रूसको सैनिक हमलापछि तनावग्रस्त बनेको युक्रेनमा रहेका नेपालीहरू भागेर अरू सीमावर्ति मुलुक छिर्न थालेका छन्।
नेपाली समयअनुसार बिहीबार बिहानबाट सैनिक हमला सुरू भएयता बमबारूदको आवाजले त्रसित बनेका नेपालीहरूले युक्रेन छाड्न थालेका हुन्। तिनैमध्ये एक हुन्, विनोद गैरे।
विनोद तीन महिनाअघि मात्र अध्ययन सिलसिलामा युक्रेन पुगेका थिए। युद्धको त्रास बढेपछि युक्रेनको मोरियोपोल छाडेर सुरक्षित ठाउँतिर जाने कोशिसमा रहेको उनले बताए। उनी अहिले पोल्यान्डको सीमातिर जाँदै छन्।
‘म अहिले ट्रेनमा छु। रूसको आक्रमण सुरू भएपछि यहाँबाट भाग्न लागेको छु। मेरो सम्पर्कमा रहेका अरू नेपालीहरू पनि युक्रेन छाड्दै हुनुहुन्छ। यहाँबाट अन्त पुगे बाँचिन्छ कि भन्ने हामीलाई आश छ,’ उनले सेतोपाटीसँग भने।
उनी व्यवस्थापन विषयमा अध्ययन गर्न युक्रेन पुगेका थिए।
अध्ययनकै सिलसिलामा युक्रेन गएका आठ जना साथीहरू पनि आफूसँगै भागेर पोल्यान्डरको सीमावर्ति क्षेत्रतिर गइरहेको उनले जानकारी दिए।
आफूहरू जर्मनीका लागि नेपाली राजदूतसँग सम्पर्कमा रहेकाले थोरै भए पनि भरोसा रहेको उनले बताए।
‘उहाँले (राजदूत) बोर्डरबाट अरू मुलुक छिर्न सकिन्छ भनेर विश्वास दिलाउनुभएको छ। त्यसपछि नै हामी यहाँबाट रातारात भागेका हौं,’ उनले भने।
युक्रेनको सहर छाडेर हिँडे पनि कता पुगेर बस्ने भन्ने आफूहरूलाई जानकारी नभएको उनले बताए।
यसबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालसम्म सम्पर्कमा आएका र जानकारी भएका नेपालीहरू सकुशल रहेको जनाएको छ। एनआरएनएका प्रवक्ता डिबी क्षत्रीले त्यहाँ रहेका नेपालीले आफूहरूलाई तत्काल स्वदेश फर्काउन नेपाल सरकारसँग अपिल गरिरहेका छन्।
'आफूहरू निकै त्रासद अवस्थामा रहेको भन्दै तत्काल उद्धारका लागि सरकारले जहाज पठाउनुपर्ने अपिल उहाँहरूले गर्नुभएको छ,' उनले सेतोपाटीसँग भने, 'हाल ३८ जना नेपाली राष्ट्रिय समन्वय परिषद, युक्रेनको सम्पर्कमा आएका छन्।'
उनीहरू युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएको क्षत्रीले बताए। उनीहरूबाहेक ४४ जना विद्यार्थी र ट्रान्जिटमा दुई सयभन्दा बढी नेपाली रहेको एनआरएनएले जनाएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल करिब दुई सय नेपाली युक्रेनमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको बताउँछिन्। यकिन तथ्यांक संकलनको काम भइरहेको उनको भनाइ छ।
मन्त्रालयका अनुसार अध्ययन, रोजगारी तथा विभिन्न सिलसिलामा नेपालीहरू युक्रेन पुगेका छन्। लामो समयदेखि त्यहीँ बसिरहेका नेपाली पनि छन्। 'अवस्था हेरेर आवश्यक पर्यो भने त्यहाँका नेपालीलाई उद्धारका लागि हामी समन्वय गरिरहेका छौं,' उनले सेतोपाटीसँग भनिन्।
बर्लिनस्थित नेपाली दूतावाससँगको समन्वयमा काम भइरहेको उनले जानकारी दिइन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामबाहेकका नेपालीलाई स्वदेश फर्कन अपिल गरेको छ।
नेपालबाट अत्यावश्यक कामबाहेक भ्रमणमा युक्रेन नजानसमेत आग्रह गरिएको छ। एनआरएनएले पनि युक्रेनमा रहेका सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ। त्यहाँको घटनाक्रम मूल्यांकन गरी आवश्यक परे स्वदेश फर्कन संघले आग्रह गरेको छ।
रूस र युक्रेनबीच जारी तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरिसकेको छ। बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ।
नेपालले सबै पक्षलाई तनाव बढ्न नदिन उच्च संयम अपनाउन आग्रह गरेको छ।
'संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,' विज्ञप्तिमा भनिएको छ।
रूसले केही दिनअघि युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिनु राष्ट्रसंघको बडापत्रविपरीत भएको पनि नेपालले उल्लेख गरेको छ।
'कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,' विज्ञप्तिमा भनिएको छ।