रूसले आक्रमण गरेपछि युक्रेनमा तनाव सिर्जना भएको छ। आक्रमणका कारण अहिलेसम्म ४० युक्रेनीको ज्यान गएको पनि समाचार आएको छ। योसँगै युक्रेनमा रहेका नेपालीहरूको अवस्था के छ भन्ने चौतर्फी चासोको विषय बनेको छ।
हालसम्म सम्पर्कमा आएका र जानकारी भएका नेपालीहरू सकुशल रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
'युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच नेपालीहरू सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,' एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले भने।
तर त्यहाँ रहेका नेपालीले आफूहरूलाई तत्काल स्वदेश फर्काउन नेपाल सरकारसँग अपिल गरिरहेका छन्।
'आफूहरू निकै त्रासद अवस्थामा रहेको भन्दै तत्काल उद्धारका लागि सरकारले जहाज पठाउनु पर्ने अपिल उहाँहरूले गर्नुभएको छ,' उनले भने, 'हाल ३८ जना नेपाली राष्ट्रिय समन्वय परिषद, युक्रेनको सम्पर्कमा आएका छन्।'
उनीहरू युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएको क्षेत्रीले बताए।
उनीहरूबाहेक ४४ जना विद्यार्थीहरू र ट्रान्जिटमा दुई सय बढी नेपाली रहेको एनआरएनएले जनाएको छ।
त्यहाँ कति नेपाली छन् भन्ने यकिन तथ्यांक भने परराष्ट्र मन्त्रालयसँग समेत छैन। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल करिब दुई सय बढी नेपाली त्यहाँ रहेको अनौपचारिक जानकारी प्राप्त भएको बताउँछिन्।
यकिन तथ्यांक संकलनको काम भइरहेको प्रवक्ता लम्सालको भनाइ छ।
मन्त्रालयका अनुसार अध्ययन, रोजगारी तथा विभिन्न सिलसिलामा नेपालीहरू युक्रेन पुगेका छन्। लामो समयदेखि त्यहीँ बसिरहेका नेपालीहरू पनि छन्।
'अवस्था हेरेर आवश्यक पर्यो भने त्यहाँका नेपालीहरूलाई उद्धारका लागि हामी समन्वय गरिरहेका छौं,' उनले सेतोपाटीसँग भनिन्।
बर्लिनस्थित नेपाली दूतावाससँगको समन्वयमा काम भइरहेको उनले जानकारी दिइन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामबाहेकका नेपालीलाई स्वदेश फर्कन अपिल गरेको छ।
नेपालबाट अत्यावश्यक काम बाहेक भ्रमणमा युक्रेन नजानसमेत आग्रह गरेको छ। एनआरएनएले पनि युक्रेनमा रहेका सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ। त्यहाँको घटनाक्रम मूल्यांकन गरी आवश्यक परे स्वदेश फर्कन संघले आग्रह गरेको छ।
रूस र युक्रेनबीच जारी तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरिसकेको छ। बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ।
नेपालले सबै पक्षलाई तनाव बढ्न नदिन उच्च संयमता अपनाउन आग्रह गरेको छ।
'संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,' विज्ञप्तिमा भनिएको छ।
रूसले केही दिनअघि युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिनु राष्ट्रसंघको बडापत्र विपरीत भएको पनि नेपालले उल्लेख गरेको छ।
'कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,' विज्ञप्तिमा भनिएको छ।
पुटिन युक्रेनबाट के चाहन्छन्?
रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।
गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले 'डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस' भनेर लेखिदिए।
ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। अहिले झन्डै दुई लाख रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।
यही बीचमा युक्रेनको उत्तरमा पर्ने बेलारूसमा रूसका 'बटालियन ट्याक्टिकल ग्रुप'का सैनिकहरू आएर संयुक्त सैन्य अभ्यास गरेका छन्।
रूससँग सीमा जोडिएको बेलारूस उसको 'दोस्त' हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।
बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी किएभनै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।
डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदा पुटिनले युक्रेन रूसी इतिहासको महत्वपूर्ण हिस्सा भएको बताएका थिए।
किएभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।
रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।
युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।
पुटिन कुनै पनि मूल्यमा युक्रेनलाई इयू र नेटोको सदस्य नहोस् भन्ने चाहन्छन्।