यो कार्यदलको बैठक एकचोटि पनि बसेन। कार्यदलका दुई जना सदस्यका अनुसार, महामारीको संकटबाट देश मुक्त भएकामा सरकार विश्वस्त थियो।
एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा यति कम समयमै 'हर्ड इम्युनिटी' विकास हुनसक्छ भन्ने केही वैज्ञानिकले पत्याएका थिएनन्। तर, उनीहरूको चासो सुनुवाइ भएन। त्यस्ता चासोलाई वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेन। अध्ययनमा संलग्न दुई जनाले बताएअनुसार, सरकारले तथ्य तोडमरोड गरी आफूलाई लाभ हुने नतिजा निकालेको थियो, जसअनुसार भारतमा कोरोनाविरुद्ध हर्ड इम्युनिटी विकास भइसकेको देखाउँथ्यो।
यही नतिजाका आधारमा खोप अभियानको प्राथमिकता घट्यो। सामुदायिक स्तरमै भाइरससँग लड्ने प्रतिरोधक क्षमता विकास भइसकेको मानेपछि खोप लगाउन राज्यले जरूरी ठानेन। मोदी सरकारले भारतमा उत्पादित कोरोना खोप निर्यात गर्न सुरू गर्यो। खासगरी छिमेकी देशहरू खोप आपूर्ति निम्ति चीनतिर ढल्किएलान् भन्ने डरले जतिसक्दो छिटो उनीहरूको सद्भाव र समर्थन बटुल्न धमाधम खोप निर्यात गर्न थालियो।
मोदी सरकारले संसारभरि आफ्नो आत्मनिर्भरताको डंका पिट्न भारतमा उत्पादित दुइटा खोपलाई मात्र मान्यता दिएको थियो। जबकि, अहिलेसम्म कुल जनसंख्याको जम्मा दुई प्रतिशतले दुवै डोज खोप लगाउन पाएका छन्।
सरकारले खोप निर्यातको निर्णय गर्दा देशभित्र अभाव नरहेको भाजपाका प्रवक्ता राजीव चन्द्रशेखरले बताएका छन्। उनका अनुसार त्यति बेला सरकारले वैकल्पिक स्रोतहरूबाट खोप उत्पादन र खरिद परिमाण वृद्धि गरेको थियो।
जति बेला खोप अभियान शिथिल हुँदै गयो, त्यही बेला भारतका विभिन्न राज्यमा विधानसभाको निर्वाचन हुँदै थियो। मोदीको खास चासो विपक्षी दलको पकड रहेको पश्चिम बंगालमा थियो। अप्रिल मध्यसम्म मोदी र उनका गृहमन्त्री अमित शाहले विभिन्न राज्यमा लगातार चुनावी सभाहरू गरे, जहाँ हजारौं हजार मान्छे बिनामास्क सहभागी थिए। उनीहरूले सामाजिक दुरीको नियम पालना गर्ने त कुरै आएन।
स्वास्थ्य विज्ञहरूले महामारीको दोस्रो लहर आउनसक्ने चेतावनी दिइरहेका बेला मोदी भने हजारौंको चुनावी सभा गरेर आफ्नो शक्ति सञ्चय गर्दै थिए। मध्य–अप्रिलको जुन दिन मोदीले पश्चिम बंगालको एउटा चुनावी सभालाई सम्बोधन गरेका थिए, त्यस दिन भारतमा नयाँ संक्रमित संख्या दुई लाख नाघेको थियो। मोदी भने आफ्नो समर्थनमा उर्लिएको जनसागर देखेर प्रसन्न देखिन्थे।
उनले भनेका थिए, 'म यति ठूलो जनसहभागिता पहिलोचोटि देख्दै छु। यहाँबाट जता हेरे पनि म मान्छे नै मान्छे देख्छु। तर, अगाडिको काम अझै महत्वपूर्ण छ। त्यो हो, भोट दिन जानु र भोट दिन अरूलाई लैजानु।'
उक्त चुनावी सभाको दुई सातापछि पश्चिम बंगालका प्रयोगशालाहरूबाट कोरोना परीक्षण नतिजा ५० प्रतिशत पोजेटिभ आउन थालेको छ। अर्थात्, परीक्षण गरेका आधा व्यक्तिमा संक्रमण पाइएको छ।
पश्चिम बंगालजस्तै विधानसभा चुनाव भएका अन्य राज्यहरूमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको तथ्यांकले देखाउँछ।
दोस्रो लहर फैलिनुमा विभिन्न कारण छन्। एउटा त, नयाँ प्रकारको भाइरस पहिलेभन्दा तीव्र गतिले फैलिने वैज्ञानिकहरूले बताएका छन्। त्यसबाहेक धेरैले विधानसभा निर्वाचनलाई पनि दोष दिएका छन्। हालैको एक सुनुवाइमा भारतका एक न्यायाधीशले 'निर्वाचन आयोगका अधिकारीहरूलाई हत्याको अभियोग किन नलगाउने' भनी वकिलसँग प्रश्न सोधेका थिए।
दिल्लीमा भएको अर्को सुनुवाइमा स्थानीय सरकारको पक्षमा वकालत गरिरहेका वकिलले मोदी सरकार पर्याप्त अक्सिजन आपूर्ति गर्न असफल भएको आरोप लगाउँदा सरकारी वकिलले जवाफ दिएका थिए, 'सबै मिलेर यो समस्यासँग लड्ने कोशिस गरौं, धेरै रुन्चे स्वभाव नदेखाऔं।'
यी सब घटनाक्रमका बाबजुद मोदीको शक्ति कायम छ। उनका प्रतिपक्षीहरू कमजोर अवस्थामा छन्। मोदी आफ्नो हिन्दु राष्ट्रवादी अभियानलाई बढावा दिन सफल हुँदै आएका छन्। उनको आफ्नै व्यक्तित्व पहिलेभन्दा बदलिएको छ। एक वर्षअघि बेसबल क्याप र सनग्लास लगाउने मोदीले आफ्नो दारीजुँगा र कपाल पालेका छन्। झट्ट हेर्दा उनी कुनै हिन्दु साधुजस्ता देखिन्छन्।
'उनको छुट्टै खालको राजनीतिक आभा छ,' विश्लेषक मिलन वैष्णवले भने, 'उनको व्यक्तित्वमा चुम्बकीय आकर्षण छ। उनको व्यक्तिगत कथा हृदयस्पर्शी छ। औसत मतदाताहरूमा उनको व्यक्तिगत विश्वसनीयता उच्च छ।'
उनले थपे, 'मोदीजस्तो राजनीतिक व्यक्तिले आफ्ना निर्णयहरू पुष्टि गर्न कुनै न कुनै बाटो अवश्य फेला पार्नेछन्।'