नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपाललाई संन्यास लिन सुझाव दिएका हुन्।
‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु,’ उनले भने।
शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले 'एमालेका १० भाइहरू दास भएर बसेको' टिप्पणी गरेका थिए।
राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धूलो उडाउनुको तुक नरहेको पनि भट्टराईले बताए।
‘उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस्। उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धूलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई महसुस गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने। संन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन,' उनले भने।