संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्न कर्मचारीसम्बद्ध विभिन्न संघसंगठनले माग गरेका छन्।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरे र नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले आज संयुक्त विज्ञप्ति जारी गर्दै संघीय निजामती सेवा ऐन छिटो ल्याउन माग गरेका हुन्।
संघीय निजामती सेवा ऐन चालु अधिवेशनबाट जारी नभएमा आन्दोलन गर्ने चेतावनी पनि उनीहरूको छ।
संयुक्त ट्रेड युनियन सञ्जालको बैठक गरेर उनीहरूले आन्दोलन तयारीका लागि संयुक्त संघर्ष समितिहरू गठन गरिएको पनि बताएका छन्।
कर्मचारीको सेवाको सुरक्षा, पेशागत हित हुने गरी ट्रेड युनियनले विगतदेखि उठाएका माग सम्बोधन गरी संघीय निजामती सेवा ऐन ल्याउन उनीहरूले सरकारसँग माग गरेका छन्।