धर्मेन्द्र बास्तोला प्रहरी निगरानीमा, चुनाव नसकिँदासम्म प्रहरी घेरामै रहने
नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले निगरानीमा राखेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण गराउने सवालमा बास्तोलासँग सोधपुछ भइरहेको जानकारी दिए।
‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छैनौं र प्रहरीले छोडेको पनि छैन,’ काफ्लेले भने ‘ उहाँहरूको निर्वाचन बहिष्कार अभियान रहेछ, बुटवलमा हिजो मात्रै बम बिस्फोट भएको छ। त्यसैले हामीले सोधपुछ गरेका हौं र निरन्तर निगरानीमा राख्नेछौं।’
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरीले बिहीबार बिहान ४ बजे सोधपुछका लागि भन्दै दाङको भालुवाङमै रोकेको थियो। प्रहरीका अनुसार अहिले पनि उनी प्रहरी निगरानीमै छन्।
प्रहरी स्रोतका अनुसार बास्तोला सुर्खेततर्फ जाँदै थिए।
‘उहाँहरूले निर्वाचन बहिष्कारको नीति लिनु भएको र हिजो मात्रै बुटवलमा बम बिस्फोट भएको छ,’ एसपी काफ्लेले सेतोपाटीसँग भने, ‘उहाँ दाङ प्रवेश गरेपछि प्रहरी सजग र सचेत हुनु स्वभाविक हो। निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण बनाउनु हाम्रो कर्तव्य हो।’
एसपी काफ्लेका अनुसार बास्तोला प्रहरी घेरामै छन्। तर, पक्राउ नगरिएको र निर्वाचन सम्पन्न नहुँदासम्म उनलाई प्रहरी निगरानीमै राखिने भएको छ।
आज पनि मतदाता परिचय पत्र वितरण
नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज पनि मतदाता परिचय पत्र वितरण गर्दैछ।
पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकालाई आयोगले आज पनि मतदाता परिचय पत्र वितरण गर्न लागेको हो।
आयोगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिरहेको छ। नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामावलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ। आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।
निर्वाचन आयोगले मतदाता शिक्षा दिँदै
निर्वाचन आयोगले आज पनि मतदाता शिक्षा दिँदैछ। नयाँ मतदातालाई मतदाता शिक्षाबारेमा जानकारी दिन आयोगले तोकिएका मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिइरहेको हो।
आयोगका अनुसार बुधवार मतदाता शिक्षा लिने नयाँ मतदाताहरुको उपस्थिति उल्लेख्य रहेको थियो। आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतादाता शिक्षा दिने यसअघि नै निर्णय गरिसकेको छ।
नयाँ मतदातालाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइनेछ। आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछन् ।
मतदान स्थलमा चुनावको तयारी अन्तिम चरणमा
वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि अहिले धमाधम तयारी भइरहेको छ। भोलि हुने निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले आफ्नो सम्पूर्ण तयारी आज साँझसम्म सक्ने जनाएको हो।
स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा पुगिसकेका छन्। देशभर मतदानका लागि बुथ निर्माणको काम आनसम्म सकेर भोलि भयरहीत वातावरणमा निर्वाचन गर्ने आयोगले जनाएको छ।
आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ।
त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।
निर्वाचन आायेगको नियमित पत्रकार सम्मेलन
निर्वाचन आयोग, नेपालले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगले हप्ताको सोमवार र बिहीवार नियमित पत्रकार सम्मेलन गर्दै आएको छ।
आज बिहीवार आयोगले गत सोमवार यता गरेका निर्णयहरु र स्थानीय तह सदस्यको निर्वाचनको तयारीका बारेमा जानकारी गराउने कार्यतालिका रहेको आयोगले जनाएको छ।
रातो मच्छिन्द्रनाथको जात्रा
