केन्द्र सरकारले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएसँगै सात वटै प्रदेश सरकार बजेट ल्याउने तयारीमा जुटेका छन्। प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थालिसकेका छन्।
यद्यपि हालसम्म प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन भने अन्त्य गर्न सकेको छैन। प्रदेश सरकारले असार १५ गते भित्र बजेट ल्याई सक्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवका अनुसार मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको छ।
‘भोलि मन्त्रिपरिषदको बैठक बस्न लागेको छ, बैठकले चालु अधिवेशन अन्त्य गरेर बजेट अधिवेशन आह्वान गरिने छ’ यादवले भने।
प्रदेशसभाको बैठक बस्न नसक्दा आउने नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै जानकारी नरहेको भन्दै प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आलोचना गरिरहेका छन्। बाध्यात्मक स्थितिमा गत चैत ३० गते बसेको बैठक वैशाख १० गतेपछि पुनः बस्न सकेन।
प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेशसभाको पाँचौ अधिवेशनका बैठकहरु अनिश्चितकालका लागि स्थगित गरिएको थियो। प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेशसभाका कोरोना संक्रमित कर्मचारी निको भएर घर फर्केको कयौँ दिन भईसके पनि जसपा भित्रको आन्तरिक किचलोका कारण प्रदेशसभाको बैठक अन्यौलमा परेको बताइन्।
‘सत्तापक्षको आन्तरिक किचलोका कारण प्रदेशसभा बैठक बस्न सकेको छैन, जबकि नीति तथा कार्यक्रम, बजेटसहितका विभिन्न महत्वपूर्ण प्रस्ताव माथि छलफल गर्न बाँकी नै छ’ प्रदेशसभा सदस्य यादवले भनिन् ‘फेरि हतार हतारमा नीति तथा कार्यक्रम ल्याइने छ, छलफल बिना ल्याइएका नीति तथा कार्यक्रमले जनचाहना अनुसार काम गर्न सक्दैन।’
प्रदेशसभा सदस्य यादवले नीति तथा कार्यक्रममा के कस्ता विषयहरु समेटिनु पर्ने हो भन्नेबारे छलफलका लागि अझै पनि नबोलाइनु दुःखद रहेको गुनासो गरिन्। प्रदेशसभाकै अर्की सदस्य सुरिता साहले समेत नीति तथा कार्यक्रम ल्याउनु अघि गरिने छलफलमा सामेल नगराइएकोमा आपत्ति जनाएकी छन्।
‘विषम परस्थितिमा समेत नीति तथा कार्यक्रम ल्याउनै पर्ने हुन्छ, तर अहिलेसम्म यस विषयमा हामीलाई न त जानकारी गराइएको छ न छलफलमा सामेल नै गराइएको छ’ प्रदेश सभा सदस्य साहले भनिन्।
प्रदेशको हितमा केन्द्रित रही नीति तथा कार्यक्रम ल्याउनका लागि प्रदेशसभा सदस्यहरुसँग भर्चुअल नै भएपनि छलफल हुनु आवश्यक रहेको उनको भनाइ छ।
प्रदेशसभा सदस्य साह सत्तापक्षकै सांसद हुन्। प्रदेश सरकारले बजेट अधिवेशनको आह्वान गर्ने तयारी गरिरहँदा प्रदेश नीति तथा योजना आयोगले नीति तथा कार्यक्रम तयार पार्नका लागि छलफललाई तीव्रता दिएको छ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जेठको अन्तिम सातासम्ममा प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए। यता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले नीति तथा कार्यक्रम तयार पार्नका लागि विभिन्न दल तथा मन्त्रीहरुसंगको छलफललाई तीव्रता दिइएको बताउँछन्।
कोरोना महामारीको समयमा प्रदेशसभा सदस्यहरुसंग छलफल गर्नु सम्भव नरहेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको नेता तथा मन्त्रीहरुसंग छलफल गरेर उत्कृष्ट नीति तथा कार्यक्रम ल्याउने प्रयासमा रहेको उनको भनाइ छ।
आयोगका उपाध्यक्ष झाका अनुसार सबै मन्त्रालयहरुले पठाएका आ–आफ्ना कार्यक्रमलाई एकीकृत गरेर तयार पार्ने काम भइरहेको छ। ‘मन्त्रालयहरुले आफ्ना कार्यक्रम पठाइसकेका छन्, दलका नेताहरुसँग समेत हामीले छलफल गरिसकेका छौँ, छिट्टै नै यसलाई अन्तिम रुप दिने छौँ’ आयोगका उपाध्यक्ष झाले भने।
आयोगका उपाध्यक्ष झाका अनुसार यस पटकको नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा बढी केन्द्रित भई कृषि, रोजगारी सिर्जना र शिक्षालाई प्राथमिकतामा राखिने छ।
नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले आगामी नीति तथा कार्यक्रमका लागि आफूसंग छलफल गरिएको जानकारी दिँदै यस पटकको नीति तथा कार्यक्रम उत्पादनमुखी हुनु पर्नेमा जोड दिए।
‘पछिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेट वितरणमुखी थियो तर यस पटक त्यो दोहोरिँदैन भन्ने अपेक्षा गरेको छु’ कांग्रेस संसदीय दलका नेता यादवले भने ‘ यसका लागि छलफलमा मैले सल्लाह सुझाव समेत दिएको छु ।’
माओवादी केन्द्र संसदीय दलका नेता भरतपप्रसाद साहले समेत आउने नीति तथा कार्यक्रम र बजेट कोभिड रोकथाम तथा नियन्त्रण र त्यसबाट उत्पन्न प्रतिकुल असरको निर्मूल गर्न तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए।