प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी नहुने भएको छ।
माओवादी केन्द्र प्रदेश नम्बर २ का संसदीय दलका उपनेता एवम् प्रदेशसभा सदस्य जगत यादवले उक्त कुराको पुष्टि गरे।
‘सुरूमा सरकार पक्षले दुई वटा मन्त्रालय दिने कुरामा सहमति जनाएको थियो,’ प्रदेशसभा सदस्य यादवले भने, ‘तर कुन-कुन दिने त्यसबारे टुंगो लागेको थिएन, मन्त्रालय टुंग्याउनकै लागि उहाँहरूले ४ बजे हामीलाई बोलाउनु भएको थियो, भौतिक पूर्वाधारसहित तीन वटा मन्त्रालय कांग्रेसलाई दिने सहमति भइसकेको थियो, रिक्त रहेका उद्योग वाणिज्य तथा आपूर्ति र महिला तथा खेलकुद हामीलाई लिन भनियो।’
तर, यी दुई वटा मन्त्रालयमध्ये जनतासँग जोडिएको मन्त्रालय कुनै पनि नरहेकाले आफूहरूले कमसेकम जनताको सरोकारसँग जोडिएको मन्त्रालय मागेको र कुरा नमिलेकोले सरकारमा नगएको यादवले बताए।
एक वा डेढ महिनाभित्र ती मन्त्रालय दिइने सरकारी पक्षले भनेका थिए।
माओवादी पक्ष त्यसका लागि तयार भए पनि सरकारी पक्षबाट कुनै प्रकार प्रतिवद्धता नआएको तथा त्यसमा पनि दुईबाट एउटा मन्त्रालय मात्र लिन भनेपछि आफूहरू सरकारमा जान उचित नठानेको प्रदेशसभा सदस्य यादवले बताए।
‘दुइटाबाट एउटा मन्त्रालयमा झारेपछि हामी सरकारका लागि महत्वपूर्ण नरहेको कुरा बुझेर छलफलबाट बाहिरिएका हौं,’ उनले भने।
नेता यादवका अनुसार माओवादीले भौतिक पूर्वाधार वा सामाजिक विकास मन्त्रालय दिन भनेको थियो। तर, सरकार पक्ष तयार नभएपछि माओवादी सरकारमा नगएको हो।
कांग्रेस सरकारमा गएपछि लालबाबु सरकारलाई बहुमत पुगेकै कारण माओवादी केन्द्रलाई साथमा लिन नचाहेको नेता यादवको भनाइ रहेको छ।