काठमाडौं उपत्यकाकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज लगनखेलमा नरिवल खसालिँदै छ। लगनखेलस्थित देउला टोलमा रहेको रथबाट नरिवल खसालिन्छ।
वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पुर्याएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको छ।
मच्छिन्द्रनाथ र मिननाथको रथबाट एक/एक वटा नरिवल खसालेर नरिवल खसाल्ने जात्रा मनाइन्छ। ३२ हात लामो रथको टुप्पोबाट खसालिने नरिवल समात्न मानिसहरुको भीड लाग्ने गर्छ। नरिवल समात्नेले सुख, शान्ति भोग गर्न पाउने किंवदन्ती छ।
परापूर्वकालमा कर्कट नामका नागराज मच्छिन्द्रनाथको जात्राका क्रममा खसालेको नरिवल हेर्न पुगेको किंवदन्ती छ।
आजको मौसम
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीवार) देशका पाँच वटा प्रदेशमा वर्षा हुने जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली हुनेछ।
त्यस्तै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ।
शुक्रवार पनि यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले महाशाखाले शतर्कता अपनाउन आग्रह गरेको छ ।
ज्यान जोगाउन नौसैनिक ब्यारेक पुगे श्रीलंकाका पूर्वप्रधानमन्त्री राजापाक्षे
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे ज्यान जोगाउन एक नौसैनिक ब्यारेकमा पुगेका छन्।
बिबिसीले सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनी उत्तर-पूर्वमा रहेको नौसैनिक ब्यारेक पुगेका हुन्।
उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए। यसअघि उनी दुई पटक श्रीलंकाका राष्ट्रपति बनेका थिए।
श्रीलंकामा पछिल्लो समय हिंसात्मक प्रदर्शनहरू तीव्र भइरहेका छन्। स्थिति नियन्त्रणमा लिन सरकारले कर्फ्यू घोषणा गरेको छ भने लुटपाट गर्नेहरूमाथि सिधै गोली हान्ने अधिकारसहित सेनालाई खटाएको छ।
यसका बाबजुद् आगजनी र लुटपाटका घटना रोकिएका छैनन्। प्रदर्शनकारीहरूले राजापाक्षे परिवार र अहिलेको अवस्था आउनमा जिम्मेवार ठानिएका अरू नेताहरूको सम्पत्तिलाई लक्षित गरी आगजनी गरिरहेका छन्।
बुधबार राति लगातार दोस्रो रात श्रीलंकामा आगजनी र लुटपाटका घटना भएका छन्।
राष्ट्रपति गोटवाया राजापाक्षेले शान्तिव्यवस्था पुनर्स्थापना गर्ने बताएका छन्। प्रदर्शनकारीहरूले भने उनको राजीनामा मागिरहेका छन्। राजापाक्षेले राजीनामाको मागलाई सुनेको नसुनेझैं गरी आफ्नो केही अधिकार संसदलाई दिने प्रस्ताव गरेका छन्।
विदेशी मुद्राको सञ्चिति घटेपछि श्रीलंकाले अहिले विदेशबाट सामान आयात गर्न सकिरहेको छैन। जसका कारण पेट्रोलियम पदार्थदेखि अन्य दैनिक उपभोग्य सामानको हाहाकार भएको छ।
इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि
युभेन्ट्सलाई हराउँदै इन्टर मिलान कोपा इटालियाको उपाधि जितेको छ।
रोमामा बुधबार राति भएको खेलमा सिरि ए प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो।
इन्टरलाई जिताउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक-एक गोल गरे। युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक-एक गोल गरेका थिए।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा इभान पेरिसिस दुई गोल गर्दै इन्टरलाई च्याम्पियन बनाएका हुन्।
९९औं मिनेटमा इभान पेरिसिसले पेनाल्टीमा गोल गर्दै खेलमा इन्टरमा ३–२ ले अघि बढाए। त्यसको तीन मिनेटपछि पेरिसिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए।
त्यसअघि खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १-० ले पछि परेको युभेन्टसले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल थप्दै खेलमा अग्रता लियो।
५०औं मिनेटमा एलेक्स सान्द्रो र ५२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए। तर ८०औं मिनेटमा हकान चलहानोग्लुले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।