प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजीबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताए।
पुँजीबजार धराशायी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरूको लगानी जोखिममा परेको भन्दै उनले पुँजीबजारको पुनर्उत्थान गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरूलाई पुनरावलोकन गरेर भए पनि पुँजीबजारको जोखिम हटाउनुपर्ने बताए।
उनले भने,‘लाखौं नेपालीहरू आवद्ध भएको, लाखौं नेपालीहरूले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रूपमा पुनर्उत्थान गर्न जरूरी छ। त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर अर्थ मन्त्रालयले कदम उठाएर भए पनि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरूलाई पुनरावलोकन गरेर भए पनि यो सेयर मार्केटका लगानीकर्ताहरूको जुन जोखिम छ, त्यो जोखिमबाट पुनर्उत्थान गर्नका लागि जोडदार रूपमा हामी माग गर्न चाहन्छौं।’
प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरूले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताए।
उनले लगानीकर्ताको सुरक्षा राज्यले गर्नुपर्ने बताए।
उनले पुँजीबजार सुधारको माग राखी अनसनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकारसँग माग गरे।
उनले बेला-बेलामा नेताहरूले पुँजीबजारलाई नोक्सान हुनेगरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरूलाई आफ्नो अभिव्यक्ति सच्याउन पनि आग्रह गरे।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९, १७:५७:००