नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले जनमतको अपमान हुने गरी अभिव्यक्ति नदिन नेकपा एमालेलाई चेतावनी दिएका छन्।
एमालेले निर्वाचन सम्पन्न भएको तीन दिनपछि विज्ञप्ति निकालेर धाँधली भयो भन्ने अभिव्यक्ति दिएको थियो।
उक्त अभिव्यक्तिले जनअभिमतको अपमान गरेको पुनले बताए। जनतालाई कमजोर नठान्न उनले एमाले नेतृत्वलाई आग्रह गरेका छन्।
निर्वाचनमा भएको पराजयलाई विगतमा आफूले गरेका गल्तीको परिणामका रुपमा स्वीकार गर्नुको साटो जनताको अभिमतलाई अपमान गर्ने कार्य निन्दनीय भएको उनको भनाइ थियो।
‘एमालेका महासचिवले एमालेको दृष्टिकोण भनेर निर्वाचन सकिएको तीन दिनपछि आएर धाँधली भयो भन्नुभयो। यो आश्चर्यको कुरा हो’, सोमबार लिवाङमा आयोजित कार्यक्रममा पुनले भने, ‘पहिला देशैभर जित्छौं भन्नुहुन्थ्यो। मतदान भएपछि पनि हामी जित्छौं भन्दै हुनुहुन्थ्यो। तीन दिनपछि आएर धाँधली भयो भन्नु जनतामाथिको अपममान हो। अहिलेको लोकतान्त्रिक व्यवस्था र सचेत नेपाली जनताको अभिमतमाथिको अपमान हो। यसको हामी घोर भर्त्सना र निन्दा गर्दछौं।’
आफूले जिते जनता महान र हारे यस्ता प्रकारको अभिव्यक्ति दिनु राजनीतिक अवसरवाद र बेइमानी भएको टिप्पणी उनले गरे। उनले अनावश्यक आरोपमा उत्रनुको साटो दुई तिहाईको नेकपा र दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकामा जनतासँग क्षमा याचना गर्न एमाले नेतृत्वलाई सुझाएका छन्।
‘नेकपाको विघटन र दुईपटक संसद विघटन गर्यौं, हामीबाट गल्ती भयो भनेर क्षमा याचना गर्नुभयो भने बल्ल जनताले माफी दिन्छ’, उनले भने। पुनले एमालेले स्थानीय निर्वाचनमा भन्दा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जल्लाजनक पराजय ब्योहोर्ने दाबी उनले गरे।
एमाले महासचिव शंकर पोखरलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनअघि, निर्वाचनका क्रममा र मतगणनाका क्रममा गरी तीन चरणमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका थिए।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, ०६:४९:००