सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले आफ्नै पार्टी नेतृत्वको सरकार र दलका नेताहरूप्रति चर्को आक्रोश प्रकट गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटका प्राथमिकतामाथिको छलफलमा बोल्ने क्रममा संसाद सिंहले सरकार गुटले चलाएको र संसद सबैभन्दा कमजोर र निरीह रहेको बताए।
उनले सरकार प्रेतात्मा जस्तो भएको, सांसदहरू बँधुवा मजदुर भएको, सरकार बिचौलिया र गुटतन्त्रले चलाएको उनले बताए। नेताहरूले सरकारमा बसेर लुटतन्त्र चलाएको उनको आरोप छ।
सिंहले हरेक पार्टीका नेताले जनप्रतिनिधिको अवमूल्यन गरेको आरोप लगाए। उनले भने, ‘संसद केवल सरकार बनाउन चाहिएको छ। सरकार बनेपछि संसद चाहिँदैन, जनताको आवाज चाहिँदैन।’
उनले बहुदलको तीस वर्ष र गणतन्त्रको पन्ध्र वर्षमा पनि जनताको हितमा काम हुन नसकेको बताए। उनले प्रश्न गरे, ‘बहुदल आएको तीस वर्षमा अर्को बुढानीलकण्ठ स्कुल किन बन्न सकेन? अर्को प्रसूति गृह किन बन्न सकेन? धरानको जस्तै अर्को मेडिकल कलेज किन बन्न सकेन?’
सिंहले बजेटका प्राथमिकतामाथि संसदमा छलफल गर्ने काम कर्मकाण्डीमात्रै रहेको बताए। उनले भने, हामी बोलेर त्यहाँको कमा, फुल्स्टप पनि चेन्ज हुनेवाला छैन।’
उनलाई सरकारलाई प्रेतात्माको संज्ञा दिए। उनले भने, जसरी श्राद्धमा पिण्ड दान गरे पनि प्रेतात्मामा पुग्दैन त्यसरी नै सांसदले बोले पनि यो प्रेतात्मा सरकारमा केही पनि पुग्दैन।’
सिंहले सांसदहरू बँधुवा मजदुर सरह भएको पनि बताए। उनले भने, ‘हामी बँधुवा मजदुर छौँ, सांसदलाई सोधिँदैन तपाईंको प्रायोरिटी के हो।’ उनले पहुँचका आधारमा कतै ३५ अर्ब कतै १० अर्ब र कतै ५ अर्ब बजेट दिने गरेको आरोप लगाए। उनले भने, ‘विचरा निमुखा सांसदहरूको क्षेत्रमा त भाग्यले दुईचार लाख कनिका छरेको हुन्छ। प्रधानमन्त्री र मन्त्रीको क्षेत्रमा बजेट जान्छ।’
उनले बजेटको यस्तो वितरणकै कारण देशको विकास र गरिबी उन्मूलन हुन नसकेको बताए।
सांसद सिंहले सरकार बिचौलिया तन्त्रले चलाएको आरोप लगाए। सरकारले कृषिमा अनुदान भन्ने गरे पनि बिचौलियाले खाने गरेको उनले बताए। उनले अर्थमन्त्रालय पनि बिचौलियाको कब्जामा रहेको आरोप लगाए। कृषकले केी पनि नपाएको एउटा सहकारी दर्ता गर्नेले करौडौँ रुपैयाँ पाउने गरेको उनको भनाइ छ।
उनले सबै ठूला नेता र ठूला कर्मचारीका घरमा सिसी टिभी राख्न र मनिटर टुँडीखेलमा राख्न सरकारलाई सुझाब दिए। यसो गर्न सकेमात्रै भ्रष्टाचार नियन्त्रण हुने उनले बताए। उनले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री, ठूला नेता, कर्मचारी, न्यायाधीशका घरमा सिसी टिभी क्यामेरा होस्, मनिटर टुँडीखेलका राखून्।’
सिंहले सांसदले मन्त्री र प्रधानमन्त्री भेट्न खोज्दा तीन महिना पनि समय नपाएको तर बिचौलियाले दिनमै तीन पटक भेट्ने गरेको बताए। उनले प्रश्न गरे, ‘जनता कहाँ बलियो छ? हामी कस्तो गणतन्त्रको कुरा गर्दैछौँ?’
उनले नेताहरूले राज्यका हरेक संस्था कमजोर पारेको आरोप लगाए। ‘सर्वोच्च अदालत धराशायी छ, निर्वाचन आयोग धराशायी छ, अख्तियार धराशायी छ, कोटा सिस्टमबाट नियुक्ति हुन्छ,’ उनले प्रश्न गरे, ‘सर्वोच्च अदालत धराशायी भएर आमजनताले न्याय पाउँछन्?’ उनले कोटाबाट नियुक्ति हुँदासम्म कुनै पनि संस्था बलियो नहुने बताए।
सिंहले देशको शासन गुटले चलाएको आरोप लगाए। शासकको गुटभित्र पर्ने व्यक्तिहरूलाई संविधान र कानून नलागेको उनको भनाइ छ। उनले भने, ‘गुटले शासन चलाउँदासम्म आमजनताको भलो हुँदैन।’
उनले सत्तापक्ष र प्रतिपक्ष मिलेर भ्रष्टाचार गर्ने गरेको अरोप पनि लगाएका छन्। यस्तो भ्रष्टाचारको रूप डरलग्दो रहेको उनले बताए। उनले भने, यस्तो भ्रष्टाचार नियन्त्रण नहुँदासम्म बजेट कर्मकाण्डी हो।’
पोखराको अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार गर्न बनाएको सिंहको आरोप छ। उनले प्रश्न गरे, ‘पोखराको एअरपोर्टबाट रिर्टन कति आएको छ? हामी ब्याज तिर्ने, नेपाली जनतालाई गरिब बनाउने?’
सिंहले दल चलाउने नेताहरू मालामाल अर्बपति भएको आरोप लगाए। उनले व्यक्ति बलियो हुँदै गएको र राज्यका संस्थाहरू कमजोर भएको बताए। विश्वविद्यालय, सुरक्षा निकाय, अदालत, संवैधानिक निकाय, कर्मचारीतन्त्र सबै कमजोर रहेको उनले बताए।
उनले भने, ‘जनतालाई बलियो बनाऔँ। संस्था बलियो बनाऔँ। व्यक्ति बलियो बन्ने कल्पना नगरौँ। देशलाई व्यक्तिले पार लगाउन सक्दैन। कमजोर कर्मचारीतन्त्रले देशको विकास गर्न सक्दैन।’
सिंहले संसद र सांसदलाई कमजोर बनाएर देश बलियो नहुने बताए। हाल संसद सबैभन्दा कमजोर अवस्थामा रहेको उनको भनाइ छ। ‘मेरो पनि तेस्रो कार्यकाल हो। संसद यति कमजोर र निरीह कहिल्यै पनि भएको थिएन,’ उनले भने, ‘कुनै एक दल होइन। सबै उत्तिकै दोषी छन्। संसद कसैलाई चाहिँदैन, खालि सरकार चाहिन्छ। सरकार सुशासनका लागि होइन, लुटतन्त्रका लागि।’
उनले आजको बैठकमा गणपुरक संख्या छ भन्ने कुरामा पनि शंका प्रकट गरे। उनले संसदमा एक–डेढ वर्षपछि मात्रै बोल्न पाएको बताए।